वडाध्यक्ष भूपालसिंहः २५ वर्षअघि प्रधानपञ्च हराए, ०७९ मा आफ्नै पार्टी सभापतिलाई पन्छाए – Nepal Press

वडाध्यक्ष भूपालसिंहः २५ वर्षअघि प्रधानपञ्च हराए, ०७९ मा आफ्नै पार्टी सभापतिलाई पन्छाए

हलेसी तुवाचुङ नगरपालिका– ३ च्यास्मिटार, खोटाङ । २०७४ सालको स्थानीय निर्वाचनमा वडाध्यक्षको मत परिणाम यस्तो थियो– भलाराज राई ४२९, भूपालसिं राई ४१९ । २०७९ सालको स्थानीय निर्वाचनमा वडाध्यक्षको मत परिणाम– महेश अधिकारी ५५०, भूपाल सिंह राई ५६७ । यो मत परिणामको रोचक संयोग के छ भने कुनै समय यी तीनैजना उम्मेदवार कांग्रेस थिए ।

१६८० मतदाता रहेको च्यास्मिटारमा वर्तमान वडाध्यक्ष पंचायतकालदेखिका कांग्रेस हुन् भूपाल । २०७४ सालको स्थानीय निर्वाचनमा उनै भूपाललाई हराउने भलाराज १२ वर्षसम्म कांग्रेसको च्यास्मिटार गाविस सभापति थिए । स्थानीय निर्वाचनमा भूपाललाई पार्टीले टिकट दिएपछि उनी एमाले बने, चुनाव लडे, जिते पनि ।

२०७९ मा पनि त्यही प्रकरण दोहोरियो । कांग्रेसको च्यास्मिटार वडा सभापति महेश एमालेमा प्रवेश गरे, भूपालसँग भिडे, १७ मतले पराजित भए । भूपालसिंह ३० वर्षपछि जनताबाट पुनः अनुमोदित भए ।

जनताले भलाराज, महेस वा भूपाललाई दिएका मतहरु कति विवेकसम्मत थिए, त्यो अर्कै पाटो भयो । कति मतलाई हल्लाले असर गरेको थियो, कति मतलाई तानागोता, इष्टमित्र भएकाले असर गरेको थियो, त्यसमाथि छुट्टै समीक्षा हुनसक्छ । किनभने ती मतहरु आफन्तहरुबीचको मत पनि हो ।

अर्कातिर जित्ने/हार्ने दुवै उम्मेदवारले पाएको मत राजनीतिक विचारको पक्षमा दिइएको मत पनि हो । वल्लो घर र पल्लो घरबीचको वैचारिक मतभेदको मत पनि हो । ती मतमा वृद्ध भत्ता दिलाउन सहयोग गरेको गुण तिरिएको हुनसक्छ । ती मतमा नागरिकता बनाउँदा पाएको सहयोगको गुण तिरिएको हुनसक्छ । गाउँको चुनाव र राजनीति यस्तै यस्तै स–साना कुराले त असर गर्ने हो ।

तीन दशकदेखि जनताद्वारा निरन्तर अनुमोदित

गएको दुई स्थानीय निर्वाचनमा भूपालले सामना गरेको महासंकट एउटै थियो– आफैंले बनाएको पार्टी सभापति अन्तिम समयमा एमालेमा प्रवेश गरेर आफैं विरुद्ध लडिदिनु । त्यो महासंकटलाई २०७४ मा टार्न सकेनन् । २०७९ मा भने भूपालको महासंकट टर्यो । वडाअध्यक्षमा निर्वाचित भए । जनताले उनैलाई चाहिँ किन अनुमोदित गरे त ?

भूपालसिंहको स्पष्ट जवाफ छ, ‘म २०४९ सालदेखि अहिलेसम्म ३०/३२ वर्षमा निरन्तर जनतामाझ रहेँ । गाउँ छाडेर कतै भासिइनँ । गाउँमा समस्या आइपर्दा सधैं अग्रभागमा रहेर काम गरेँ । त्यसैको परिणाम हो ।’

आजभन्दा ३२ वर्षअघि २०४९ सालमा च्यास्मिटार गाविसमा उपाध्यक्ष निर्वाचित भएका थिए, भूपाल । अध्यक्षमा निर्वाचित भएका थिए देवेन्द्र राई । २०५४ सालको स्थानीय निर्वाचनमा त साविकको च्यास्मिटार गाविसको अध्यक्ष नै निर्वाचित भए । पंचायतकालभरि २४ वर्ष प्रधानपन्च बनेर शासन नै चलाएका दानबहादुर राईलाई पराजित गरे ।

अढाइ दशकसम्म प्रधानपन्च भएको व्यक्तिलाई पराजित गर्नुको कारण खुलाउँछन् भूपाल, ‘त्यो वेला मसँग एउटै कुरा थियो, त्यो हो जनताको साथ र विश्वास । त्यही साथ र विश्वासको आधारमा उहाँलाई पराजित गरेको थिएँ ।’

२०३६ सालमा बहुदलको पक्षमा खसेको त्यो दुईचार मत

भूपाल सात वर्षको हुँदा २०२४ सालबाट दानबहादुरले च्यास्मिटारमा पंचायती शासनको बागडोर सम्हाले । जति जति भूपाल हुर्कँदै गए, दानबहादुर निरन्तर निर्वाचित हुँदै गए ।

‘शासन कस्तो थियो भने प्रधानपन्चले बोलेपछि सक्किन्थ्यो, लालमोहर जस्तै हुन्थ्यो’, भूपाल दानबहादुरको प्रधानपन्चकाल सम्झिन्छन्, ‘समय कस्तो थियो भने धर्मको नाममा ‘ध’ उठ्नु पाउँथेन । पार्टीको नाममा ‘प’ उच्चारण गर्न मिल्दैनथ्यो । उहाँको शासन एकदमै डेन्जर थियो ।’

त्यसवेला पश्चिम खोटाङका हलेसी, दुर्छिम, बडहरे, मंगलटार, च्यास्मिटार, डिबुवा र बाहुनीडाँडाका प्रधानपन्चमध्ये सबैभन्दा नाम चलेको प्रधानपन्च उनै दानबहादुर थिए ।

भूपाल नोस्टालजिक हुन्छन्, ‘जंगबहादुरको पनि घोडा थियो, उहाँको पनि घोडा थियो । त्यो घोडा चढेर घरबाट निस्किए भन्ने खबर फैलिएपछि गाउँभरि एउटा मुसा पनि चल्थेन । के आपत् आइलाग्ला भनेर मान्छेहरु घरमा ताल्चा ठोकेर बाहिर जान्थे ।’

भूपालको स्मृतिमा अहिले पनि तजोताजा छ– गाउँमा राजाको जन्मोत्सव वडो रवाफसहित मनाइन्थ्यो । प्रधानपन्च तक्मा लगाएर, घोडा चढेर गाउँ उक्लन्थे । जुलुस हुन्थ्यो । उक्त जुलुस आमसभामा परिणत हुन्थ्यो । त्यहाँ अलिकति छिसिक्क कसैले ‘बहुदल’को ‘ब’मात्रै उच्चारण गरे प्रहरीले पक्रिहाल्थ्यो ।

भूपाललाई लाग्छ, त्यसवेला प्रधानपन्चको राग नै अलग थियो ।

गाउँमा कसैले केही काम बिगार्यो भने सक्किन्थ्यो । मौखिक उजुर गरेपछि टिपन टिपिन्थ्यो । भोलिपल्ट छलफल हुन्थ्यो । फैसला प्रधानपन्चको हातमा हुन्थ्यो । फैसला प्रधानपन्चको मुखमा हुन्थ्यो ।

‘गाउँ पन्चायतको घर छाउनलाई आठ भारी खर भनेपछि सक्किन्थ्यो । आठ भारी भनेपछि छ भारी पनि होइन, १० भारी पनि होइन । आफ्नो चाहिँ घर चुहिएर हैरान हुन्थ्यो’, भूपाल सुनाउँछन् ।

भूपालले २०३६ सालको जनमतसंग्रहमा बहुदलको पक्षमा भोट दिए । यद्यपि गाउँबाट ९५ प्रतिशत मत निर्दलको पक्षमा थयो । गाउँमा भूपाल, देवेन्द्र लगायत एकाँध मात्रै बहदुलको पक्षधर थिए ।

‘प्रचानपन्चले ‘कुरा बुझ्यौ हैन ?’, भनेर सोध्थे । गाउँलेहरु ‘बुझ्यौं हजुर, पहेँलोमा छाप हाल्ने हजुर’ भन्थे । ‘भोलि छुट्यो भने हामीले हेरिराखेका हुन्छौं नि’ भनेर भन्दिएपछि सक्किन्थ्यो । छाप हाल्दा हेरिरहेका पो छन् कि भनेर डरले पनि निर्दलमा मत हाले’, भूपाल सुनाउँछन् ।

एकातिर दानबहादुरको शासन झेलिरहेका थिए, अर्कातिर वामपन्थी विचार बोकेका मान्छेहरुसँगको संगत । ती मान्छेहरुको संगतले कम्युनिस्ट हुने तरखरमा थिए भूपाल । त्यहीवेला हलेसी भेगका कांग्रेसीहरु भेषबहादुर अधिकारी, धनबहादुर कार्की, धनहरि राईहरुले उनलाई कांग्रेस हुन जोडबल गरे । धनबहादुर त पंचायकालमा जेलसमेत बसेका स्थानीय नेता थिए । अनि बहुदल पुनस्र्थापनाको संघारमा आधिकारिक रुपमा कांग्रेस बने ।

नौ दिनको बाटोमा २ रुपैयाँ धार्नी भारी

भूपालसिंह ढाकर सँगसँगै हुर्किए । उदयपुरको कटारीबाट सोलुको नेले, सल्लेरी, दोर्पुतिर नौ दिनसम्म निरन्तर हिँडेर भारी पुर्याए । उनले दुई रुपैयाँ धार्नी भारी बोके । साढे दुई किलोलाई एक धार्नी भनिन्थ्यो ।

च्यास्मिटारबाट राजाबास, यारी खोला, निबुवाटार, सोरुङ खोला हुँदै भान्टाबारी, बोबोला हुँदै कटारी पुगेर भारी बोकेर फर्केर च्यास्मिटार हुँदै ओखलढुंगा, सोलुतिर जानुपथ्र्यो ।

‘कहिले त भारी खोज्नै चारपाँच दिन लाग्थ्यो, कटारी पुग्नसाथ भारी पाइँदैनथ्यो । घरबाट हिँड्दा साइत मिलाएर जानुपथ्र्यो । रित्तो डोकाहरु भेटिएमा भारी पाइँदैन भन्ने अन्धविश्वास थियो’, भूपाल सम्झिन्छन्, ‘डम्बरेको बाउ नाइके थिए । नाइकेलाई साहुजीले भारीको जिम्मा दिन्थ्यो । कहिलेकाहीँ भारी १२ जनालाई मात्रै छ, भरियाहरु भने १७ जना छ भने पाँचजनाले भारी पाउँथेन । छुट्ने पाँचजनामा कहिलेकाहीँ भारीको चामल झिकेर खाने, बिसाएको ठाउँमा झगडा गर्नेहरु पर्थे, इमानदारीहरुले भारी बोक्न पाउँथे ।’

त्यो समय च्यास्मिटार भेगकै गुजारा भारी बोकेर चल्थ्यो । भूपालका अनुसार वर्षमा दुई तीनपटक मात्रै मासु खान पाइन्थ्यो । गाउँमा मासु पनि हुन्थेन, पैसा पनि हुन्थेन । दुई रुपैयाँ धार्नीको मासु खाएको सम्झना छ भूपाललाई । अहिले त दुई रुपैयाँको नोट नै भेट्न मुस्किल पर्छ ।

मासुको भाउ बढ्दै गयो । हेदौहेर्दै किलोकै दुई रुपैयाँ पर्न थाल्यो । भारी बोक्दाताका भूपालहरु चारजना मिलेर एक हिकलो मासु खान्थे ।

‘एक धार्नी भारीको ज्यालाले एक किलो मासु आउँथ्यो । चारजनाले खाँदा मनग्गे रस पथ्र्यो’, भूपाल सुनाउँछन्, ‘आठ रुपैयाँ पाथी थियो चामल । एक पाथी चामलले नौ दिनमा दोर्पु, सल्लेरी पुगिन्थ्यो । एक पाथी चामल चार धार्नी हुन्थ्यो । २० धार्नी बोकेको छ भने चार धार्नी घटेर १६ धार्नीको हिसाब बाँकी रहन्थ्यो । बीचमा मासु, तेल, नास्ता खानैपर्यो । २०/२५ रुपैयाँ बच्थ्यो ।’

भूपालले ं२०३२ सालदेखि भारी बोके । ४५ किलोदेखि ६० किलोसम्म बोके । जति भारी बोके पनि सिंगै गाउँ भने फागुन चैतदेखि नै अनिकालमा गुज्रन्थ्यो । त्यसको एकै कारण अशिक्षा लाग्छ भूपाललाई ।

मकै फागुन चैतमै छर्थे । जताततै छर्थे । एउटा खाली जग्गा पनि छाड्दैनथे । र पनि गाउँ अनिकालमा गुज्रन्थ्यो ।

अहिले त मकै बैसाख दोस्रो सातादेखि जेठको पहिलो सातासम्म छर्छन् । असार १५ देखि मनसुनी वर्षा सुरु हुन्छ, मकैलाई ठिक्क हुन्छ । तर, फागुन चैततिर छरेको मकैलाई असार १५ सम्ममा मनसुनी वर्षा भएन भने खडेरीले चरप्पै पाथ्र्यो । वस्तुभाउ पनि धेरै नै हुन्थे । वस्तुभाउ भएर के गर्नु ! सिंगो गाउँ नै भारी बोक्न गएपछि ।

भूपाल सम्झन्छन्, ‘सय घरमा मुस्किलले १८/२० घरमा मात्रै वर्षभरिलाई मकै खान पुग्थ्यो । बाँकी सबै घर अनिकालले थला पर्थे ।’

अनि दानबहादुर च्यास्मिटारको पहिलो कांग्रेस बने

२०४६ सालमा बहुदल आयो । बहुदल आएपछि पल्लो गाविस दुर्छिम, चुमाखुका गणेश राईहरुले गाउँमा चहलपहल देखाउन थाले । उनीहरु वामपन्थी थिए ।

प्रधानपन्च दानबहादुरले गाउँ छाडे । उदयपुरको ग्यार्खे भन्ज्याङ काटेर गए । वरिवरि कुनै पनि गाविसका प्रधानपन्चहरुले गाउँ छाडेर जानु परेन । दानबहादुरले चाहिँ छाड्नुपर्ने अवस्था आउनुको पछाडि गाउँमा अत्यन्त दबाब दिएर शासन गरेका थिए कि लाग्छ भूपाललाई ।

ग्यार्खे भन्ज्याङ हुँदै दिक्तेल लफ्याङ पुगेर खोटाङ कांग्रेसका तत्कालीन नेता सर्वधन राईको शरणमा पुगे । गाउँमा एमालेले बसिखान नदिएको बताए ।

भूपाल सुनाउँछन्, ‘यसपछि ल ठिक छ, चिठी लेखिदिन्छु । चिठी लिएर ओखलढुंगा मलीको बलबहादुर राईलाई भेट्नु । चिठी लिएर तेस्रो दिन उहाँ मली पुग्नुभयो । बलबहादुर राईले भन्नुभएछ, गाउँमा गएर अमसभाको तयारी गर्नु, हामी यताबाट आउँछौं ।’

बलबहादुर कांग्रेस पार्टीकै ठूला नेतामध्ये एक थिए । गाउँमा बलबहादुर, गोपाल राई घोडामा आए । गाउँमा ठूलो भेला भयो । भेलामा दानबहादुरले कांग्रेसको झण्डा समाए । च्यास्मिटारबाट आधिकारिक रुपमा कांग्रेसको सदस्यता रसिद काट्ने पहिलो व्यक्ति उनै दानबहादुर बने ।

चुनावमा हार–जीत भइहाल्छ

पछि २०५४ सालमा टिकट नपाएपछि दानबहादुर राप्रपा भए । उनलाई भूपालले हराए ।

भूपाल सम्झिन्छन्, ‘गाविस अध्यक्ष त म भइहालेँ । साविकको नौवटा वडाको अध्यक्ष पनि निर्वाचित हुन्थे । मसँगको हारले उहाँलाई ठूलो आघात परेछ । स्थानीय निर्देशिकामा दुईवटा वडाअध्यक्ष मनोनीत गर्न पाइने प्रावधान थियो । त्यसमा उहाँले रहर देखाउनुभयो । पहिलो कांग्रेस हो, चुनाव पनि हारे भनेर मैले उहाँलाई मनोनीत गरेँ ।’

यसपछि स्थानीय चुनाव भएन । २०६१ सालमा राजा ज्ञानेन्द्रले कू गरे । २०६२/६३ .को दोस्रो जनआन्दोलन भयो । राजतन्त्र हट्यो । नयाँ संविधान जारी भयो । मुलुक संघीयतामा गयो । र २० वर्षपछि गाउँमा चुनावको माहौल आयो २०७४ सालमा ।

भलाराजसँग भूपाल १० मतान्तरले हारे । २०७९ मा १७ मतान्तरले जिते । गएको निर्वाचनमा ३७/३८ वटा एक छापे मत समेत पाए । मेयर, उपमेयर र वडा सदस्यहरुमा एमालेलाई, वडाध्यक्षमा कांग्रेसलाई छाप हानिएको थियो । भूपाल सुनाउँछन्, ‘यसको मतलव के हो भने मप्रति जनताको विश्वास अझंैं रहेछ । मप्रति जनताको आशा र अपेक्षा अझैं रहेछ ।’

०००


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर