डोजरले खसालेको ढुंगाले लाग्दा स्कुल जाँदै गरेकी बालिकाको मृत्यु


रूपन्देही । गुल्मीमा बाटो खन्दै गरेको डोजरले खसालेको ढुंगाले लागेर स्कुल जाँदै गरेकी एक बालिकाको मृत्यु भएको छ।
गुल्मीको इश्मा गाउँपालिका-२ टारगाउँमा जेसीबीले बाटो खन्ने क्रममा खसेको ढुंगाले लाग्दा ८ वर्षीया विष्णु कुमालको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी चिरञ्जीवी दाहालका अनुसार छल्दीबाट हस्तिचौर जाने कच्ची सडक निर्माणका क्रममा माथिबाट खसेको ढुंगाले लागेर बालिका घाइते भएकी थिइन्।
उनलाई उपचारका लागि गुल्मी अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। घटनापछि स्थानीयले जेसीबी चालकको लापरबाहीका कारण दुर्घटना भएको आरोप लगाएका छन्।
प्रहरीले जेसीबी चालक मकवानपुरका राजेश रेग्मीलाई नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक राजकुमार थापा नेतृत्वको टोली पठाइएको छ।