राम्रो नदेख्ने र नलेख्ने गलत भाष्य रोकौं : काउन्सिल अध्यक्ष बस्नेत – Nepal Press

राम्रो नदेख्ने र नलेख्ने गलत भाष्य रोकौं : काउन्सिल अध्यक्ष बस्नेत

काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले राम्रो नदेख्ने र नलेख्ने प्रवृत्तिलाई सामाजिक सञ्जालको भाष्य बनाउन नहुने बताएका छन् ।

सामाजिक सञ्जालमा नेपाली संस्कार र संस्कृति विपरीत गाली संस्कृति हुर्किएको भन्दै उनले तथ्यसहितका सृजनात्मक सामग्री हुनुपर्ने सुझाए ।

‘नभएका कुरा जोड्जाड होइन, भएका तथ्यपरक, सृजनात्मक र आशाको सञ्चार जगाउने सामाग्री सामाजिक सञ्जालमा राख्नु उपर्युक्त हुन्छ,’ उनको भनाइ छ ।

‘गालीगलौज र अश्लील भाषा, हिंसा, द्वेष फैलाउने, मनमुटाव बढाउने, जातजाति, धर्म, रीतिरिवाज र संस्कृतिबीच फाटो ल्याउन खोज्ने, उक्साउन खोज्ने प्रवृत्ति फेसबुक, युट्यूव, एक्स, टिकटकजस्ता सामाजिक सञ्जालमा भेटिँदा दुःख लाग्छ,’ बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन् ।

नभएका कुरा गरेर आपसी फाटो ल्याउने, घृणास्पद शब्दसहितको गाली नेपाली संस्कार र संस्कृतिभित्र नपर्नेतर्फ उनले ध्यानाकर्षण समेत गराए ।

पोखरामा आगोमा बेलुन पड्केर भएको दुर्घटनामा घाइते भएका उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यका विषयमा सामाजिक सञ्जालमा आएका नकरात्मक टिप्पणी असभ्य भएको उनले बताए ।

‘जलन दुर्घटना जस्तो संवेदनशील विषयमा समेत मानवीयताको ख्यालै नगरी आचार र तथ्यहीन टिकाटिप्पणी हुनु असभ्यताको पराकाष्ठा हो,’ बस्नेतले लेखेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर