दुई अर्बको एफपीओ ल्याउन चार कम्पनी पाइपलाइनमा


काठमाडौं । चार कम्पनीहरूले थप प्राथमिक शेयर (एफपीओ) ल्याउने भएका छन् । २ अर्ब ३४ करोड ३२ लाख रुपैयाँ बराबरको एफपीओ ल्याउन चार कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट स्वीकृतिको पर्खाइमा रहेका छन् ।
सेबोनका अनुसार बुटवल पावर कम्पनी र तीन लघुवित्त कम्पनीहरू पाइपलाइनमा रहेका छन् । बुटवल पावर कम्पनीले २ अर्ब ६ करोड २९ लाख बराबरको एक करोड एफपीओ निष्काशन गर्ने भएको छ । यस कम्पनीले एफपीओको शेयरमूल्य प्रतिकित्ता २०६ रुपैयाँ २९ पैसा कायम गरिएको छ ।
नेशनल लघुवित्त वित्तीय संस्थाले ६ करोड ६९ लाख ९० हजार २७ रुपैयाँ बराबरको ६ लाख ६९ हजार ९ सय कित्ता एफपीओ ल्याउने भएको छ । यस्तै, विजय लघुवित्त वित्तीय संस्थाले ४ करोड ६६ लाख ८१ हजार ७ सय रुपैयाँ बराबरको ४ लाख ६६ हजार ८१७ कित्ता एफपीओ ल्याउने भएको छ ।
एफपीओ ल्याउने पाइपलाइनमा किसान लघुवित्त वित्तीय संस्था पनि रहेको छ । यस संस्थाले १६ करोड ६६ लाख ९६ हजार ५१८ रुपैयाँ बराबरको १६ लाख ६६ हजार ९६५ कित्ता एफपीओ ल्याउने भएको छ । यस संस्थाको एफपीओ मूल्य प्रतिकित्ता एक सय रुपैयाँ तोकिएको छ ।