नाबालिकासहित माछा पोखरीमा हामफालेकी महिलाको उद्धार, शिशुको मृत्यु


विराटनगर । मोरङको बेलबारीमा नाबालिका छोरीसहित पोखरीमा हाम फालेकी महिलाको उद्धारभएको छ । महिलालाई उद्धार गरेर उपचारका लागि पठाइए पनि नाबालिकाको भने मृत्यु भएको छ ।
बेलबारी नगरपालिका–९ तीनखुटियाका गंगाराम यादवकी पत्नी प्रीति यादव पोखरीमा हाम फालेकी थिइन । ६ महिनाकी छोरी काव्या यादवसहित शुक्रबार साँझ ७ः३० बजेतिर माछा पोखरीमा हाम फालेकी यादवको उद्वार गरि उपचार भइरहेको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरीका निमित्त प्रवक्ता एवं इन्स्पेक्टर हेमराज ओलीका अनुसार प्रीतिले नाबालिका छोरीसहित घरदेखि करिब १ किलोमिटर उत्तरमा रहेको माछा पोखरीमा हामफालेकी हुन् ।
उक्त पोखरी स्थानीय पनैलाल चौधरीको हो । हामफालेको देखेपछि स्थानीयले पोखरीबाट उद्धार गरेर उपचारका लागि विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा पठाएका थिए ।
अस्पताल पुर्याउन साथ राति ८ः३० बजेतिर शिशुलाई भने चिकित्सकले मृत घोषित गरिदिएको इन्स्पेक्टर ओलीले बताए । उनका अनुसार आमाको पनि अवस्था गम्भीर छ । आईसीयूमा राखेर उपचार भइरहेको प्रहरीले जनाएको छ ।