सरकार कसैका कारण समस्यामा पर्दैन: उपप्रधानमन्त्री सिंह (भिडिओ)


रुपन्देही । उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले राजीतिक स्थायित्व दिएर समृद्ध बनाउन अहिलेको गठबन्धन भएकाले कुनै सानो समस्याले यताउता नहुने बताएका छन् ।
बुटवल उपमहानगरको स्थापना दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा उनले नागरिकमा बढेको निराशा हटाउन र देशमा विकास र समृद्धि ल्याउन सरकारले काम गर्ने बताए ।
‘राजनीतिक स्थायित्वविना आर्थिक अवस्था सुदृढ बन्दैन र विकास निर्माणले पनि पूर्णता पाएको हुँदैन’, उनले भने, ‘राजनीतिक स्थायित्वका लागि अहिलेको सरकार बनेको हो, सदनमा सबैभन्दा ठूला दुई दल त्यसैका लागि मिलेका हुन् । यसैलाई आधार मानेर सरकारले काम गरिरहेको छ ।’
सधैं अस्थिर सरकार बनेकाले समस्या परिरहेको सबैलाई थाहा भएको उपप्रधानमन्त्री सिंहको भनाइ छ ।
‘सरकार कति समयसम्म बस्छ कसैलाई ठेगान नहुने भनेर आवाज उठिरहेको थियो, यो गठबन्धनबाट बनेको सरकार कसैलाई कुर्सीमा जानमात्रै बनेको होइन, देशको चाहनाअनुसार जनताको चाहना पूरा गर्न बनेको हो, यो कसैका कारण समस्यामा पर्दैन’, उनले भने, ‘अब संघीयताको मर्मअनुसार तीनै तहका सरकारलाई बलियो बनाएर सरकार अघि बढेको छ । विस्तारै बढेका निराशाहरु कम भइरहेका छन् ।’
उपप्रधानमन्त्री सिंहले बुटवलको दीर्घकालीन विकासका विशेष योजना ल्याउन आग्रह गरे ।
‘बुद्धको जन्मभूमि भएको क्षेत्र हो, यहाँ पर्यटन क्षेत्रबाटै समृद्धि ल्याउन सकिन्छ, यसमैमा योजना बनाउनस्, नागरिकलाई सुविधामै विशेष ध्यान दिइयोस्’, उनले भने, ‘बुटवल उपमहानगर त्यसै बनेको होइन, अब नयाँ ढंगले काम गर्ने योजना बनाउनुस् ।’
उपप्रधानमन्त्री सिंहले बुटवललाई महानगरतर्फ लैजाने क्राइटेरिया पुग्दै गएकाले त्यसमा ध्यान दिन आग्रह गरे ।