प्रकाश ज्वालालाई प्रधानमन्त्रीको प्रतिप्रश्न- तपाईं भौतिक योजनामन्त्री हुँदा किन काम गर्नुभएन ? (भिडिओ) – Nepal Press

प्रकाश ज्वालालाई प्रधानमन्त्रीको प्रतिप्रश्न- तपाईं भौतिक योजनामन्त्री हुँदा किन काम गर्नुभएन ? (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिन थालेका छन् । प्रधानमन्त्रीलाई सबैभन्दा पहिलो प्रश्न नेकपा एकीकृत समाजवादीका सांसद तथा पूर्वमन्त्री प्रकाश ज्वालाले गरे ।

ज्वालाले प्रधानमन्त्री ओलीको अघिल्लो कार्यक्रममा शिलान्यास गरेका १६५ निर्वाचन क्षेत्रीय रणनीतिक सडकहरु र पालिका अस्पतालको प्रगति हुन नसकेको बारे सोधेका थिए ।

प्रश्न थियो, ‘तपाईंले तामझामका साथ शिलान्यास गरेका १६५ निर्वाचन क्षेत्रीय रणनीतिक सडकहरु बजेटको अभावमा अलपत्र छन् भने पालिका अस्पतालहरु कतिका जगमात्र र कतिका पिलरमात्रै अस्थिपञ्जर जस्तै ठडिएका छन् । तिनीहरुका लागि बजेट व्यवस्था गरेर काम सम्पन्न गर्ने योजना के छ ?’

जवाफमा प्रधानमन्त्री ओलीले आफ्नो अघिल्लो कार्यकालमा शिलान्यास गरेलगत्तै आफू प्रधानमन्त्रीबाट हट्नुपरेको बताए । आफूपछिका सरकारहरुले ती परियोजनाहरुलाई निरन्तरता नदिएको उनको गुनासो थियो ।

उनले ज्वालालाई इंगित गर्दै आफू भौतिक योजनामन्त्री हुँदा किन काम गर्नुभएन भनेर प्रतिप्रश्न गरे ।

ओलीको जवाफ यस्तो थियो

‘निर्वाचन क्षेत्र रणनीतिक सडक र हरेक पालिकामा आधारभूत अस्पताल निर्माणको सुरुवात मैले अघिल्लो कार्यकालमा गरेको थिएँ, तर केही समयपछि नै सरकार परिवर्तन भएर म बाहिरिएँ । त्यसपछि आउने सरकारले ती कार्यक्रमहरु रद्द गरे, निरन्तरता दिएनन् । निर्माण रोकियो । प्रश्नकर्ता माननीय पनि त्यसपछिका सरकारमा भौतिक पूर्वाधारमन्त्री हुनुहुन्थ्यो कि जस्तो लाग्छ । कार्यक्रम रद्द गर्नेले नै फेरि किन पूरा भएन भनेर प्रश्न गर्ने, प्रगति खोज्ने बडो अनौठो संस्कार छ यहाँ । उपरोक्त सबै अस्पताल र सडक निर्माण सम्पन्न गर्न ठूलो बजेट अवश्यक पर्छ । केही संख्यामा सम्पन्न भएका छन् । केही उद्घाटन भएर सुचारु भइसकेका छन् । उपलब्ध स्रोत र साधनलाई ध्यान दिई बाँकी सडक र अस्पताल प्राथमिकतापूर्वक निर्माण भइरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर