प्रधानमन्त्रीले जवाफ नदिएपछि प्रभु साह प्रतिक्रिया: प्रधानमन्त्रीले प्रश्नोत्तर कार्यक्रमको धज्जी उडाउनुभयो (भिडिओ) – Nepal Press

प्रधानमन्त्रीले जवाफ नदिएपछि प्रभु साह प्रतिक्रिया: प्रधानमन्त्रीले प्रश्नोत्तर कार्यक्रमको धज्जी उडाउनुभयो (भिडिओ)

नियमापत्ति गर्दा पनि सभामुखले आफुलाई बोल्नबाट बन्देज लगाएको साहको आरोप

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले आफ्ना प्रश्नबाट भागेर प्रधानमन्त्री केपी शर्मा ओलीले कानुनी शासनको उपहास गरेको आरोप लगाएका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकमा सांसद साहले ओलीलाई विभिन्न ८ वटा प्रश्न गरेकोमा प्रधानमन्त्री ओलीले जवाफ नदिएर आक्रोश पोखेपछि सांसद साहले संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो प्रतिक्रिया दिएका हुन् ।

सांसद साहले लोकतन्त्रमा जनताका प्रश्नको जवाफ दिन सक्नुपर्ने बताए । उनले भने, ‘४ दिनअघि नै प्रश्न दर्ता गरेको थिएँ । आज यी प्रश्नको जवाफ दिनुको सट्टा प्रधानमन्त्रीज्यू भाग्नुभयो । जनताका सरोकारसँग जोडिएका प्रश्नको जवाफ दिनुपर्थ्यो । उहाँले संसद्को अपमान गर्नुभयो । नियमावलीको अपमान गर्नुभयो । प्रश्नोत्तर भन्ने कार्यक्रमको धज्जी उडाइदिनुभयो । यसले मेरो विचारमा कानुनी शासनको उपहास पनि भयो । लोकतन्त्र हो भने जनताको जवाफ दिन सक्नुपर्छ । उहाँले प्रश्नकै प्रतिप्रश्न गर्नुभयो ।’

सांसद साहले आफूले नियमापत्ति गर्दा पनि सभामुख देवराज घिमिरेले आफूलाई बोल्नबाट बन्देज लगाएको आरोप लगाए । उनले भने, ‘सांसदले प्रश्न गर्दा मजाक गर्ने र प्रश्नबाट भाग्ने काम भयो । यो लोकतन्त्र र विधिको शासनकै उपहास हो जस्तो मलाई लाग्छ । प्रधानमन्त्रीले आफ्नो गरिमा बिर्सनुभयो । त्यो प्रश्न मेरा प्रश्न थिएन, नेपाली जनतासँग जोडिएका प्रश्न थिए ।’

सांसद साहले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमको औचित्य पनि आजकै दिनबाट सकिएको बताए । सांसद साहका प्रश्नलाई प्रधानमन्त्री ओलीले विरोध, घृणा, आक्रोश आदीले अपमानजनक पनि रहेको बताउदैँ जवाफ दिएका थिएनन् । प्रधानमन्त्रीले उल्टै सांसद साहलाई प्रतिप्रश्न गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर