सेना दिवसको अवसरमा सुर्खेतमा ‘युनिटी रन २०८१’ सम्पन्न, उत्कृष्ट धावकहरू सम्मानित


सुर्खेत । २६२ औँ सेना दिवस-२०८१ को अवसरमा उत्तर पश्चिम पृतना हेडक्वाटर निमारे ब्यारेक सुर्खेतले ‘युनिटी रन २०८१’ प्रतियोगिता आयोजना गरेको छ।
शनिवार सम्पन्न उक्त दौड प्रतियोगितामा विभिन्न उमेर समूह तथा लिङ्गअनुसार फरक(फरक विधामा खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए।
कार्यक्रममा प्रदेश प्रमुख यज्ञराज जोशी, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल, प्रदेश सरकारका मन्त्रीहरू, प्रमुख सचिव लोकनाथ पौड्याल, उत्तर पश्चिम पृतनाका पृतनापति उपरथी अनुपजंग थापा, प्रदेश तथा जिल्लाका सुरक्षा प्रमुखहरू लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
दौड प्रतियोगिता कलिबक्स गण एयरपोर्ट ब्यारेडबाट सुरु भएको थियो। दौड समापनपछि विभिन्न जिल्लाबाट आएका सहभागी धावकहरूलाई सम्मान गरिएको थियो।
२१ किलोमिटर म्याराथनमा पुरुषतर्फ करण रावल पहिलो स्थान हासिल गर्दै ३५ हजार रुपैयाँ नगद पुरस्कार जिते ।
धनु मानन्धर दोस्रो स्थानमा रहेर २५ हजार रुपैयाँ प्राप्त गरे भने धीर बहादुर बुढा तेस्रो स्थान हासिल गर्दै १५ हजार रुपैयाँ पुरस्कार जित्न सफल भए।
महिलातर्फ २१ किलोमिटर म्याराथनमा कल्पना बुढाले प्रथम स्थान हासिल गरी ३५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन्।
राज्यलक्ष्मी रावल दोस्रो स्थानमा रहँदै २५ हजार रुपैयाँ जितिन् भने सन्दिवा बुढाले तेस्रो स्थान प्राप्त गर्दै १५ हजार रुपैयाँ नगद पुरस्कार हात पारिन्।
१० किलोमिटर दौडतर्फ पुरुष समूहमा युवराज बुढाले प्रथम स्थान हासिल गरी २० हजार रुपैयाँ जिते। अम्म बुद्धराम तामाङ दोस्रो भई १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे भने मुकेश शाही तेस्रो स्थानमा रहँदै ५ हजार रुपैयाँ जित्न सफल भए।
महिला १० किलोमिटर दौडमा सुनिता बुढाले पहिलो स्थान हासिल गर्दै २० हजार रुपैयाँ जितिन्। मिमु बुढाले दोस्रो स्थान प्राप्त गरी १० हजार रुपैयाँ जितिन् भने संगिता बुढा तेस्रो भई ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्न सफल भइन्।
५ किलोमिटर दौडतर्फ पुरुष समूहमा सम्राट शाह प्रथम भई १० हजार रुपैयाँ पुरस्कार जिते। रिदम सापकोटा दोस्रो स्थानमा रहँदै ५ हजार रुपैयाँ प्राप्त गरे भने प्रोज्ज्वल रावल तेस्रो स्थानमा आई ३ हजार रुपैयाँ जित्न सफल भए।
महिला ५ किलोमिटर दौडतर्फ सृष्टि खत्री पहिलो भई १० हजार रुपैयाँ जितिन्। सुनु अधिकारी दोस्रो स्थानमा रहँदै ५ हजार रुपैयाँ प्राप्त गरिन् भने दिलमाया थापा तेस्रो भई ३ हजार रुपैयाँ नगद पुरस्कार जित्न सफल भइन्।
विजयी धावकहरूलाई प्रमुख अतिथिले प्रमाणपत्रसहित नगद पुरस्कार प्रदान गरेका थिए।