केही जिल्ला सीडीओविहीन, सहसचिवहरू गृहको ‘बरन्डा’ मा


काठमाडौं । विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी रिक्त छन् । तर, गृह मन्त्रालयमा भने सहसचिव ‘बरन्डा’ मा थन्क्याइएका छन् ।
गृह मन्त्रालयका अनुसार मकवानपुरमा सीडीओ र सहायक सीडीओ दुवै छैनन् । तत्कालीन सीडीओ तीर्थ चिलुवालको केहि दिनअघि अर्थ मन्त्रालयमा सरुवा भएको थियो । त्यस्तै सहायक सीडीओ ढोलक ढकाल सहसचिवमा बढुवा भइसकेका छन् ।
यस्तै ओखलढुंगाका सीडीओ नारायण ढकाल गत माघ १६ मा ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा गएपछि त्यहाँ पनि खाली छ । खोटाङका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की पनि गत माघ १८ मा उमेर हदकै कारण अनिवार्य अवकाशमा गएपछि कोही पठाइएको छैन ।
तर, गृह मन्त्रालयमा भने कतिपय सहसचिव जिम्मेवारी नै नपाएर ५ महिनादेखि बरन्डामा घुमिरहेका छन् । सहसचिव शशीधर घिमिरे ५ महिनादेखि जिम्मेवारीविहीन भएर मन्त्रालयमा हाजिर गर्नमात्र पुग्ने गरेका छन् ।
यस्तै सहसचिव सूर्य सेडाई, बन्धु बास्तोला, प्रेम भट्टराई र नारायण रिसाल पनि जिम्मेवारीविहीन छन् ।
गृह मन्त्रालयका प्रवक्ता सहसचिव रामचन्द्र तिवारीले रिक्त जिल्लामा सीडीओ पठाउने तयारी भइरहेको बताए ।
उनले नेपाल प्रेससँग भने, ‘त्यति धेरै जिल्लामा प्रमुख जिल्ला अधिकारी रिक्त भएको होइन । एक दुई जिल्लामा हो । कतिपय जिल्लामा एक दुई दिन मात्रै भयो रिक्त भएको । कोही रमना लिएर जान बाँकी नै छ भने मन्त्रालयमा आएका कोही सहसचिव आउन पनि बाँकी नै छ । जति सक्तो चाडैँ जिम्मेवारी दिएर पठाइन्छ ।’
दुइ तिहाइको सरकारले यसरि योग्य जनशक्त्ति लाइ घाम तपाइ राखोस!