७ महिनामा सहकारीको सवा ५ अर्ब बढी रकम ठगी आरोपका ४८ वटा मुद्दा दर्ता


काठमाडौं । चालू आर्थिक वर्षको गत साउनयता सहकारीको ५ अर्ब २१ करोड ठगी गरेको आरोपमा ४८ वटा मुद्दा दर्ता भएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदसँगको सवालको जवाफ दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त जानकारी गराएका हुन् ।
नेकपा एसका सांसद प्रकाश ज्वालाले सहकारी ठगी प्रकरणमा के कति कारवाही भयो भन्दै सोधेका थिए ।
‘सहकारीपीडित चर्को व्याजमा लघुवित्त पीडित मिटरव्याजपीडित, गुठीपीडित किसान उचित मूल्य नपाएका उखु किसान, भुक्तानी नपाएका दूध किसान, महंगीको मारमा परेका आम नागरिकलाई सरकारले कहिले दिन्छ न्याय र राहत ?’
जवाफ दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि निरन्तर पहल गरिरहेको दाबी गरे । उनले चालू आर्थिक वर्षमा मात्रै नेपाल प्रहरीबाट ५ अर्ब २१ करोड ठगी गरेको आरोपमा ४८ वटा मुद्दा दायर भइसकेको बताए ।
साथै उनले सहकारीसम्बन्धी अध्यादेश जारी गरेको उक्त अध्यादेश सहरकारीभित्रका समस्या समाधान गर्न कोशेढुंगा सावित हुनेछ दाबी गरे । प्रधानमन्त्रीले राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन भएको र उक्त प्राधिकरणले पनि सहरकारीका धेरै समस्या समाधान गर्ने बताए ।