मधेशका मुख्यमन्त्री सिंहद्वारा थप पाँच अस्पतालमा अनुगमन – Nepal Press

मधेशका मुख्यमन्त्री सिंहद्वारा थप पाँच अस्पतालमा अनुगमन

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सि‌ंहले जनकपुरधामस्थित थप पाँच निजी अस्पतालमा शुक्रबार साँझ अनुगमन गरेका छन् ।

अधिकांश अस्पताल मापदण्ड विपरित र दर्ता बेगर संचालनमा रहेको गुनासोपछि मुख्यमन्त्री सिंहले अस्पताल अनुगमनलाई निरन्तरता दिएका हुन् । अनुगमनमा मुख्यमन्त्रीसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंह पनि खटेका छन् ।

अनुगमनकाे क्रममा रेल्वे स्टेसनस्थित धनुषा अस्पताल र कदमचोकस्थित न्यूरो सेन्टर अस्पतालको नवीकरण नभएको पाइएको छ ।

मुख्यमन्त्री सिंहले दुबै अस्पतालका संचालकलाई कार्यरत कर्मचारीको तलबसम्बन्धी विवरण तथा गरीब, दलित र सीमान्तकृतलाई दिइएको छुट विवरण लिएर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार आउन अस्पताल सञ्चालकलाई भनेका छन् ।

यस्तै कदमचोकस्थित विनयतारा फाउन्डेसन क्यान्सर अस्पतालले पनि स्वास्थ्य सेवा सञ्चालन अनुमतिसम्बन्धी कागजपत्र देखाउन सकेनन् । तर, कागजात बाहिर रहेको भनेपछि आइतवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लिएर आउन भनिएको छ ।

अनुगमनमा मुरलीचोकस्थित जनकपुर न्युरो अस्पताल भने दर्ता रहेको र तुलनात्मक रूपमा व्यवस्थित रहेको पाइएको छ ।

भानुचोकस्थित जनकपुर सिटी हस्पिटलले स्वास्थ्य सेवा सञ्चालन अनुमति प्राप्त गरेको तर नवीकरण नगराएको पाइएको छ । ५० बेडको यो अस्पताललाई त्यहाँ कार्यरत कर्मचारीलाई दिइने तलब विवरण, कानुनअनुसार गरीब, दलित तथा सीमान्तकृतलाई छुट दिएको विवरण लिएर आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आउन सञ्चालकलाई निर्देशन दिए ।

यसअघि मुख्यमन्त्री सिंहले जनकपुरधामका २६ वटा निजी अस्पतालको अनुगमन गरिसकेका छन् । जसमध्ये मापदण्ड विपरित र दर्ता नरहेको पाँच अस्पताललाई बन्द गराइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *