घनश्यामको टिप्पणी- ओलीजी बालुवाटारमा हुनुहुन्छ, देउवाजी लाइनमा भएकै कारणले देश बन्दैछ रे ! (भिडिओ)


काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले देश बन्दैछ भनेर हल्ला चलाउन सत्ताधारीहरुको पल्टन लागेको टिप्पणी गरेका छन् ।
पार्टीको बागमती प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले यही गतिमा देशको अझै अँध्यारो यात्रा नै अघि बढिरहेको बताए ।
उनले भने, ‘अहिले आर्थिक स्थितिमा सुधार हुँदैछ र देश बन्दैछ भनेर बताउन एउटा सत्ताधारीहरुको पल्टन लागेको छ । त्यसमा नयाँनयाँ भनिएका जर्नेलहरु पनि पछाडि लागेर देश बन्दैछ भनेर हल्ला चलाउँदैछन्, देश बन्दैछ रे ! किनभने ओलीजी बालुवाटारमा हुनुहुन्छ । देश बन्दैछ रे, देउवाजी बालुवाटारको लाइनमा हुनुहुन्छ । त्योभन्दा अरु कुनै तर्क छैन ।!
महासचिव भुसालले अहिले सरकार बनेपछि रोजगारी सिर्जना र कुनै उद्योग पनि नबढेको बताए । देश अझै अप्ठेरो स्थितिमा फस्दै गरेको उनको बुझाइ छ ।
उनले एउटा अध्यादेशले कांग्रेस र एमालेको पसिना निकालेको भन्दै संविधान संशोधनको लागि छोएर पार लगाउन नसक्ने दाबी गरे ।