अफजलको क्रिकेटमोहः पुर्ख्यौली जग्गामा मैदान, आफ्नै खर्चमा पिच निर्माण

भोक्राह (सुनसरी) । प्रजातन्त्र पुनःस्थापनापछि भएको पहिलो आमनिर्वाचनमा देशभरमा सबैभन्दा बढी मत ल्याउने व्यक्ति थिए डा. खलिल आजाद । सुनसरी क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका खालिलले उपेन्द्र यादवलाई हराएका थिए ।
खलिलले २९ हजार ५०० मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी यादवको ५ हजार मत पनि पुगेन । सुनसरीको भोक्राहमा घर भएका खालिल बीपी कोइरालासँग २००७ सालको क्रान्तिमा होमिए । बीपीको सङ्गतले राजनीतिमा लागेका खलिलले प्रतिनिधिसभाको निर्वाचनमा विजयी भएसँगै ज्येष्ठ सदस्यको हैसियतमा पहिलो सभा चलाए ।
सभामुखको रूपमा दमननाथ ढुङ्गाना निर्वाचित नभइञ्जेल प्रतिनिधिसभा चलाएका खलिलका ५ भाइ छोरा छन् । जसमध्ये दुई जना अहिले पनि राजनीतिमा छन् । उनै खलिलका काइँला छोरा हुन् अफजल हुस्सेन ।
उनले स्कुले शिक्षा दिल्लीमा पूरा गरे । उनले जामेमिल्लिया विश्वविद्यालयबाट स्नातकसम्मको अध्ययन गरे, तर उनलाई पढाइमा भन्दा क्रिकेटमा दिल बस्यो । दाजुहरू जमिल अख्तर, अजमल अख्तर र अकमल अख्तरहरु गाउँमा फुटबल खेल्थे । दाइहरूले फुटबल खेलेको देखेका अफजल दाजुहरूलाई पच्छ्याउँदै फुटबल मैदान पुग्थे ।
सानैमा खेलकुदप्रति आकर्षित अफजल पढ्ने स्कुलमा फुटबलभन्दा क्रिकेटको क्रेज थियो । उनी पनि फुटबल छाडेर बल, ब्याट, स्टम्प र ग्लोब्स बोकेर क्रिकेटको पिच धाउन थाले ।
दिल्लीमा पढाइ चलिरहँदा नेपालमा पनि क्रिकेटको क्रेज सुरु भइसकेको थियो । नेपाली क्रिकेट टोली एकपछि अर्को सफलताको सिँढी चढ्न थालेपछि उनी जन्मिएको सुनसरीको भोक्राहमा पनि क्रिकेटको क्रेज बढिसकेको थियो ।
गाउँमा सानातिना प्रतियोगिता हुन थालेको थियो । उनी स्कुल र कलेज छाडेर आफ्नो गाउँमा हुने क्रिकेट प्रतियोगितामा भाग लिन आउने जाने गरिरहन्थे ।
अफजलका दाइ जमिलले सम्झिए, दिल्लीमा हुँदा पनि क्रिकेट खेल्न विभिन्न क्लबमा जाने गर्थ्यो । गाउँमा हुँदा त नआउने कुरै थिएन । ऊ आइहाल्थ्यो ।
ओपनर व्याट्स म्यानको रूपमा क्रिकेट ग्राउन्ड छिर्ने अफजल खेलाडीको रूपमा विकेटकिपरको रूपमा सुनसरी र कोशी प्रदेशमा चर्चित रहे । उनी २०७६ देखि ४ वर्षसम्म सुनसरीको क्याप्टेन पनि भए । उनी नेतृत्वको टोली कोशी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा दोस्रो भयो ।
अफजलले भने, ‘खेलाडीको रूपमा प्रदेशस्तरीय गेमहरू खेले । तीमध्ये मेरो नेतृत्वमा एक पटक सुनसरी प्रदेशमा दोस्रो भएको थियो ।’
फिल्ड मासिएको पीडा
क्रिकेट खेलाडी हुँदा अफजल जेल इनरुवामा रहेको फिल्डमा क्रिकेट खेल्थे । जेल फिल्ड उनको होम ग्राउन्ड थियो । पिच नबने पनि प्रतियोगिता गर्न मिल्ने जेल फिल्डको एउटा ग्राउन्ड थियो, तर त्यहाँ कहिले फुटबल प्रतियोगिता हुन्थ्यो भने कहिले मेला र महोत्सव लाग्ने गर्थ्यो । २०७८ सालतिर सरकारले फिल्डको स्तरोउन्नति गर्न भनेर माटो भर्न थाल्यो ।
तर न माटो पुरेर सकियो न त फिल्ड नै तयार भयो । जुरमुराउन थालेको इनरुवा क्षेत्रको क्रिकेट पिचको अभावमा मर्ने अवस्थामा पुग्यो । अफजलले भने, ‘क्रिकेटको प्रतियोगिता त परै जाओस्, खेलाडीहरूले अभ्यास गर्नसम्म पाएनन् ।’
खेलाडीबाट बिदा लिएपछि आफैंले खेलेको क्रिकेट पिचमा अफजलकै नेतृत्वमा क्रिकेटको राष्ट्रिय प्रतियोगितासमेत भयो । मनमोहन कप जस्तो प्रतिष्ठित क्रिकेट प्रतियोगिता सम्पन्न भएको इनरुवाको जेल फिल्डमा नेपालमै पहिलो पटक रात्रिकालिन क्रिकेट प्रतियोगिता सम्पन्न भयो ।
ग्राउन्डमा अस्थायी लाइट हालेर रात्रिकालीन क्रिकेट प्रतियोगिता सम्पन्न गर्ने कामको नेतृत्व गरेका अफजलले रात्रिकालीन टी-टेन क्रिकेट प्रतियोगितासमेत सम्पन्न गरे ।
तर जेल फिल्ड मासिएपछि अफजलले आफ्नै जग्गामा क्रिकेट ग्राउन्ड बनाउने निधो गरे । उनले भने, ‘मलाई पहिला नै आफैं ग्राउन्ड बनाउने सोच थियो । दाजुहरूले मान्नुहुन्छ कि हुन्न भन्ने डर थियो, तर भाइको प्रस्तावलाई सबैले स्वीकार गरे ।’
बुवाको नाममा क्रिकेट ग्राउन्ड
क्रिकेट खेल्ने ग्राउन्डमा फुटबल प्रतियोगिता पनि हुन्थ्यो । पिच बिग्रिए पनि खेलकुद नै हो भनेर अफजलले पचाए । त्यही ग्राउन्डमा मेला र महोत्सव पनि लागिरहन्थ्यो । मेला महोत्सव लागेका बेला अभ्यास गर्न जानु त परको कुरा भित्र पस्नसमेत टिकट काट्नुपर्थ्यो कहिलेकाहीँ । उनले खेलाडीको पीडा देखेपछि दाजुहरूलाई भने, ‘बुवाको नाममा आफ्नै जग्गामा खेल मैदान बनाऔँ ।’
अफजलका जेठा दाजु जमिलले भने, ‘भाइको खेलप्रतिको जुनून र बुबाप्रतिको सम्मान देखेर हामीले जग्गा खेल मैदानका लागि दिने सहमति जनायौं । बुवा धर्म र जात र समुदायभन्दा माथि हुनुहुन्थ्यो ।’
उनले थपे, ‘खेल पनि धर्म, जात र समुदायभन्दा माथि भएकाले हामीले भाइको कुरा मान्यौं ।’
उनले डा. खलिल स्मृति प्रतिष्ठानको नाममा जग्गा राखेर क्रिकेट ग्राउन्ड बनाउन ४ विघा जग्गा दिएको बताए । ‘यो जग्गा अमूल्य हो’, उनले सुनाए, ‘अमूल्य जग्गा अमूल्य काममा दिएका छौं । भाइको सपना पूरा गर्न हामीले पैसाको हिसाब गरेनौं ।’
अफजलले भने सात करोड रुपैयाँ हाराहारीको जग्गा क्रिकेट ग्राउन्डका लागि परिवारले दिएको बताए । घरको पश्चिम ८ विघाको प्लट थियो । त्यही प्लटबाट ४ विघा क्रिकेटका लागि ग्राउन्ड छुट्ट्याएर पिच बनाउने काम गरेको उनले बनाए ।
पिच बनाउने र सम्याउने कामसमेत अफजल आफैंले गरेको क्रिकेट सङ्घ सुनसरीका अध्यक्ष सीपी पौडेलले बताए । उनका अनुसार पिच बनाउन २० लाख रुपैयाँ जति लगानी भएको छ ।
‘आफैंले बनाएको क्रिकेट ग्राउन्डमा अफजलले गत वर्षदेखि नै प्रतियोगितासमेत गराउँदै आएका छन्’,पौडेलले भने, ‘सरकारले गर्ने काम अफजलले गरिरहेका छन् ।’
अघिल्लो वर्ष सोही ग्राउन्डमा कोशी प्रिमियर लिगको आयोजना गरिएको थियो । यस्तै पीएम कप छनोट प्रतियोगितासमेत सोही ग्राउन्डमा भएको थियो । यस वर्ष भने कोशी प्रिमियर लिगको आयोजना हुँदैछ ।
अफजलले भने, ‘प्रतियोगिताका लागि स्पन्सरहरु आएका छन् । सरकारले पनि लगानी गरेको छ, तर पिच र ग्राउन्डका लागि हाम्रो परिवारको लगानी छ ।’
अन्तर्राष्ट्रिय खेलाडीले भरिएका क्लबहरु खेल्दै
फागुन ५ गतेदेखि सोही क्रिकेट ग्राउन्डमा कोशी प्रिमियर कप प्रतियोगिता हुँदैछ । नेपाल क्रिकेट संघ (क्यान)को अनुमति र सुनसरी जिल्ला क्रिकेट संघको प्राविधिक सहयोग तथा कोशी प्रिमियर लिग इभेन्ट्स मेनेजमेन्टको आयोजना प्रतियोगिता हुन लागेको हो ।
टी-ट्वान्टी फर्म्याटमा हुन लागेको प्रतियोगितामा पूर्वेली सुपर किंग्स विराटनगर, नमुना ब्लास्टर इटहरी, दुहबी क्यापिटल्स, बालनबिउल सप्तरी टाइगर्स, एनबीएससी लायन्स विराटनगर, इटहरी आदर्श जाइन्टस र भोक्राह नरसिंह अर्नाज गरी सात टीमले प्रतिस्पर्धा गर्नेछन् ।
पूर्वेली सुपर किंग्समा ललित राजवंशी, सन्दीप जोरा र अर्जुन साउदलगायतका खेलाडी समावेश छन् । नमुना ब्लास्टरमा कुशल भुर्तेल, कुशल मल्ल, नन्दन यादव रहेका छन् । दुहबी क्यापिटल्समा लोकेश बम, विनोद भण्डारी, विवेक यादव, साहब आलम र बसिर अहमद छन् ।
सप्तरी टाइगर्समा मयन यादव, रुपेश सिंह, शुभ कंसाकार, नरेन साउद र विपीन खत्री छन् । एनबीएससी लायन्समा दिलीप नाथ, कृतिक कामत र निरज मुखिया छन् । इटहरी आदर्श जाइन्ट्समा गुल्शन झा, आसिफ शेख, भीम सार्की, दीपेश कँडेल र रिजन कँडेल मुख्य खेलाडी रहेका छन् ।
भोक्राह नरसिंह अर्नाजमा अंकित सुवेदी, सुजन थपलिया, भुवन कार्की र हेमन्त धामी समावेश छन । प्रतियोगिता अवधिभर कुल २२ खेल हुनेछ । शीर्ष दुई टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
All the best Afjal sir.