प्रधानमन्त्रीले प्रभु साहलाई जवाफ दिएनन्, ‘म म्यानपावर कम्पनीको मान्छे हो ?’ भन्दै आक्रोशित (भिडिओ)


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा एक सांसदले सोधेको प्रश्नलाई लिएर आपत्ति जनाएका छन् । उनले प्रश्नको जवाफ नदिइकन पन्छाए ।
सांसद प्रभू साहले नेपालीहरुलाई विदेशिनबाट रोक्न नसकेकोदेखि अध्यादेश पारित गर्न बहुमत जुटाउन नसकेको भन्दै सरकारको आलोचना गरेका थिए ।
जवाफ दिने क्रममा प्रधानमन्त्रीले सुरूमै असन्तुष्टि जनाए ।
उनले भने, ‘सम्माननीय सभामुख महोदय । उहाँका प्रश्नहरु उहाँको मनमा रहेका विरोध घृणा आक्रोश आदिले अपमानजनक समेत रहेका छन् । संसदजस्तो गरिमामय स्थानमा यस्तो भाषा, तपाईंलाई मान्छे विदेश पठाएर के लाभ भयो ? भन्नेजस्तो भाषा… म म्यानपावर कम्पनीको मान्छे हो ? अहिले म सरकारमा आएपछि ८ महिनामा सुरु भएको हो यो ? तपाईंले भनेको ७० लाख ८ महिनामा गएका हुन् ?
प्रधानमन्त्रीले बोल्दै गर्दा साहले प्रतिवादका लागि माइक समातेर उभिए । तर, दोहोरो बहस नहुने भन्दै सभामुख देवराज घिमिरेले उनलाई आसन ग्रहण गर्न लगाए । त्यसपछि प्रधानमन्त्रीले आफ्नो जवाफ छोट्याए । उनले प्रश्नको उत्तरमा प्रवेशै गरेनन् ।
ओली, भने ‘माननीयज्यूले गर्नुभएका प्रश्नमा खासै जवाफ दिनुपर्ने छैन । सबैको जवाफ आफैंले बोकेर आउनुभएको छ प्रश्नमा । मैले उत्तर दिइरहनु परेन । यहाँलाई धन्यवाद छ ।’
यो आजको अन्तिम प्रश्नोत्तर थियो । सभामुखले प्रश्नोत्तर समाप्त भएको भन्दै प्रधानमन्त्रीलाई आसनग्रहणका लागि अनुरोध गरे ।
यस्तो थियो प्रभू साहको प्रश्न
म प्रधानमन्त्रीजीलाई प्रश्न गर्न चाहन्छु नेपाली नागरिकता परित्याग गरी विदशी नागरिकता लिनेको संख्या कति छ ? पैतृक सम्पत्ति कुन अवस्थामा छ ? त्यो अवैध सम्पत्ति राज्यको स्वामित्वमा ल्याउन के के गर्नुभयो ? खुलेआम हुण्डीबाट अवैध सम्पत्ति विदेश लैजाँदा रोक्न नसक्ने सरकारलाई सक्षम भन्ने कि असक्षम । अवैध सम्पत्तिलाई स्वदेश फिर्ता ल्याउने तपाईंको योजना के छ ? झण्डै ७० लाख युवाहरु वैदेशिक रोजगारीमा छन् । उनीहरुको श्रम सम्झौता अनुसार ४० खर्बभन्दा बढी रेमिट्न्यास नेपाल आउनुपर्ने हो ।
अहिलेसम्मको रिपोर्ट बुझ्दा यो वर्ष जम्मा १३ देखि १४ खर्ब मात्र आउने सम्भावना छ । मेरो प्रश्न छ प्रधानमन्त्रीज्यूलाई, हाम्रा नेपाली युवाले खुन पसिना बगाएर पाएको पैसा हुण्डीमार्फत कालोधनसँग मिला मिलन भइरहँदा तपाईं किन मौन रहनुभयो ? नेपाली युवाहरु भ्रष्टाचारीको कालो धन साट्न विदेशमा मरिरहेका छन् ? होइन भने संख्याको अनुपातमा रेमिट्यान्स किन नेपाल आएन ? वैदेशिक रोजगारी जाने नेपालीले आफ्नो ट्रेड युनियनको हक पाएको छैन । ट्रेड युनियनको हक नपाउने गरी किन श्रम सम्झौता गर्नुभयो ?
२१ शताब्दीमा नेपालीहरुलाई दासताको नरकमा धकेल्दा तपाईंहरुले के कति लाभ पाउनु भयो ? जानकारी पाउँ । नेपालमा जीडीपी र राजश्वको अनुपात हेर्दा जीडीपीएको एक तिहाइ राजश्व उठाउने गरेको देखिन्छ । जीडीपीको ३० प्रतिशत राजश्व उठाउने लक्ष्य राखेको देखिन्छ । यसलाई कर आतंक नभने के भन्ने ? यो यस्तै कर प्रणालीले अर्थतन्त्र सुधार हुन्छ ? होइन भने, यो कर आतंक रोक्ने योजना के छ ? तपाईंले सार्वजनिकरुपमा भारत भ्रमणमा जाँदैछु भन्नुभयो । जाँदैछु भनेको कहिले हो ? निम्तिो नआइकन किन जान्छु भन्नुभयो । यसले देशको प्रतिष्ठामा आँच आएको अनुभुति हुँदैन ?
यो दुई तिहाइको बलियो सरकार हो भन्नुहुन्थ्यो, तर आफैंले ल्याएको अध्यादेश पारित गर्ने सामान्य बहुमत नहुँदा अहिले विचल्लीमा परेको अनुभुव हुँदैन ? सत्ता साझेदारले नै अध्यादेश अस्वीकार गरेपछि कुन नैतिकताले सरकारमा बस्नु हुन्छ जान्न चाहन्छु ? संघीय राजधानी जोड्ने सबै राजमार्ग अस्तव्यस्त छन्, तर प्रधानमन्त्रीले चारैतिर विकासको चौकाचौंध देख्नुहुन्छ । त्यसो हो भने ती राजमार्गमा आफैं किन यात्रा गर्नुहुन्न । ती राजमार्गमा भएको दुर्घटनाको जिम्मा कसले लिने ? आवासविहीनलाई आवास बनाउन भनेर ७५ हजार दिने भन्नुभएको छ । आजको आजको युगमा ७५ हजारमा घर बन्छ ? आवासविहीन, गरिब, दलितहरुमाथि मजाक गर्नुभएको हो ?