हलेसी बजारको आगलागी मध्यरातमा नियन्त्रण, तीन घर नष्ट – Nepal Press

हलेसी बजारको आगलागी मध्यरातमा नियन्त्रण, तीन घर नष्ट

खोटाङ । त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घण्टापछि निभाइएको छ । हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानस्थित हलेसी बजारका पदम राईको भान्छा कोठाको ग्यास सिलिन्डरबाट साँझ ६ बजेतिर सुरू भएको आगो स्थानीयवासी र सुरक्षा निकायको संयुक्त प्रयासमा राति करिब ११:०० बजे नियन्त्रणमा आएको हो ।

आगलागीबाट स्थानीय पदम राईको घर तथा घरमा सञ्चालित हार्डवेयर पसल, निर्धन उत्थान लघुवित्तको कार्यालय, आइराज राई र प्रकाशचन्द्र गिरीको घरमा क्षति पुगेको छ । मानवीय क्षति नभए पनि ठूलो मात्रामा धनमाल नष्ट भएको स्थानीयवासीले बताएका छन् ।

सुख्खाग्रस्त क्षेत्रका कारण आगो निभाउन पानी अभाव भएको इलाका प्रहरी कार्यालय हलेसीका इन्स्पेक्टर हेमन्त राईले बताए ।

‘आगलागीबाट दुईवटा घर पूर्ण तथा एउटामा आंशिक क्षति भएको छ । क्षतिको विवरण संकलन भइरहेको छ’ । तीनवटा घर, एउटा लघुवित्तको कार्यालय, हार्डवेयर तथा ग्यास पसलमा क्षति भएको छ । प्रारम्भिक विवरण हेर्दा करिब एक करोड बढीको क्षति भएको अनुमान गरिएको छ’, उनले भने ।

आगो निभाउन सदरमुकामबाट तीनवटै सुरक्षा निकायका टोली हलेसी पुगेको थियो । पदम राईको घरमा बेलुकाको खाना पकाउने क्रममा ग्यास सिलिण्डर लिक भएर सुरू भएको आगो दमकल अभावमा तत्कालै निभाउन नसक्दा ठूलो क्षति भएको स्थानीय सयन्द्र राईले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर