दुःखी आत्मा- यौनजन्य विषयवस्तुमा दर्शक हँसाउने प्रयास – Nepal Press
चलचित्र समीक्षा

दुःखी आत्मा- यौनजन्य विषयवस्तुमा दर्शक हँसाउने प्रयास

कविता लेखनमै भविष्य खोजिरहेको एक कवि छ छेवाङ लामा(दयाहाङ राई) । ऊ साम्राज्यवादको विरोध गर्छ, अमेरिकाविरुद्ध कविता लेख्छ । पूँजीवादको विरोध गर्छ । कफी पिउँदैन । मजदुरहरुको पक्षमा बोल्छ । सीमान्तमा रहेका, उत्पिडनमा बाँचेका मानिसहरुको पक्षमा चर्को कविता लेख्छ ।

कविता लेखनमा तिखो कलम चलाउने ऊ यौनको मामलमा भुत्ते छ । यौन दुर्बलता लिएर बाँचिरहेको छ । यौन दुर्बलताकै कारण हीनताबोधले ग्रस्त छ । आफ्नो समस्या न साथीभाइलाई सुनाउन सक्छ न त घर परिवारलाई । कसैले चुइँक्क मेसो मात्रै पायो भने ‘नामर्द’को ट्याग लाग्छ भन्ने भय छ उसलाई । समाजमा ‘नामर्द’ को ट्याग भरिमाग्नु भनेको मर्नु सरह हो भन्ने चिन्तनले ग्रस्त छ ऊ ।

लेखनमा प्रगतिशील भए पनि व्यवहारमा पुरातन सोच भएको पुरुष हो छेवाङ । उसले आफ्नो समस्या कसैलाई भन्न सकेको छैन । ऊ भित्रभित्रै मानसिक रुपमा बिरामी हुँदै गएको छ ।

यौन दुर्बलताकै कारण प्रेमिकासँग शारीरिक सम्बन्ध राख्न सक्दैन । त्यसैले प्रेमिकाले छाडेर गइ । त्यही दुर्बलताकैबीच नयाँ युवती अनामिका (आँचल शर्मा)सँग उसको भेट हुन्छ । प्रेम झांगिएर बिछ्यौनासम्म पुग्छ । के यहाँ पनि उही पुरानै कथा दोहोरिन्छ कि नयाँ शीराबाट प्रेमकथा अगाडि बढ्छ त ? ‘दुःखी आत्मा’को कथा यही प्रश्नको उत्तर दिँदै अगाडि बढेको छ ।

नाम ‘दुःखी आत्मा’ भए पनि कथालाई हाँस्यप्रधान बनाउन खोजिएको छ । दर्शकहरु हाँस्छन् पनि । तर, हाँस्यरसका कारण होइन, यौनजन्य र द्वीअर्थि संवादहरुका कारण हाँस्छन् । छेवाङले ‘समस्या भएकाले उपचार गर्न आएको’ भन्ने संवाद बोल्दा पनि दर्शक हाँस्छन् ।

यौन आशयका गतिविधि र दृश्यहरु बग्रेल्ति छन्, जहाँ कमेडीको ‘क’ पनि  छैन् । यौन मिसिएको सामान्य दृश्यमा, सामान्य संवादमा पनि दर्शक किन हाँस्छन् त ? यो चलचित्र नेपाली समाजको कुण्ठित यौन मनोविज्ञान यसको कारण हुन सक्छ ।

संसारभर सबैभन्दा बढी चासो गरिने, तर खुला बहस नगरिने विषय यौन हो । नेपाली समाज त यौनको विषयमा धेरै नै रुढिग्रस्त छ । यहाँ जबरजस्ती यौन स्वास्थ्यलाई दबाइन्छ । नेपाली समाजको त्यही प्रवृत्तिको प्रतिनिधि पात्र हो, छेवाङ । ऊ यौन दुर्बलता हटाउन ठगी उद्देश्यले खोलिएका क्लिनिकहरुमा पुग्छ । धामी झाँक्रीको शरणमा पुग्छ । भ्रामक बुटीहरुको प्रयोग गर्नुपर्ने अवस्थामा पुग्छ । शक्ति तेल नामक अप्रमाणित र अस्वास्थ्य औषधिहरुको शरणमा पुग्छ ।

सँगै साहित्य क्षेत्रका विकृतिहरुलाई पनि चलचित्रमा उजागर गर्न कोसिस गरिएको छ । पैसाका लागि अरुको नाममा कविता लेख्न विवश हुन्छ छेवाङ । सृजनालाई होइन, आफ्नालाई पुस्कार बाँडिने विकृतिलाई छुन खोजिएको छ ।

सत्ता र शक्तिमा बसेर अरुको शोषण गर्न उद्दत हुनेले नै मुक्ति, स्वतन्त्रता र न्यायको वकालत गर्ने प्रवृत्तिलाई चन्द्र मोक्तानमार्फत् देखाएका छन् । चन्द्र मोक्तान तिनै हुन्, जो पैसाको तुजुक देखाएर छेवाङहरुको सृजना किन्ने दुस्साहस गर्छ । जो आफ्नै गलैंचा फ्याक्ट्रीका मजदुरको श्रम शोषण गर्छ, अनि न्यायका खातिर लेखिएको कविता किनेर आफ्नो नाममा किताब छाप्छ ।

गम्भीर मुद्दाहरु उठाउँदै कथालाई अगाडि बढाइएको ‘दुःखी आत्मा’मा दयाहाङको अभिनय उनका अघिल्ला चलचित्रमा भन्दा अलिकति फरक स्वादको छ । आँचल शर्माको अभिनय पनि ठिकै छ, पात्रलाई न्याय गरेकी छन् । प्रशंसालायक अभिनय चाहीँ अनुपविक्रम शाहीको छ । नेपाली समाजको असली प्रतिनिधिको रुपमा अनुपविक्रमले पात्रमार्फत् न्याय गरेका छन् । बाँकी फिलरको रुपमा प्रयोग गरिएका कलाकारहरुले ठिकठाक अभिनय गरेका छन् ।

ट्रेलर, टिजर सार्वजनिक भएपछि चलचित्रमाथि अनेक खाले पतिक्रिया आएका थिए । यौनिक आशयका संवादहरु चर्चित र विवादित बनेका थिए । ट्रेलर र टिजर हेरेर दर्शकले जे जस्तो लख काटे पनि दुई घण्टा १९ मिनेट लामो चलचित्रले यौन स्वास्थ्यमाथि बहसको आवश्यकतामा जोड दिएको छ । वैज्ञानिक उपचार विधि अपनाए यौन दुर्बलता पुनर्जन्मको पाप नभएर सामान्य समस्या मात्रै हो भन्ने दाबी पेश गरेको छ ।

चलचित्रको कथावाचनमा नयाँपन भने छैन । औसत नेपाली चलचित्र जसरी खिचिन्छ, त्यसरी नै क्यामेरा चलाइएको छ । ब्याकग्राउण्ड संगीत थोरै लाउड छ, तर पात्रको मुड र दृश्यअनुसार प्रयोग गरिएकाले ठिकै लाग्छ ।

भक्तपुरको दरबार स्क्वायरतिर दयाहाङलाई नजानी नजानी नचाइएकोे गीत चलचित्रमा जबरजस्ती घुसाइएको छ । घाँटीमा न्याक्दै लगेर जबरजस्ती नाच्न लगाएको जस्तो लाग्ने कोरियोग्राफी भएको ‘जुनी जुनी भरिलाई’ बोलको गीतले कथालाई कुनै सहयोग गरेको छैन ।

अति हतारमा अनामिका र छेवाङको लभ पारिएको छ । ब्रेकअपको रनाहमा भएकी अनामिकाको कवितासँग कुनै साइनो हुँदैन÷देखाइएको छैन । तर, अचानक ऊ छेवाङको कविताको फ्यान हुन्छे । यी दुईको प्रेम सम्बन्ध स्थापित गराउन तर्कसंगत परिस्थिति निर्माण गर्न सकिएको छैन ।

सरसर्ती हेर्दा यौनको बाटो समातेर निर्माण गरिएको ‘व्यवसायिक’ चलचित्र हो ‘दुःखी आत्मा’ । बिक्ने विषय छनोट गरेर निर्देशक लामाले यौन स्वास्थ्यको हवाला दिँदै चलचित्रलाई चलाखीपूर्ण अवतरण गराएका छन् ।

चलचित्रमा कवि श्रवण मुकारुङका १० वटा कविता छन् । तपाईं मुकारुङको कविताको नियमित पाठक हुनुहुन्छ भने चलचित्रका कविता ठिकठकै मात्रै लाग्न सक्छ । यद्यपि पात्रको मुड र परिस्थितिअनुसार कवितालाई प्रयोग गरिएकाले दर्शकलाई बोर नलाग्न सक्छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *