बृहत स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षामा हजारौं सहभागी


काठमाडौं । काठमाडौंमा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षामा ५ हजारभन्दा बढी विद्यार्थी सहभागी भएका छन् । शुक्रबार हिन्दू स्वयंसेवक संघ नेपालले आयोजना गरेको बृहत् परीक्षामा काठमाडौं उपत्यकाका तीन जिल्लाका सयभन्दा धेरै विद्यालयका विद्यार्थीहरू सहभागी भएका छन् ।
संघले विद्यार्थीहरुलाई आफ्नो गौरवशाली संस्कृतिसँग परिचित गराउन, धर्म, संस्कार र परम्परा तथा हिन्दू धर्म संस्कृतिका विशिष्ट जीवन-मूल्य, नैतिक मान्यताबारे बोध गराउन आयोजना गरिएको संस्कृति ज्ञान परीक्षामा नेपाल वेद विद्याश्रमका अच्युत नेपाल प्रथम भएका छन् ।
यसैगरी शहीद स्मारकका लोकराज जैसी द्वितीय र दुर्गा भवानी एकेडेमीकी दिवास्ना धमला तृतीय भए । प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीले जनही नगद ५१ हजार, ३१ हजार र २१ हजारसहित प्रमाणपत्र पाएका छन् ।
परीक्षामा सहभागीहरूमध्ये ६६ विद्यार्थीले ५० वटै प्रश्न मिलाउन सफल भएको बताइएको छ । ६३ जनालाई जनही एक हजारका दरले सान्त्वना पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले विद्यार्थीहरूलाई संस्कारसहितको नैतिक शिक्षा सिकाउनुपर्ने बताए ।
उनले विद्यालय तहदेखि नै संस्कृत शिक्षा, हाम्रो वैदिक हिन्दूत्वको शिक्षा र नैतिक शिक्षा सिकाउन आवश्यक रहेको बताए ।
त्यसैगरी मध्यपश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले राष्ट्र बलियो बनाउन भाषा, धर्म, संस्कृति र सभ्यता महत्वपूर्ण रहेको बताए ।
कार्यक्रममा सामाजिक अभियन्ता उज्ज्वलविक्रम थापाले नैतिक शिक्षाको कमी भएको बताउँदै विद्यार्थीहरुले आफूमा करुणा, नैतिक शिक्षा, वृद्धहरुप्रति देखाउने सम्मान र मानवतालाई जगाउनुपर्ने बताए ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक फुलप्रसाद सुवेदीको अध्यक्षतामा भएको थियो ।