सुदूरपश्चिममा संसदीय समितिको सभापतिमा दलीय भागबन्डा, सुरु भयो उम्मेदवारी दर्ता – Nepal Press

सुदूरपश्चिममा संसदीय समितिको सभापतिमा दलीय भागबन्डा, सुरु भयो उम्मेदवारी दर्ता

कैलाली । सुदूरपश्चिम प्रदेश संसदीय समितिले नेतृत्व पाउने भएको छ । ज्येष्ठ सदस्यको भरमा रहेका यहाँका सामाजिक विकास समिति, सार्वजनिक लेखा समिति र अर्थ विकास तथा प्राकृतिक स्रोत समितिले लामो समयपछि सभापति पाउने भएको हो ।

आज तीन समितिमा तीनले उम्मेदवारी दर्ता गरिसकेका छन् । सामाजिक विकास समितिमा नेकपा एमालेका धर्मराज पाठक, सार्वजनिक लेखा समितिमा माओवादीका अक्कल रावल र अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरीको उम्मेदवारी दर्ता भएको प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिए ।

पुस ११ मा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच विषयगत समितिको सभापतिमा भागबन्डा भएको थियो । उक्त भागबन्डाका आधारमा नागरिक उन्मुक्ति पार्टीले अर्थ विकास तथा प्राकृतिक स्रोत विकास समिति, एमालेले सामाजिक विकास समिति, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सार्वजनिक लेखा समिति पाउने सहमति भएको थियो ।

विशेषाधिकार समिति कांग्रेसको भागमा परेको थियो । आज सोही सहमतिअनुसार एमाले, माओवादी र नागरिक उन्मुक्ति पार्टीले उम्मेदवारी दर्ता गरेका हुन् । कांग्रेसको भागमा परेको विशेषाधिकार समितिमा पनि उम्मेदवारी दर्ताको प्रक्रियामा रहेको प्रदेशसभा सचिवालयका सचिव बोगटीले जानकारी दिए ।

आज ४ बजेसम्म निर्वाचन गरियोस् भन्ने प्रस्ताव दर्ता गर्ने निर्वाचन तालिकामा रहेको छ । भोलि बिहान १० देखि ११ बजेसम्म प्रस्तावित सभापतिको उम्मेदवारविरुद्ध दाबी विरोधको कार्यसूची रहेको छ । १२ बजेसम्म उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेर १ बजे सभापतिको निर्वाचनको लागि सम्बन्धित समितिको बैठक प्रारम्भ गर्ने र निर्वाचन परिणाम घोषणा गर्ने तालिका प्रदेशसभा सचिवालयले सार्वजनिक गरेको छ ।

विशेषाधिकार समितिको निर्वाचन भने २ः३० बजे हुने सचिव बोगटीले जानकारी दिए ।

राजनीतिक दलहरुबीच सहमति गरेर निर्वाचन प्रक्रिया अगाडि बढेको हुँदा चार वटै समितिका सभापति आजै निर्विरोध हुने सम्भावना अधिक रहेको छ ।

याे पनि पढ्नुस् : सुदूरपश्चिम : तेस्रो पटक संसदीय समितिको चुनावी तालिका सार्वजनिक, को-को बन्दै छन् सभापति ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर