रोल्पामाथि लेखिएका ५१ कविताहरुको संग्रह ‘कुइख्याङ’ विमोचन – Nepal Press

रोल्पामाथि लेखिएका ५१ कविताहरुको संग्रह ‘कुइख्याङ’ विमोचन

काठमाडौं । रोल्पा कला साहित्य प्रतिष्ठानको आयोजनामा कुइख्याङ’ विमर्श कार्यक्रम सम्पन्न भएको छ । रोल्पाबारे एकाउन्न कविले लेखेका एकाउन्न कविताहरु सङ्ग्रहित ‘कुइख्याङ’लाई कवि युग सर्वनामले सङ्कलन र सम्पादन गरेका हुन् भने कृतिको प्रकाशन रोल्पा कला साहित्य प्रतिष्ठानले गरेको हो ।

कवितासङ्ग्रहको विमर्शमा जनसांस्कृतिक महासंघका अध्यक्ष भिम कुमाखी, लेखक बन्दना ढकाल र अनुसन्धाता तथा लेखक नवीन विभास वक्ता थिए ।

कार्यक्रममा बोल्दै कुमाखीले शोषितपीडित वर्गको आवाजलाई कवितासङ्ग्रहले सशक्त बनाएको बताए । जनयुद्धको उद्गमस्थल रोल्पाका नागरिकहरुमा अझै पनि उत्तिकै प्रखर विद्रोहात्मक चेत रहेको उनको जिकिर थियो । उनका अनुसार सङ्ग्रहले इतिहासका गहन प्रश्नहरुको निरुपण गर्नुका साथै सांस्कृतिक पक्षहरुबारे पनि बहसको उठान गरेको छ ।

जनयुद्धबारे लेखिएका कविताहरुमा जनयुद्धताका र त्यसपछिको समाजमा परेको सांस्कृतिक प्रभावको सचित्र वर्णन रहेको उनले बताए । कुमाखीले भने, ‘जनयुद्धमा सक्रिय रुपमा सहभागी भएको हैसियतले रोल्पा र जनयुद्धको इतिहासप्रति हामीलाई सदैव गर्व महसुस हुनेछ ।’

लेखक ढकालले राजनीतिक संवेदनशीलताको दृष्टिकोणबाट हेर्दा सङ्ग्रहका कविताहरुले जनयुद्धबारे आम जनमानसलाई बुझाउन अहम् भूमिका खेल्ने बताइन् ।

सङ्ग्रहका कवितामा रोल्पावासीको विद्रोह र संघर्षबारे पढ्दा पाठकहरु उद्वेलित हुने र यस्तो उद्वेलन स्वाभाविक रहेको बताइन् । रोल्पावासीले राज्य उत्पीडनका विरुद्ध सधैं विद्रोह रोजेको समेत उनले जिकिर गरिन् ।

उनका अनुसार सङ्ग्रहका कविताले विभिन्न समयमा भएका युद्धहरुबारे राज्यनिर्मित गौरवगाथामाथि आलोचनात्मक मत राख्न मद्दत गर्नेछन् । ढकालले भनिन्, ‘यो सङ्ग्रहमार्फत इतिहासलाई नयाँ दृष्टिकोणबाट प्रस्तुत गर्न सहयोग पुग्नेछ ।’

अर्का वक्ता विभासले सङ्ग्रहका कविताहरु जनयुद्धको संस्मरणमात्रै नभएर न्यायप्राप्तिको यात्रामा यस्तो साहित्यले ठोस भूमिका खेल्ने बताए । सङ्ग्रहले समकालीन राजनीतिक परिस्थितिमा नयाँ संघर्षको लागि वैचारिक मार्गप्रशस्त गर्ने जिकिर गरे । सङ्ग्रहले जनयुद्धलाई दार्शनिक र सांस्कृतिक दृष्टिकोणबाट चित्रण गरेको उनको भनाइ थियो ।

युद्धको स्वरुप आफैंमा भयानक र बीभत्स भएता पनि सङ्ग्रहले यसको रचनात्मक प्रतिबिम्ब देखाउन सफल भएको उनले बताए । विभासले भने, ‘सङ्ग्रहको नामले नै रोल्पा र जनयुद्धको सांस्कृतिक पहिचानमाथि अपनत्व महसुस गराउँछ ।’

सम्पादक युग सर्वनामका अनुसार ‘कुइख्याङ’ शब्द मगर खाम भाषाबाट लिइएको हो । जसको अर्थ, कोसेली दिनु, कोसेली चढाउनु भन्ने हुन्छ । रोल्पा मगर खामभाषीहरुको बाहुल्य भएको जिल्ला हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर