थ्री गर्जेज ड्याम, गोल्डेन गेट पुल र पाथीभरा केवलकारको प्रसंग – Nepal Press

थ्री गर्जेज ड्याम, गोल्डेन गेट पुल र पाथीभरा केवलकारको प्रसंग

अग्लाअग्ला हिमश्रृङ्खलाहरू, अग्लाअग्ला पहाड, जैविक विविधता, तराईका फाँटले नेपाललाई प्राकृतिक रुपमा समृद्ध बनाएका छन् । पदयात्रामा निस्कने पर्यटकका लागि अन्नपूर्ण र सगरमाथा आधार शिविर, मुस्ताङ, रारा, लाङटाङ आदि उत्कृष्ट गन्तव्यमा पर्दछन् ।

सँगै पर्यटन क्षेत्रमा प्रशस्त सम्भावना देखिएपछि व्यवसायीहरू यस क्षेत्रमा आकर्षितसमेत भएका छन् । यसले पर्यटनमा नयाँनयाँ आयाम थप्दै लगेको देखिन्छ । नेपाली पर्यटन बजारले पछिल्ला वर्षहरूमा विदेशीमात्र नभई मनग्गे आन्तरिक पर्यटकसमेत पाएको देखिन्छ । घुम्नुपर्दछ भन्ने संस्कृति नेपालमा राम्रैसँग विकसित भए पनि राज्यको पहल भने न्यून देखिन्छ ।

एसियन मुलुकहरूमा चीन, भारत, श्रीलंका, भुटान, बंगलादेशभन्दा नेपालमा पर्यटनको विकास पहिला भएको थियो । आज हामीलाई पछाडि नै छाडेर उनीहरू धेरै पर पुगिसके । हामी यो साल यति पर्यटक नेपाल भित्राउने त भन्छौं, तर पूर्वाधारमा ध्यान दिँदैनौं । कहीँ पर्यटन पूर्वाधार प्रारम्भ गरियो कि ‘जनअधिकार’का नाममा मागपत्र रूपी ‘एम्बुस’ थापिहाल्ने हाम्रो संस्कृति छ ! यस्तो पद्धतिले नेपाल कहाँ पुग्ला ?

पछिल्लो समय पाथीभरा मन्दिरमा केवलकार लैजाँदा मन्दिरको पहिचानमा नै संकटमा आउनेसम्मको विषय अगाडि सारेर आन्दोलन भएको देखिन्छ । आन्दोलनकारीका तर्फबाट सामाजिक सञ्जालमा व्यक्त धारणामा भनिएको छ– ‘पाथीभरा देवीस्थलसम्म केवलकार निर्माण गरिँदा मन्दिरको ऐतिहासिकता र पहिचानसमेत गुम्नेछ ।’

प्रारम्भमै प्रश्न उठ्छ– गोरखा जिल्लामा अवस्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरसम्म पुग्ने केवलकार निर्माणले मनकामना देवीको पहिचान तथा ऐतिहासिकतामा ह्रास आएको छ त ? यो आरोप केवल ‘आरोपका निम्ति आरोप’ मात्रै देखिन्छ ।

प्रश्न उठ्छ– गोरखा जिल्लामा अवस्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरसम्म पुग्ने केवलकार निर्माणले मनकामना देवीको पहिचान तथा ऐतिहासिकतामा ह्रास आएको छ त ? यो आरोप केवल ‘आरोपका निम्ति आरोप’ मात्रै देखिन्छ ।

धार्मिक पर्यटकीय तथा अन्य कुनै पनि महत्वपूर्ण ठाउँमा केवलकार तथा अन्य संरचना निर्माण गरिँदा वातावरणीय अध्ययन मूल्यांकनलगायतका अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरिनु अनिवार्य सर्त हो । त्यसको अलावा स्थानीय शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा अतिरिक्त लगानी आपसी सहमतिमा तय हुने विषय हो, तर पर्यटन उद्योगमै धावा बोलिनु चाहिँ नेपालमा लगानीको वातावरण छैन भन्ने पुष्टि गरेर लगानीकर्तालाई भड्काउनु नै हो ।

आज ‘नेपाल बन्दैन’ भन्ने भाष्य निर्माण भएको छ । पढेलेखेका दक्ष जनशक्ति विदेश पलायनको लर्काे देख्दा जो-कोहीलाई पनि पीडाबोध हुन्छ । अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालमा वैदेशिक लगानीको वातावरण छैन भन्ने प्रचार छ । राज्य स्वयंले लगानीमैत्री वातवरण निर्माण गर्न नसक्दा पछिल्ला वर्षहरूमा ठूला उद्योगमा हात हाल्न उद्योगीहरू हच्किएका छन् ।

ग्रामीण भेगबाट शहर र शहरबाट सुविधा सम्पन्न विकसित मुलुकमा ‘बसाइसराइ’ तीव्र भएको छ । लगानीकर्तालाई पाइला-पाइलामा निरुत्साहित गर्ने काम भएको छ । लगानी भित्र्याउन पहलकदमी लिने ‘निजी क्षेत्र’कै विरुद्ध जनमत सृजना गरेर ‘आँगन र करेसा’मा स्थापना गर्न लागिएका उद्योगको भविष्यमाथि अन्योल सृजना गरिएको छ ।

पाथीभरा केवलकारको सन्दर्भ

यूरोप, अमेरिकातिर विकासपूर्व भएका सामान्य विनाशलाई समेत विकास निर्माण सम्पन्नपश्चात् सच्याएर विकासमा रुपान्तरण गर्ने गरेको पाइन्छ । हो, विकास गर्दा रुख कटान हुन्छ, तर एकको बदला १० रोपिन्छ । ठूला ड्याम निर्माण गर्दा नदीमा हुने पर्यटनमा असर पर्नसक्छ, तर नेपाल जस्तो विकासोन्मुख देशले सडक निर्माण गर्दा रुख कटान हुन्छ वा हाइड्रोपावर निर्माण गर्दा राफ्टिङ कहाँ गर्ने भनेर अल्मलिनु सान्दर्भिक हुन्न ।

लगानीकर्तालाई पाइला-पाइलामा निरुत्साहित गर्ने काम भएको छ । लगानी भित्र्याउन पहलकदमी लिने ‘निजी क्षेत्र’कै विरुद्ध जनमत सृजना गरेर ‘आँगन र करेसा’मा स्थापना गर्न लागिएका उद्योगको भविष्यमाथि अन्योल सृजना गरिएको छ ।

जहाँसम्म पाथीभरा केवलकार निर्माणको कुरा छ, त्यो निर्माणले पर्यटन उद्योगमा ठूलो टेवा पुग्नेमा दुईमत छैन । उद्योग वाणिज्य संघका अध्यक्ष नै जोडिएको पर्यटन उद्योगलाई धराशायी बनाउन खोज्नु भनेको सिंगो उद्योग वाणिज्य संघलाई तर्साएर उद्योगीको मनोबलसमेत गिराउनु हो । ‘नेपाल उद्योग मैत्री छैन’ भन्ने भाष्य निर्माण गर्नु हो ।

हो, केवलकार निर्माता कम्पनीले पर्यावरण, पाथीभराको सौन्दर्य, सांस्कृतिक महत्व, मन्दिर तथा देवीको ऐतिहासिक महत्व आदिका बारे हेलचेक्र्याइँ गर्न मिल्दैन । पवित्र तीर्थस्थलको संरक्षण गर्नु सबैको दायित्वभित्र पर्दछ, तर मुलुकको सात वटै प्रदेशमा पर्यटकीय गन्तव्य निर्माण गर्ने योजना अगाडि सारेको आइएमई ग्रुप र तमाम उद्योगी तथा व्यापारीको छाता संगठन ‘नेपाल उद्योग वाणिज्य महासंघ’का अध्यक्षसमेत रहेका व्यक्तिबाट फाइदाका लागि मात्रै महत्वपूर्ण पर्यटकीय गन्तव्यको दुरुपयोग होला भनेर कल्पनासम्म गर्न सकिँदैन ।

कम्पनीका अनुसार कम्पनीका लागि आवश्यक जग्गाको भोगाधिकारअगावै कम्पनीले राज्यलाई सट्टा भर्ना जग्गा दिइसकेको छ । करिब ३ अर्बको लगानीमा उक्त केवलकार निर्माण प्रारम्भ गरिएकाले कम्पनीले स्थानीयसँग ‘सहमतिको नीति’ अंगीकार गर्नेमा दुई मत रहन्न ।

दोस्रो कुरा, आन्दोलन बढ्दै जाँदा आन्दोलनमा ‘धर्म’विरोधीको पनि उपस्थिति थपिँदै जाने खतरा भएकाले आन्दोलनकारीले यता पनि ध्यान दिन जरुरी देखिन्छ । आन्दोकारीले स्मरण गर्नुपर्ने विषय के हो भने प्रारम्भमा भएको यस्तै आन्दोलनले ‘अरुण जलविद्युत आयोजना’ खायो । जसका कारण जलविद्युतको क्षेत्रमा नेपाल दशकौं पछाडि पर्‍यो ।

तेस्रो कुरा, ‘पाथीभरा क्षेत्रको हक र अधिकार’का नाममा कहाँ-कहाँबाट को-को आएर ‘आफ्नो रोटी सेक्न’ खोज्दैछन्, त्यो बुझ्न जरुरी छ । उक्त आन्दोलनको अग्रभागमा उपस्थितहरूको अनुहार ताप्लेजुङवासीको होइन ।

अन्तर्राष्ट्रिय उदाहरण

थ्री गर्जेज विद्युतीय ड्याम चीनको विशाल विद्युतीय परियोजना हो । ड्याम निर्माणका क्रममा जैविक विविधतामा असर पुग्नेमात्रै नभई १० लाख बढी मानिस विस्थापित नै हुन रिपोर्टहरू आए । ती मानिसको जीविकोपार्जन मात्र नभएर सांस्कृतिक पहिचान नै गुम्ने खतरा रहने बताइयो ।

ठूला ड्याम निर्माण गर्दा नदीमा हुने पर्यटनमा असर पर्नसक्छ, तर नेपाल जस्तो विकासोन्मुख देशले सडक निर्माण गर्दा रुख कटान हुन्छ वा हाइड्रोपावर निर्माण गर्दा राफ्टिङ कहाँ गर्ने भनेर अल्मलिनु सान्दर्भिक हुन्न ।

उक्त ड्यामभन्दा तल चीनका थुप्रै सांस्कृतिक सम्पदासहितका शहरहरू पर्ने भएकाले केही भइहालेमा ती शहर तथा सम्पदामा ठूलै असर पर्ने बताएर प्रारम्भमा विरोध भयो । जब परियोजनाले २२ हजार ५०० मेगावाट विद्युत उत्पादन थाल्यो, तब चीनमा रहेको कोइलामा आधारित ऊर्जा निर्भरता घटाउन ठूलो मद्दत पुर्‍यायो । त्यतिमात्र नभई याङत्से नदीमा हुने बारम्बारको बाढीलाई समेत यस परियोजनाले नियन्त्रण गर्‍यो । सँगै उक्त बाँधमा ठूला मालबाहक जहाजसमेत सहज रुपमा सञ्चालन गर्नसक्ने गरी बनाइएकाले चीनको व्यापार तथा आर्थिक गतिविधिमा ठूलै टेवा पुग्यो ।

थ्री गर्जेज विद्युतीय ड्याम ।

सुरुवाती चरणमा निकै विरोध भए पनि उक्त ‘थ्री गर्जेज’ बाँधले आज चीनमा ऊर्जा उत्पादन, बाढी नियन्त्रण र आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेलेको छ ।

अमेरिकाको सान फ्रान्सिस्कोमा सन् १९३७ मा सम्पन्न ‘गोल्डेन गेट पुल’को निर्माणको सुरुवाती चरणमा निकै ठूलो विवाद र विरोध भयो । उक्त पुलबारे प्यासिफिक रेल रोड कम्पनीले सान फ्रान्सिस्को खाडी पार गर्न असहज हुने भएकाले आम्दानी गुम्ने बताएर विरोध गर्‍यो । सँगै अमेरिकाको ‘यूएस वार डिपार्टमेन्ट’ले सैन्य गतिविधिमा असर पुग्नेमात्र नभई उक्त पुलकै कारण सैन्य बन्दरगाहमा समेत अवरोध हुनसक्ने आशंका व्यक्त गर्‍यो ।

मन्दीको समयमा पुनर्निर्माण प्रारम्भ गरिएकाले ३५ मिलियन डलर ऋण लिएर पुल निर्माण गरिनु आर्थिक रुपमा समेत जोखिम हुने विश्लेषकहरूको तर्क थियो । तयतिबेला पुलका समर्थकहरूले व्यापार वृद्धि, रोजगारीको अवसर, यात्रा सहजलगायतका विषय अगाडि सारेर ‘पाथीभरा क्षेत्रका बासिन्दालाई अहिले उक्त परियोजनाले सम्झाए जसरी’ सम्झाउन निकै मेहनत गर्नुपर्‍यो । अन्ततः सन् १९३० मा उक्त पुलबारे जनमत संग्रहद्वारा ‘परियोजनाका लागि बन्ड’ नै पारित गरियो । जसले उक्त पुल निर्माण परियोजना अगाडि बढाउन मद्दत पुग्यो ।

गोल्डेन गेट पुल ।

अन्ततः सान फ्रान्सिस्कोको उक्त पुल आज इन्जिनियरिङका हिसाबले संसारकै चमत्कारिक मानिन्छ भने उक्त पुल सान फ्रान्सिस्कोको प्रमुख यातायात मार्ग पनि बनेको छ । उक्त पुल क्षेत्रीय आर्थिक वृद्धिमा योगदान पुर्‍याउने मात्र नभई विश्वभरका पर्यटकका लागि एउटा प्रमुख पर्यटकीय गन्तव्यका रुपमा स्थापित भएको छ । चीनको ‘थ्री गर्जेज’, अमेरिकाको ‘गोल्डेन गेट पुल’ जस्तै विकास पर्यटनका रुपमा लिन सकिन्छ– मनकामना केवलकार, निर्माणाधीन पाथीभरा केवलकार र नेपालका अन्य ठूला परियोजनाहरू, जसले पर्यटनको क्षेत्रमा ठूलो फड्को मार्न सहयोग गर्नसक्छ ।

नेपालले आज समृद्धिलाई हातेमालो गर्ने समय हो, तर अहिले नेपाल बन्दैन भन्ने भाष्य निर्माण हुँदै गइरहेको छ । सरकारी संयन्त्रमा काम गर्ने सवालमा समन्वयको अभाव, नेपालको राजनीतिक नेतृत्व र कर्मचारी संयन्त्रबीच चुलिँदो द्वन्द्व, भ्रष्टाचार प्रकरणमा उपल्लो राजनीतिक नेतृत्वले नीतिगतका नाममा पाइरहने उन्मुक्ति र तल्लो तह कानूनी रुपले फस्दै जानु यसका प्रमुख कारण हुन् । आज पढेलेखेको जनशक्ति विदेश पलायन हुँदा पुँजी पलायनको ‘स्केल’ डरलाग्दो छ ।

सडक दुर्घटनाको समाचार दैनिकजसो आइरहेका छन् । नेपाल भूपरिवेष्ठित राष्ट्र भएकाले पर्यटन क्षेत्रको विकासका लागि हवाई क्षेत्र, अन्यथा ‘केवलकार’मै जोड दिन जरुरी छ । केवलकार यातायातका माध्यममध्ये विश्वमै सुरक्षित मानिन्छ ।

यस्तो संक्रमणकालीन अवस्थामा निजी क्षेत्रबाटै अर्बौं खर्चेर लगानी गर्न खोज्दा उल्टै आन्दोलन प्रारम्भ गरिनु भनेको ‘अर्थतन्त्रलाई अवरोधमै अल्झाउन’ खोजिनु हो । स्थानीय समुदायले आज यो विषयमा गम्भीरतापूर्वक समीक्षा गर्न जरुरी छ ।

आर्थिक गन्तव्य

आज बाह्य अनुदान तथा ऋणको भर परिरहेको नेपाल सन् २०२६ पछि विकासशील मुलुकमा स्तरोन्नति भएपछि नेपालले पाउँदै आएको वैदेशिक ऋण तथा अनुदानको महत्वपूर्ण हिस्सा गुम्नेछ । अमेरिकामा डोनाल्ड ट्रम्पको विजयसँगै विश्वले नै यस्तो हिस्सा गुमाउने क्रम जारी भइसकेको छ । आर्थिक मन्दीले विश्वलाई प्रभावित पार्दै लगेको छ । सन् २०३० सम्ममा नेपालले हासिल गर्ने भनिएको ‘दिगो विकास लक्ष्य’ भेटाउन नेपाललाई २५ खर्ब रुपैयाँ चाहिने प्रक्षेपण छ । पूर्वाधारमा मात्रै पनि ११ खर्बभन्दा ज्यादा चाहिने अनुमान छ । सरकार आफैंले प्रक्षेपण गरेको राजस्व उठाउन असमर्थ छ । यस्तो बेला पर्यटनलगायत उद्योगमा निजी लगानीकर्ता उत्साहित हुँदा ‘यो वा त्यो’ बहानामा परियोजनालाई असफल पार्ने प्रयत्न गरिँदा नेपालको अर्थतन्त्रको हालत के होला भन्ने प्रश्न गम्भीर रुपमा तेर्सिएको छ ।

पर्यटन क्षेत्रमा नेपालले सामान्य सुधार गरेरमात्र पुग्ने अवस्था छैन । कोरोना महामारीपछि विश्वले पर्यटन क्षेत्रमा ९५ प्रतिशत ‘रिकभरी’ गरिसक्दा नेपालले भने ८४ प्रतिशतमात्र रिकभरी गरेको छ । आज १० लाख जनशक्ति नेपालको पर्यटन क्षेत्रमा प्रत्यक्ष तथा परोक्ष रोजगारीमा छ । आज पनि पर्यटन क्षेत्रको प्रमुख चुनौती भनेकै पूर्वाधार विकास हो । नेपालले निर्माण गरेको अन्तर्राष्ट्रिय विमानस्थलबारे केही भन्नै परेन । जुन विमानस्थल सञ्चालन विवादको घेरामै छ । सडक यातायातको अवस्था अझै पनि राम्रो छैन । सडक दुर्घटनाको समाचार दैनिकजसो आइरहेका छन् । नेपाल भूपरिवेष्ठित राष्ट्र भएकाले पर्यटन क्षेत्रको विकासका लागि हवाई क्षेत्र, अन्यथा ‘केवलकार’मै जोड दिन जरुरी छ । केवलकार यातायातका माध्यममध्ये विश्वमै सुरक्षित मानिन्छ ।

तसर्थ नेपालले स्वदेशी लगानीकर्तालाई प्रोत्साहन गरेर नेपालको पर्यटन क्षेत्रमा लगानी गराउन सक्दा आर्थिक रुपमा नेपालले लगानी भेट्टाउन सम्भव छ । आठ हजारभन्दा अग्ला विश्वभरका १४ हिमालमध्ये सगरमाथासहित आठ हिमाल नेपालमा छन् ।

पछिल्लो समय ‘भर्जिन हिमाल’ चढ्ने लहर विश्वभर नै देखिन्छ । जसको एउटा सुन्दर गन्तव्य नेपाल बन्नसक्छ । एकल उद्देश्य बोकेर नेपाल आउने पर्यटक पनि नेपाल प्रवेशसँगै धार्मिक, पर्वतारोहण, पदयात्रालगायत क्षेत्रमा बाँडिन सक्छन् । अन्य पर्यटकलाई समेत मनकामना, पाथीभरा, चन्द्रागिरी, कालिञ्चोकलगायत धार्मिक पर्यटनले आकर्षित गर्नसक्छ । त्यसका लागि ‘केवलकार’ अर्काे एउटा पर्यटकीय माध्यम बन्नसक्छ । जसको विरोध होइन, निर्माणमा मद्दत गरेर आ-आफ्नो क्षेत्रको आर्थिक अवस्थालाई चलायमान बनाउन सकिन्छ । रोजगारी सृजना गरेर दक्ष जनशक्तिको डरलाग्दो विदेश पलायनसमेत रोक्न सकिन्छ । जसका निम्ति राज्यको उपल्लो तहमा बस्नेदेखि पाथीभरामा आन्दोलन गर्छौं भन्नेले पनि एकसाथ समग्र मुलुकको आर्थिक अवस्थाको विवेचना गर्न जरुरी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *