केन्याली धावकले जिते सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि


पोखरा । १९औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याका धावकले जितेका छन् ।
भूतपूर्व खेलाडी मञ्चको आयोजनामा शनिबार बिहान पोखरामा भएको खुला म्याराथनमा केन्याका धावक विल्सन चेरुयोट प्रथम भए । उनले २ घन्टा १७ मिनेट २४ सेकेन्डमा निर्धारित दुरी पूरा गरे ।
म्याराथनमा केन्याकै धावक दोस्रो र तेस्रो बने । केन्याका जुलियस मुरिउकी वाहोमेले विल्सनभन्दा २ सेकेन्ड पछि पर्दै दोस्रो बने । उनले २ घन्टा १७ मिनेट २६ सेकेन्ड म्याराथन पूरा गरे ।
केन्याकै ओनेस्मस गिताउ न्जोरोगे तेस्रो बने । उनले निर्धारित दुरी २ घन्टा १८ मिनेट ५१ सेकेन्डमा पूरा गरे । प्रथम हुने उनले ५ लाख हात पारे । दोस्रो बनेका जुलियसले ३ लाख र तेस्रो बनेका ओनेस्मसले २ लाख प्राप्त गरे ।
चौथो नेपालका किरण सिंह बोगटे, पाँचौं निरज भट्ट क्षेत्री र छैटौं रिखुलाल सिंन्जाली मगर बन्न सफल भए । हाफ म्याराथनमा पुरुषतर्फ जोन बेन्स्ट्र र महिलातर्फ सन्तोषी श्रेष्ठले उपाधि जिते । जोनले एक घन्टा ९ मिनेट ०७ सेकेन्ड र सन्तोषीले एक घन्टा २० मिनेट ०३ सेकेन्डमा निर्धारित दुरी पूरा गरे ।
पुरुषतर्फ एक घन्टा ९ मिनेट ०७ सेकेन्डमा पूरा गर्दै सन्तोषविक्रम विष्ट दोस्रो र एक घन्टा ९ मिनेट ५६ सेकेन्डमा पुरा गर्दै गजेन्द्र राई तेस्रो बने ।
महिलातर्फ स्वारोन जेनोटिच १ घन्टा २१ मिनेट ०७ सेकेन्डमा पूरा गर्दै दोस्रो र पुष्पा भण्डारी १ घन्टा २३ मिनेट ०८ सेकेन्डमा पूरा गर्दै तेस्रो बनिन् । महिलातर्फ हाफ म्याराथनमा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः एक लाख ५० हजार, एक लाख र ७५ हजार पाए ।
पुरुषतर्फ हाफ म्याराथनमा पहिलो हुनेले ५० हजार, दोस्रोले ३० र तेस्रोले २० हजार प्राप्त गरे ।