योगमाया आयुर्वेद विश्वविद्यालय : अवसर र चुनौती

अन्तत: बहुप्रतिक्षीत ‘विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालय’ को केन्द्रीय कार्यालय राखिने ठाउँको टुंगिएको छ । वसन्त पञ्चमीको अवसर पारेर माघ २१ मासंखुवासभाको खाँदबारी नगरपालिकालाई केन्द्र बनाई उद्घाटन गरियो ।
कार्यालय भवन उद्घाटनपछि यो ठाउँ कि त्यो ठाउँ भन्ने धनकुटा, भोजपुर र संखुवासभाका स्थानीय वासिन्दाको कौतूहलको अन्त्य भएको छ । विश्वविद्यालय परिषदका अध्यक्ष डा. अर्जुन कार्कीले विश्वविद्यालयको साइन बोर्ड अनावरण गरेर कार्यालय स्थापना गरे ।
सो अवसरमा धनकुटा, भोजपुर अनि संखुवासभा जिल्लाका १९ वटा पालिकाका प्रमुख र उपप्रमुख, तीनवटै जिल्लाका समन्वय समितिका प्रमुख र उपप्रमुख संखुवासभा जिल्लामा क्रियाशील राजनीतिक दलका नेताहरू, जिल्लास्थित कार्यालय प्रमुख र कर्मचारी, नागरिक समाज लगायतका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति थियो ।
विश्वविद्यालय स्थापनाका लागि भएका प्रयास
यो विश्वविद्यालय स्थापना र सञ्चालन गर्न नेपाल सरकारले सम्पूर्ण जिम्मेवारी लिएको छ । ऐन, कानून तर्जुमा, आर्थिक स्रोतको व्यवस्थापन, संरचना तयारी तथा पदाधिकारी र जिम्मेवारी तोक्ने सम्मका सबै काम सरकारी तहबाट भएका छन् ।
‘विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालय’ संस्थापना गर्न आवश्यक कानूनी पूर्वाधार निर्माण गर्न तत्कालीन शिक्षामन्त्री गिरीराजमणि पोख्रेले २०७६ सालमा संसदमा पहिलो पटक ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६’ विधेयक प्रस्तुत गरेका थिए । उनले विधेयक प्रस्तुत गर्नाको उद्देश्य र कारण खुलाउँदै लेखेका छन् ‘प्राचीन दर्शनमा आधारित आयुर्वेद विज्ञानसम्बन्धी अध्ययन, अध्यापन र अनुसन्धानलाई प्रविधिमा आधारित, व्यापक, व्यावहारिक तथा व्यावसायिक बनाउने उद्देश्यका साथ नेपाल सरकारको आ.व. २०७३/०७४ देखि नै बजेट तथा कार्यक्रममा समावेश भएको कारण विषयगत विशिष्टता कायम गरी दक्ष जनशक्ति उत्पादन गर्न वाञ्छनीय भएकाले संघीय संसद समक्ष योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६ प्रस्तुत गरको छु ।’
संखुवासभा जिल्ला लगायत समग्र अरुण उपत्यकाकै अपनत्व स्थापित हुने गरी ‘विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालय’ स्थापना हुन गएको छ । यस विश्वविद्यालयले अरुण उपत्यकावासीका लागि केही न केही अवसर सिर्जना गर्नेछ ।
तत्कालीन मन्त्री गिरिराजमणि पोख्रेलले २०७६ सालमा प्रस्तुत गरेको यो विधेयक संसदबाट २०७८ सालमा मात्र पारित भएको थियो ।
यो विधेयक पारित भएपछि विश्वविद्यालय स्थापनाको कार्यले केही गति लियो । विश्वविद्यालय सभा गठन भयो, भौतिक पूर्वाधार निर्माण समिति बन्यो, जग्गा प्राप्तिका कार्यहरू भए । तथापी केही कानूनी बाधा रहेको महसुस गरेर २०८१ सालको मंसिर/पुसमा मात्र अध्यादेशमार्फत कानूनी अड्चन हटाउने काम भयो र विश्वविद्यालयको नाम पनि ‘विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालय’ भएर आयो ।
ऐन तथा अध्यादेश कार्यान्वयनमा केही समय लागेता पनि अन्तत: देशमा खुलेका, स्थापना भएका, सञ्चालनमा रहेका विश्वविद्यालयहरूको भीडमा २०८१ सालको माघ २१ गतेका दिन नयाँ विश्वविद्यालय ‘विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालय’ थपिएको छ ।
विश्वविद्यालयको केन्द्रीय कार्यालय स्थापनाका लागि जिल्ला समन्वय समिति संखुवासभाका प्रमुख सुमन शाक्यको महत्वपूर्ण भूमिका देखा परेको छ । सतहमा विश्वविद्यालय परिषदका अध्यक्ष डा. अर्जुन कार्कीको नेतृत्वमा रहेका सम्पूर्ण विश्वविद्यालय परिषदका सदस्यहरू देखिएका छन् । राजनीतिक दलहरूका नेता/कार्यकर्ताहरू, देशको राजधानीमा रहेका संखुवासभा, भोजपुर र धनकुटाका कर्मचारीतन्त्रका उच्च पदस्थ व्यक्तिहरू, विभिन्न पेशामा रहेका पेशाकर्मी नागरिकहरू, प्राज्ञिक व्यक्तित्वहरू, आम नागरिकलगायत सबैको उत्साहपूर्ण प्रयासका कारण संखुवासभामा विश्वविद्यालय खुल्ने वातावरण बनेको हो ।
स्थानीय धारणा :
विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालय खासगरी खाँदबारीमा सञ्चालित ‘हिमालय किरण पव्लिक क्याम्पस’ का प्राचार्य डा.मातृका तिम्सिनाको ‘ब्रेन चाइल्ड’ हो । ‘हिमालय किरण पव्लिक क्याम्पस’ को स्थापना र सञ्चालनमा प्राप्त सफलताबाट उत्साहित डा. तिम्सिना विक्रम सम्वत्को २०६० को दशकको अन्ततिर ‘अब विश्वविद्यालय स्थापना गर्नुपर्छ’ भन्दै जनमत सिर्जना गर्दै हिँडेको मलाई सम्झना छ ।
नेताहरूको ध्यान विश्वविद्यालय स्थापना र सञ्चालनतिर तान्न, प्राथमिकता हासिल गर्न तथा विरोध नआओस् भनेर प्रसिद्ध विभूति ‘योगमाया’ को नाममा विश्वविद्यालय स्थापना गर्ने धारणा अगाडि आयो । जसमा कसैको कतैबाट पनि विरोध रहेन बरु उत्साह नै थप्यो । फलस्वरूप आजको दिनमा विश्वविद्यालयको केन्द्रीय कार्यालय स्थापना भयो । सरकारले एकजना कर्मचारी समेत तोकिदियो ।
निजी क्षेत्रमा खुलेका एकाध आयुर्वेदिक संस्थाहरूले लाज बचाएका छन् । तर, ती पनि गुणस्तरमा सदैव शंका रही आएको छ । जसले गर्दा नेपाली जनमानसमा आयुर्वेद चिकित्सा पद्दतिप्रति नै अविश्वास बढ्दै आएको छ ।
तर, विश्वविद्यालयको भविष्य र दिगोपनाका बारेमा जनतामा संशय अझै बाँकी छ । कोही विद्यार्थी नहोलान् कि ! भन्ने कुरामा चिन्तित छन् । कोही सञ्चालनको नेतृत्वकर्ताको क्षमता, इमान्दारिताप्रति सशंकित छन् । कोही योग्य जनशक्तिको अभावमा अलपत्र पो पर्ला कि ! भन्ने चर्चा गर्छन् । कोही दलका नेता तथा कार्यकर्ताको भर्ती केन्द्र पो बन्ने हो कि ! भनेर चिन्ता गरिरहेछन् । कोही भने अझ अगाडि बढेर देशी विदेशी स्वार्थ केन्द्रको निशाना बन्ने आँकलन गरिरहेका छन् । विश्वविद्यालय स्थापनाबाट के कति लाभ लिन सकिन्छ भनेर औंला भाँच्नेहरू पनि पाइन्छन् ।
अवसर :
वि.सं.२०१६ सालमा त्रिभुवन विश्वविद्यालय स्थापना र सञ्चालन गर्न कीर्तिपुरको डाँडा छनोट गर्दा कीर्तिपुरेहरूको जे मनस्थिति थियो, आज त्यही मनस्थिति छ संखुवासभाका जनतामा । विश्वविद्यालय स्थापना हुँदा सिर्जना हुनसक्ने अवसरका बारेमा अन्योल नै छ । किनकि यो विश्वविद्यालय विषय-केन्द्रित विश्वविद्यालय हो, आयुर्वेद ।
संखुवासभा, भोजपुर र धनकुटा क्षेत्रमा ‘आयुर्वेद विज्ञ’ हुन सक्छन् भन्नेमा स्थानीय बासिन्दाहरू विश्वस्त हुन सकिरहेका छैनन् । विषय केन्द्रित हुँदा योग्य जनशक्तिका सम्बन्धमा आशंकित हुनु स्वाभाविक नै हो । तर, पनि आशावादी हुने क्षेत्र भएकोमा भने एक प्रकारले ढुक्क पनि देखिएका छन्, त्यो हो यो क्षेत्रमा पाइने ‘हिमाली जडीबुटी, वनस्पति’ को व्यापारिक उपयोग अनि सीमित रोजगारी आदि ।
संसारका अधिकांश मुलुकले आयुर्वेद उपचार पद्दतिको महत्व बुझेर आयुर्वेद विश्वविद्यालय सञ्चालन गर्दै आएका छन् । एलोप्याथिक उपचार पद्दतिका विकासकर्ता विकसित मुलुकहरू संयुक्त राज्य अमेरिका, फ्रान्स वा जर्मनी प्राय: विकसित मुलुकले आयुर्वेद उपचार तथा औषधि विज्ञानलाई खुबै महत्व दिँदै कलेज र विश्वविद्यालय सञ्चालन गर्दै आएको पाइन्छ । छिमेकी मित्रराष्ट्र चीनलगायत अन्य छिमेकी मुलुकमा पनि आयुर्वेद चिकित्सा पद्दतिलाई प्राथमिकता दिएको त्यहाँ सञ्चालनमा रहेका कलेज र विश्वविद्यालय नै ज्वलन्त उदाहरण छन् । अझ दक्षिणतर्फको ठूलो छिमेकी राष्ट्र भारतका विभिन्न प्रान्तमा सञ्चालनमा रहेका करिब पाँच सयको संख्यामा रहेका कलेज तथा विश्वविद्यालयहरूले भारत सरकारले आयुर्वेद चिकित्सा पद्दति र ज्ञानका क्षेत्रमा दिँदै आएको महत्वलाई प्रमाणित गरेका छन् ।
चुनौती
आयुर्वेद विश्वविद्यालयको सम्भावना र अवसर प्रशस्त छन् भनेर चुनौती नहोलान् भनेर अनदेखा गर्न भने सकिँदैन । नेपालका विविध क्षेत्रमा विभिन्न स्वार्थ समूहको आँखा लाग्ने गरेको सबैलाई विदित नै छ । अकर्मण्यता, भ्रष्टाचार, कामचोर प्रवृत्ति, अक्षमता लगायतका हाम्रा महारोगहरू “विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालय” का प्रमुख चुनौती बन्न सक्छन् ।
विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालय खासगरी खाँदबारीमा सञ्चालित ‘हिमालय किरण पव्लिक क्याम्पस’ का प्राचार्य डा.मातृका तिम्सिनाको ‘ब्रेन चाइल्ड’ हो । ‘हिमालय किरण पव्लिक क्याम्पस’ को स्थापना र सञ्चालनमा प्राप्त सफलताबाट उत्साहित डा. तिम्सिना विक्रम सम्वत्को २०६० को दशकको अन्ततिर ‘अब विश्वविद्यालय स्थापना गर्नुपर्छ’ भन्दै जनमत सिर्जना गर्दै हिँडेको मलाई सम्झना छ ।
प्राकृतिक अवस्थाका हाम्रा हिमाली जडिबुटीहरूमा देशी विदेशीहरूले सदियौंदेखि आँखा गाड्दै आएका छन् । सरकारद्वारा सञ्चालित “वैद्यखाना”, आयुर्वेद अस्पताल आदि त्यहाँ कार्यरत कर्मचारीहरूको अकर्मण्यता र अयोग्यताको शिकार भएका छन् । निजी क्षेत्रमा खुलेका एकाध आयुर्वेदिक संस्थाहरूले लाज बचाएका छन् । तर, ती पनि गुणस्तरमा सदैव शंका रही आएको छ । जसले गर्दा नेपाली जनमानसमा आयुर्वेद चिकित्सा पद्दतिप्रति नै अविश्वास बढ्दै आएको छ । नेपालको अंग्रेजी पुस्ता त झन् आयुर्वेद चिकित्सा पद्दतिलाई रुढी परम्पराको निरन्तरताको संज्ञा दिन अग्रसर रही आएको छ । यस्ता विविध खाले प्रवृत्तिले गर्दा आयुर्वेद विश्वविद्यालयका सामु चुनौती छन् भनिएको हो ।
निष्कर्षमा, संखुवासभा जिल्ला लगायत समग्र अरुण उपत्यकाकै अपनत्व स्थापित हुने गरी ‘विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालय’ स्थापना हुन गएको छ । यस विश्वविद्यालयले अरुण उपत्यकावासीका लागि केही न केही अवसर सिर्जना गर्नेछ । त्यसभन्दा बढी यस क्षेत्रको प्रतिष्ठालाई थप उचाई प्रदान गरेको छ । तसर्थ विश्वविद्यालयका लागि अवरोध सिर्जना हुने व्यवहार प्रदर्शन गर्नुभन्दा विश्वविद्यालयलाई विश्वस्तरमा पुर्याउन सके अवसर र प्रतिष्ठामा नै बढोत्तरी हुने कार्य गरेर योगदान पुर्याउनु सबैको कर्तव्य हुन जान्छ ।