कर्णालीका मुख्यमन्त्री कँडेल भन्छन्- प्रदेश सरकारले सञ्चालन गरेका ८० प्रतिशत योजना कार्यान्वयनमा


सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकारले सञ्चालन गरेका ८० प्रतिशत योजना कार्यान्वयनमा गएकाे बताएका छन् ।
प्रेस चौतारी नेपाल कर्णाली प्रदेश समितिको शनिबार भएको दोस्रो अधिवेशनमा बोल्दै उनले कार्यान्वयनमा गएका प्रदेश सरकारका ८० प्रतिशत योजनालाई प्रभावकारी ढंगले उजागर गर्न पत्रकारको भूमिका महत्वपूर्ण हुने बताए ।
सञ्चारमाध्यमहरूले सकारात्मक प्रभाव पार्ने समाचारमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।
मुख्यमन्त्री कँडेलले बजेट वितरण, योजना छनोट र पारदर्शितासम्बन्धी जनगुनासोहरूप्रति ध्यानाकर्षण गर्दै भने, ‘हामीले जे बजेट प्राप्त गरेका छौं, त्यसको पारदर्शी ढंगले उपयोग हुनुपर्छ । आलोचना भइरहे पनि योजनाहरू समयमा सम्पन्न गर्न सरकार प्रतिबद्ध छ ।’
उनले मध्यपश्चिम विश्वविद्यालयमा स्नातकोत्तर अध्ययनरत विद्यार्थीहरूलाई सरकारले सहयोग गर्दै आएको र युवाहरूलाई अवसर दिन प्रयासरत रहेको बताए।
प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले प्रेस स्वतन्त्रताको आवश्यक रहेको भन्दै प्रेस चौतारीमा कुनै गुटबन्दी नभएको र यो पार्टीको संगठन नभएको बताए ।
उनले भने, ‘यो समाचार लेख्ने पत्रकारहरूको संस्था हो, जसले स्वतन्त्र र निष्पक्ष रूपमा काम गर्नुपर्छ ।’
कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटी सदस्य र प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सामाजिक सञ्जालको नियमन गर्न सरकारद्वारा ल्याइएको विधेयकबारे गलत भाष्य निर्माण गर्न खोजिएको बताए ।
गौतमले सामाजिक सञ्जालका कारण नागरिकको आत्मसम्मान प्रभावित भइरहेको भन्दै यसमा नियमन गर्नुपर्ने आवश्यकता औंल्याए ।