कसरी जन्मियो ‘मयाली’ ? वसन्त थापा भन्छन्- बागलुङमा टिपेको भाका हो – Nepal Press

कसरी जन्मियो ‘मयाली’ ? वसन्त थापा भन्छन्- बागलुङमा टिपेको भाका हो

काठमाडौं । हिजोआज सार्वजनिक भएका धेरैजसो गीत दर्शकले अत्यधिक रुचाइरहेका छन् । जुन संगीतकर्मी र संगीतप्रेमी सबैको लागी खुसीको खबर पनि हो । त्यसमा पनि आधुनिक गीतको तुलनामा मौलिक तथा लोकसंगीतका भाकामा बनाइएका गीत बढी चलेको पाइन्छ । केही दिनअघि मात्र शान्ती श्री परियारको गीत ‘अरेली काँडैले’ १० करोड भ्यूज पार गरेको छ । चलचित्र ‘खुस्मा’ को गीत ‘रुकुमैकोट’ ले पनि १० करोड भ्यूज पार गर्दै केहीसमय सामाजिक सञ्जाल ततायो ।

यतिबेला सर्जक तथा गायक वसन्त थापाले निर्माण गरेको गीत ‘मयाली’ ले यतिबेला दर्शकलाई झुमाइरहेको छ । गीतलाई दर्शकको राम्रो साथ मिलिरहेको छ भने दुई हप्ताअघि मात्र रिलिज भएको यो गीतलाई ३९ लाख पटक हेरिएको र सुनिएको छ । यो गीतको कति टुक्काहरू सामाजिक संजालमा भाइरल छन । धेरैले यो गीतमा टिकटक बनाएर हालेका छन् । चलेका कलाकारहरू समेतले गीतको प्रशंसा गर्दै आफ्नो फेसबुक वालमा भिडिओ शेयर गरेको देखिन्छ ।

गीतको शब्द तथा संगीत वसन्त थापाकै हो । गीतलाई एचबीएन किस्मतले एरेन्ज गरेका छन् । गायनमा थापालाई देवी घर्तीले साथ दिएकी छिन् । भिडिओमा वसन्त थापा स्वयं छन् । भिडिओमा उनको अपोजिटमा लक्ष्मी थापा मगरको अभिनय छ ।

वसन्त थापा उनै सर्जक हुन, जसले दर्शकलाई हिट गीत ‘सालको पात टपरी’ दिएका थिए । यो गीतलाई अहिलेसम्म झण्डै ९९ मिलियन अर्थात ९ करोड ९५ लाख पटक हेरिएको छ । ९ लाख ७९ हजार सब्सक्राइबर भएका थापाले यो मात्र होइन, थुप्रै हिट गीतमार्फत दर्शकलाई झुमाइसकेका छन् । ‘बोकेझार’, ‘जाम सुस्तै’, संगीत रहेको ‘चौतारीको बर’ जस्ता गीतले दर्शकको मन जितेका छन् । उनै वसन्तले यसपालि आइरहेका भन्दा भिन्न गीत ‘मयाली’ ल्याएका हुन् । यो गीतले चर्चा पाइरहँदा कतिपयको ‘यो कस्तो खालको गीत हो’ भन्ने जिज्ञासा छ । फरक बिट सुनिएको यो गीत कहाँ को होला भन्ने धेरैमा कौतुहल छ । सुनेको र राम्रो लागेको भरमा गीतको टुक्कामा भिडिओ बनाए पनि यो गीतले कुन क्षेत्रलाई समावेश गर्छ भन्नेमा धेरै अनविज्ञ छन् ।

थापाका अनुसार मयाली विशेषगरी मगर समुदायमा प्रचलित ‘मयाली भाका पच्चेबाजा’ को एकोहोरो बिट हो, जुन खण्डखण्डमा गाइन्छ । जसलाई थापाले खण्डखण्ड नगरी एउटा सिंगो गीत बनाएर दर्शकमाझ पेश गरे। यस्तै अन्य थुप्रै जिज्ञासाहरूलाई मध्यनजर गदै ‘मयाली’ गीतबारे सर्जक तथा गायक बसन्त थापासँग गरिएको संक्षिप्त कुराकानी-

– मयालीको अर्थ के हो ?

‘मयाली’ भनेको मायालु, प्रेमिका वा आफूलाई माया गर्ने मान्छेलाई मायालु तरिकाले भन्ने शब्द हो। यो पश्चिमतिरको शब्द हो। अझ विस्तृत रूपमा भन्नुपर्दा, यो ढोरपाटन क्षेत्र वा भनौँ गण्डक क्षेत्र, त्यसमा पनि खासगरी बागलुङको पश्चिम भेग र म्याग्दीको केही क्षेत्रमा गाइने मौलिक भाका हो । यो एउटा पञ्चेबाजाको बिट हो । म आफैँ पनि बागलुङको हुँ । यो मायालु नै भनेको हो, उतातिर यसलाई मयाली भनेर उच्चारण गरिन्छ ।

– यो गीत कसरी जन्मियो ?

मैले पहिला एकचोटि त्यो भेगमा जाँदा, यो बाजाको बिट सुनेको थिएँ । यो धेरै वर्ष अगाडिको कुरा हो। त्यो बिट मलाई एकदमै धेरै मन परेको थियो । बिटले मेरो मन छोएको थियो । त्यहीँ बिट ‘मयाली’ भएर जन्म लिएको हो । यो गीतले मयालीको सम्पूर्ण परिचय भने बोल्दैन । केही संरचनाहरू मात्रै बोल्छ । यसको संरचना अर्कै छ । मयालीको मौलिक संरचना बुज्न र खण्डीकृत मयाली सुन्न बागलुङको पश्चिम क्षेत्रमै जानुपर्ने हुन्छ । यसबारे अध्ययन गर्नुपर्छ । मयाली अझै विशेष अनि मौलिक छ । मैले त्यसलाई सबै दर्शकले बुज्ने गरी अलिकति फ्युजन परिस्कृत गरेर ल्याएको हुँ । खासमा मयाली टुक्का-टुक्का बनाएर गाइन्छ । यसमा बाजाको एकोहोरो ताल हुन्छ । मैले चाहिँ मयाली भन्ने थेगो र बिट लिएर एउटा सिंगो गीत बनाएको हो । जे होस्, सबैले रुचाइदिनु भएको छ । खुसी छु ।

– अरु गायक नलिएर किन आफैँले गाउनुभयो ?

(हाँस्दै) मयाली गाउन त्यति सजिलो छैन । यसको लवज, संरचना र बिट लिन अलि गाह्रै भएकाले त्यहीँ परिवेशलाई बुजेको गायक-गायिकाले गाउँदा अलि उचित होला भनेर मैले नै गाएको हो । हुन त म, आफूलाई खासै गायक मान्दिनँ । तर, पनि आफूले गाउँदा ठिकठिकै लागेर गाएको हो ।

– कस्ता प्रतिक्रियाहरू पाइरहनु भएको छ गीतबाट ?

सबै खुसी हुनुहुन्छ । तारिफ गरिरहनुभएको छ । राम्रा प्रतिक्रियाहरू पाइरहेको छु । हामीले भिडिओमा त्यहीँका स्थानीय वासिन्दाहरूलाई राखेका छौं । कोरस डान्सरहरू सबै त्यहीँको हुनुहुन्छ । गीतको भिडिओमार्फत हेर्ने दर्शकलाई मयाली बिट र ढोरपाटन क्षेत्र कैद गर्न सजिलो भइरहेको छ । नयाँ र पुराना पुस्ता दुई किनारा भएका थिए भने मैले यो गीतमार्फत पुलको काम गरेजस्तो लाग्छ । नयाँ पुस्तालाई पनि यो बिट बारे थाहा पाउने अवसर मिलेको छ ।

– भिडिओ सुट कहाँ भएको हो ? कत्तिको गाह्रो भयो सुटिङ गर्न ?

यो ढोरपाटन क्षेत्रमा सुट भएको हो । त्यहीँ भेगमा सुट भएको हो, जहाँ मयाली चल्छ, जुन भेगमा ओर्जिनल मयाली पाइन्छ । यो गीतको भिडिओ सुट गर्न भने एकदमै जटिल भयो । एक त सुख्खा ठाउँ, त्यहीँ माथि धुलोसहितको हावा-हुरी चल्ने मौसम । एकदमै ठूलो हुरी चल्छ त्यहाँ त्यसैले गाह्रो भयो । दिनको ११ बजेदेखि १,२ बजेसम्म त हावाहुरी कति खेर रोकिन्छ भनेर पर्खिनु पर्थ्यो । बेलुका पनि उस्तै । तर, जस्तो भएपनि, ५ दिन लगाएर हामीले गीतको सुट सक्यौं ।

–५ दिन एउटा गीतको लागि भनेको लामो समय हो । गीतमा कति खर्च भयो ?

भिडिओको सबै काम सक्दा सम्म हाम्रो ७ लाखमाथि खर्च भयो । यातायातमा सबैभन्दा धेरै खर्च भयो । सबै टीमलाई त्यत्रो दिन खाना खुवाउनु पर्‍यो । सुतेको खर्च छुट्टै भयो । ४/५ दिन आफैले सबै बेहोर्नु पर्दा खर्च राम्रै हुन्छ । कोरसहरू चाहिँ त्यहीँ वोवाङकै हुनुहुन्थ्यो । उहाँहरूको पनि आफैं जिम्मेवारी लिएको हो ।

– गीत बनाइरहँदा यसरी भाइरल होला भन्ने लागेको थियो ?

मैले खासमा भाइरल हुन्छ भनेर यो गीत बनाएको हैन । चल्छुभन्दा पनि ढोरपाटनलाई देखाउँछु भन्ने थियो । मयाली बिटलाई दुनियाँमाझ चिनाउँछु भन्ने थियो । असाध्यै मिठो बिट भएकाले पर–परसम्म यो बिट पुग्नुपर्छ भन्ने मेरो धारणा थियो । सबैले मन पराउनुहुन्छ कि भन्ने चाहिँ मनमा थियो । नयाँ पुस्ताहरूले पनि राम्रो पाराले यो गीतलाई स्विकार्नुभएको छ । अहिले म एकदमै खुसी छु, मेरो जुन लक्ष्य थियो, त्यो पूरा भयो ।

– तपाईँलाई के कारणले गीत यति धेरै चले जस्तो लाग्छ ?

धेरै चिजहरू छन् । एक त मानव शरीर र आत्मालाई चाहिने भाइब्स छ । नृत्यको लागि पनि हामीले यसलाई मिठो तरिकाले प्रस्तुत गर्न सक्छौं । गीत नजानेरै आँखा चिम्म गरेर सुन्यौं भने पनि यसको रागले अध्यात्म र योग ध्यान तिर लान सक्छ । आत्म शान्ति महसुस गराउँछ यसले । त्यही भएर दर्शकले रुचाउनु भएको हो जस्तो लाग्छ ।

– पछिल्लो समय तपाईंका गीतहरू अलि कम आएका थिए । किन होला ?

कमभन्दा पनि मेरो ग्याप नै भएको हो । निरन्तरता त दिइरहेको थिएँ तर आफ्नै व्यक्तिगत कामहरूले गर्दा बीचमा केही ग्याप भयो । साथै, अब केही सिर्जना पस्किँदा राम्रै अध्ययन गरेर खोजमूलक कुरा नै प्रस्तुत गरौं भन्ने पनि थियो । त्यही भएर पनि केही ढिला भयो ।

– अरेली काँडैले गीतले तपाईँको सालको पातको भ्यूजलाई टपेर १० करोड कटाएको छ । कस्तो लागेको छ ?

राम्रो लागेको छ मलाई त । सधैँ एउटा मान्छेको सिर्जना त्यहीँ स्थानमा बसिरहन सक्दैन । सगरमाथामा पनि त सधैँ मान्छे बसिरहन सक्दैन । पुगेर फर्किने हो । गीतहरू पनि त्यस्तै हुन् । यात्रा हो, सिर्जना हुन् । समयअनुसारको सिर्जनाहरू जन्मिन्छन् । त्यो सिर्जनाले आफ्नै प्रकारको आकार लिन्छ । यो प्राकृतिक कुरा हो । यसमा दु:खी हुने कुरै हुँदैन ।

मयाली गाउन त्यति सजिलो छैन । यसको लवज, संरचना र बिट लिन अलि गाह्रै भएकाले त्यहीँ परिवेशलाई बुजेको गायक-गायिकाले गाउँदा अलि उचित होला भनेर मैले नै गाएको हो । हुन त म, आफूलाई खासै गायक मान्दिनँ । तर, पनि आफूले गाउँदा ठिकठिकै लागेर गाएको हो ।

–अहिले तपाईलाई लोकसंगीतमा विकृति बढिरहेको जस्तो लाग्छ ?

विकृति त छ नि ! यो पनि प्राकृतिक नै हो । चामलमा बियाँ भएजस्तै हो यो पनि । समाजमा राम्रोमात्र भयो भने नराम्रो केलाई भन्ने ? अनि नराम्रो मात्र भयो भने राम्रो केलाई भन्नरु सामान्य नै हो यो पनि । यस्तो हुनुपर्छ ।

– ठेट लोकगीतहरू अभाव भएका हुन् ?

प्रस्तुतीकरण सबैको आ-आफ्नै हुन्छन् । कसैले मौलिक ढंगले त कसैले अरु नै ढंगले प्रस्तुत गर्छन् । आ-आफ्नो रुचि अनुसार प्रस्तुत हुने न हो । आफूले बुझेको समाज प्रस्तुत गर्ने हो । समाजप्रति कस्तो दृष्टिकोण छ, समाजको लबजहरू के हुन्, समाजको भेषभूषा के हो भन्ने कुरा पनि हो । मलाई के चाहिँ लाग्छ भने कहिलेकाहीँ प्रस्तुतिहरू प्रस्तुत गर्दा मान्छे नै नचिन्ने गरी मेकअप गर्न भने हुँदैन्। अहिले त देश-विदेशका मान्छेहरूले पनि हाम्रो संस्कृतिबारे अध्ययन गर्न थालेका छन् । त्यसैले पोलिस गर्दा ठिक्क तरिकाले र संरचनाको महत्तव नघट्ने गरी मेकअप गर्नुपर्छ जस्तो मलाई लाग्छ । त्यसैको प्रयास पनि हो मेरो यो ‘मयाली’।

– अब तपाईँको अक्रो प्रोजेक्ट हेर्न फेरि दर्शकले कति कुर्नुपर्छ ?

समय लाग्न सक्छ यसपालि पनि । केही खोजमूलक नै गरौं भन्नेछ । अहिले नै ठ्याक्कै यति भन्न सक्ने अवस्था छैन अहिले ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर