आइटीमार्फत आफ्ना लागि आफैं रोजगारी सिर्जना गर्न सकिन्छ : प्रधानमन्त्री (भिडिओ)


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइटीमार्फत आफ्ना लागि आफैं रोजगारी सिर्जना गर्न सकिने बताएका छन् । आइतबारे बसेको प्रतिनिधि सभाको बैठकमा सांसद प्रेम सुवालको प्रश्नमा जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
बैठकमा प्रधानमन्त्री ओलीले भने, ‘आइटी क्षेत्रमा जुन देशमा काम गर्ने हो त्यहाँ कम्पनी खोल्नु पर्छ । त्यसकारण आइटीको उत्पादन र व्यापार गर्न सक्ने स्तरमा नेपाली युवाहरू पनि गइसकेको हुनाले युवाले सस्तोमा केही रकम राखेर उनीहरूले कम्पनी खोल्न सक्छन् । त्यो कम्पनी मार्फत यही बसेर आइटीको काम विदेशमा पनि गर्न सकिन्छ । विदेशी मुद्रा पनि आर्जन गर्न सकिन्छ । आफ्ना लागि आफै रोजगारीका अवसर सिर्जना गर्न सकिन्छ ।’
समय अनुसार हामी चल्न जानेनौँ भने पछाडि परिने बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘अरूले आएर यहाँ आइटीमा विभिन्न खालमा सेवा प्रवाह गर्ने र पैसा लिएर जाने तर हामीले बाहिर कम्पनी खोल्न नदिने र बाहिर कारोबार नै गर्न नदिने हो भने त्यसको असर प्रतिकूल पर्नेछ । त्यसलाई अन्त्य गर्नका लागि केही व्यवस्था समेत गरेका छौँ ।’