खेलकुदले देशलाई चिनाइरहेको छ : मुख्यमन्त्री कँडेल


सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले खेलकुदको माध्यमबाट खेलाडीले देशलाई चिनाइरहेको बताएका छन् ।
१६ औं सुर्खेत जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले खेलाडीहरूले सीमित स्रोत र साधनबीच समेत उत्कृष्ट प्रदर्शन गरी अन्तर्राष्ट्रियस्तरमा देशको पहिचान बनाएको बताएका हुन्।
विद्यालय तहबाटै खेलकुद प्रवर्द्धन गर्न सके असल नागरिक निर्माणमा खेलकुदको ठूलो भूमिका रहने उनको भनाइ थियो।
उनले खेल क्षेत्रलगायत अन्य क्षेत्रको विकासका लागि जनतादेखि राजनीतिक दलसम्मको एकता आवश्यक रहेको बताए। कार्यक्रममा सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, प्रदेश सभा सदस्य खड्गबहादुर पोखरेल, विभिन्न स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूको उपस्थिति रहेको थियो ।
प्रतियोगिताको उद्घाटन समारोहमा सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले कर्णालीका खेलाडीहरूको सुरक्षा सुनिश्चित गर्न प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि सबै खेलाडीको बीमा गरिदिने घोषणा गरेका छन् ।
खेलकुद क्षेत्रको विकासका लागि सरकारले निरन्तर पहल गरिरहेको उल्लेख गर्दै उनले दशौं राष्ट्रिय खेलकुद आयोजना गर्न आवश्यक बजेट व्यवस्थापनका लागि खेलकुद मन्त्रालय र अर्थ मन्त्रालयले छलफल अघि बढाइसकेको जानकारी दिए ।
सुर्खेत जिल्लाका सबै पालिकाहरूको सहभागिता रहेको सो प्रतियोगिता जिल्ला खेलकुद समिति सुर्खेतको आयोजनामा सिम्ता गाउँपालिकामा सुरु भएको हो ।