वाणिज्य बैंकहरूको निक्षेप ६० खर्ब नजिक, कर्जा प्रवाह ४८ खर्बमात्रै  – Nepal Press

वाणिज्य बैंकहरूको निक्षेप ६० खर्ब नजिक, कर्जा प्रवाह ४८ खर्बमात्रै 

काठमाडौं । वाणिज्य बैंकहरुको निक्षेप संकलन ६० खर्ब नजिक पुगेको छ । चालू आर्थिक वर्षको माघ मसान्तसम्म २० वाणिज्य बैंकहरुले ५९ खर्ब ९७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका हुन् । यस्तो निक्षेप गत आवको असार मसान्तसम्म ५७ खर्ब ५५ अर्ब रुपैयाँ थियो ।

वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघ (एनबीए) का अनुसार माघ मसान्तसम्म वाणिज्य बैंकहरुले ४८ खर्ब २७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यस्तो कर्जा प्रवाह गत आवको असार मसान्तसम्म वाणिज्य बैंकहरुले ४५ खर्ब ७१ अर्ब रुपैयाँ गरेका थिए ।

निक्षेप संकलनमा ग्लोबल आइएमई बैंक अब्बल

वाणिज्य बैंकहरुमध्ये निक्षेप संकलन गर्नेमा ग्लोबल आइएमई बैंक अब्बल देखिएको छ । यस बैंकले माघ मसान्तसम्ममा ५ खर्ब २९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको हो ।

नबिल बैंकको निक्षेप संकलन पनि ५ खर्ब नजिक पुगेको छ । यस अवधिमा नबिल बैंकले ४ खर्ब ९९ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा ४ खर्ब ११ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

अन्य दुई बैंकहरुले पनि ४ खर्ब माथि निक्षेप संकलन गरेका छन् । यस अवधिमा नेपाल इन्भेष्टमेन्ट बैंकले ४ खर्ब ४७ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा राष्ट्रिय वाणिज्य बैंकले ४ खर्ब ४४ अर्ब रुपैयाँ संकलन गरेको छ ।

तीन खर्ब माथि निक्षेप संकलन गर्ने अन्य बैंकहरुमा कुमारी बैंकले ३ खर्ब ६१ अर्ब रुपैयाँ, लक्ष्मी सनराइज बैंकले ३ खर्ब ४७ अर्ब रुपैयाँ, नेपाल बैंकले ३ खर्ब ४ अर्ब रुपैयाँ र हिमालयन बैंकले ३ खर्ब रुपैयाँ निक्षेप संकलन गरेको एनबीएले जनाएको छ ।

यस अवधिमा एभरेष्ट बैंक २ खर्ब ६१ अर्ब निक्षेप संकलन गर्दा एनएमबी बैंकले पनि सोही बराबर संकलन गरेको छ । यस अवधिमा कृषि विकास बैंकको २ खर्ब ५६ अर्ब रुपैयाँ, प्राइम कमर्सियल बैंकको २ खर्ब ३८ अर्ब रुपैयाँ, सानिमा बैंकको २ खर्ब १३ अर्ब रुपैयाँ र सिटिजन्स बैंकले २ खर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् ।

यस अवधिमा माछापुच्छ्रे बैंकले १ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा नेपाल एसबीआई बैंकले १ खर्ब ८२ अर्ब रुपैयाँ गरेको छ । यस्तै, स्टान्डर्ड चार्टर्ड बैंकले १ खर्ब २४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ ।

गत आर्थिक वर्षको असार मसान्तको तुलनामा तीन बैंकहरुको निक्षेप संकलन भने घटेको छ । एनआइसी, सिद्धार्थ र प्रभु बैंकको निक्षेप संकलन घटेको हो ।

चालू आर्थिक वर्षको माघ मसान्तसम्म एनआइसी एशिया बैंकले ३ खर्ब २ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । तर, यो निक्षेप गत आवको असार मसान्तसम्मको तुलनामा ५८.२२ प्रतिशत कम हो । उक्त अवधिमा यस बैंकले ३ खर्ब ६० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको थियो ।

त्यस्तै, गत आवको असार मसान्तसम्म ३ खर्ब १२ अर्ब रुपैयाँ निक्षेप सकंलन गरेको प्रभु बैंकले चालू आवको माघ मसान्तसम्म आइपुग्दा ३ खर्ब ९ अर्ब रुपैयाँ मात्रै निक्षेप कायम रह्यो । यस अवधिमा बैंकको निक्षेप संकलन ३.०७ प्रतिशत घटेको देखिन्छ ।

त्यस्तै, सिद्धार्थ बैंकको पनि निक्षेप संकलन १.६० प्रतिशतले घटेको छ । चालू आवको माघसम्म यस बैंकले २ खर्ब ४३ अर्ब रुपैयाँ निक्षेप सकंलन गरेको छ । यस्तो निक्षेप गत आवको असार मसान्तसम्म २ खर्ब ४४ अर्ब रुपैयाँ रहेको थियो ।

कर्जा प्रवाह: तीनको घट्दा १७ को बढ्यो 

माघ मसान्तसम्म आइपुग्दा वाणिज्य बैंकहरुले ४८ खर्ब २७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जसमा तीन वटा बैंकको घट्दा १७ बैंकको कर्जा प्रवाह भने बढेको छ ।

एनआईसी एशिया बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक र प्रभु बैंकको कर्जा प्रवाह घटेको छ । माघ मसान्तसम्म एनआईसीले २ खर्ब ५२ अर्ब, प्रभुले २ खर्ब ३२ अर्ब र स्ट्याण्डर्ड चार्टर्डले ८५ अर्ब रुपैयाँ मात्रै कर्जा प्रवाह गरेका छन् । जबकि यी बैंकहरुले गत आवको असार मसान्तसम्म क्रमशः २ खर्ब ८५ अर्ब, २ खर्ब ३४ अर्ब र ८९ अर्ब प्रवाह गरेका थिए ।

अन्य १७ बैंकहरुको कर्जा प्रवाह भने बढेको छ । निक्षेप संकलन गर्नेमा पनि अब्बल देखिएको ग्लोबल आइएमई बैंक कर्जा प्रवाहमा पनि अग्र स्थानमै रहेको छ । माघ मसान्तसम्म ग्लोबल आइएमई बैंकले ४ खर्ब ३१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत आवको असार मसान्तसम्म यस्तो कर्जा ३ खर्ब ९० अर्ब रुपैयाँ प्रवाह गरेको थियो ।

कुन बैंकको सीडी रेसियो कति ? 

नेपाल बैंकर्स संघका अनुसार वाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) औसत ७९.३५ प्रतिशत रहेको छ । माघ मसान्तसम्म आइपुग्दा राष्ट्रिय वाणिज्य बैंकको सीडी रेसियो ६३ प्रतिशत रहेको छ भने स्ट्याण्डर्ड चार्टर्ड बैंकको ६८ प्रतिशत छ ।

त्यस्तै, नेपाल बैंकको ७३.६९ प्रतिशत, नेपाल एसबिआई बैंकको ७५.४९ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ७७.५६ प्रतिशत, प्रभु बैंकको ७५.८४ प्रतिशत, ग्लोबल आइएमई बैंकको ७८.७७ प्रतिशत, कृषि विकास बैंकको ७५.४३ प्रतिशत छ ।

त्यसैगरि, लक्ष्मी सनराइजको ८०.८० प्रतिशत, सानिमा बैंकको ८०.९२ प्रतिशत, कुमारी बैंकको ८१.८० प्रतिशत, नबिलको ८२.४४ प्रतिशत, हिमालयन बैंकको ८२.७० प्रतिशत, एनआईसी एसिया बैंकको ८३.०७ प्रतिशत, एभरेष्ट बैंकको ८३.५१ प्रतिशत, माछापुच्छ्रेको ८३.६० प्रतिशत, र एनएमबि बैंकको ८३.६२ प्रतिशत छ ।

माघ मसान्तसम्ममा सिटिजन्स बैंकको ८४.०१ प्रतिशत सीडी रेसियो छ । यस अवधिमा सिद्धार्थ बैंकको ८५.०२ प्रतिशत सीडी रेसियो हुँदा प्राइम कमर्सियलको ८५.७७ प्रतिशत सीडी रेसियो रहेको एनबीएले जनाएको छ ।

निक्षेप–कर्जा व्यवस्थापन गर्न हम्मेहम्मे

अहिले बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप तथा कर्जा व्यवस्थापनमा नेपाल राष्ट्र बैंकलाई सकस परिरहेको छ । वित्तीय प्रणालीमा रहेको अधिक तरलताको व्यवस्थापन गर्न राष्ट्र बैंकलाई हम्मेहम्मे परिरहेको हो ।

वित्तीय संस्थाहरूमा थुप्रिएको तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण प्रयोग गरेर पैसा तानिरहेको छ । ‘सेड्युल’ नै बनाएर राष्ट्र बैंकले हप्तामा दुई पटक निक्षेप तानिरहेको छ ।

आइतबार पनि राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ निक्षेप खिच्दैछ । आजै दिउँसो ३ बजे उक्त बराबरको रकम राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट प्रशोचन गर्न लागेको हो । बुधबार पनि राष्ट्र बैंकले ६० अर्ब रुपैयाँ तानेको थियो ।

राष्ट्र बैंकले २१ दिनका लागि निरन्तर निक्षेप बोलकबोल मार्फत बजारबाट तानिरहेको छ । यसरी बजारबाट खिचिएको निक्षेप अहिले राष्ट्र बैंकमा २ खर्ब ३५ अर्ब थुप्रिएको छ । बैंकहरुले लगानीमा जोड दिनुपर्ने राष्ट्र बैंकको सुझाव छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर