जनताले फेरि प्रचण्ड र माओवादी मन पराउन थालेका छन् : वर्षमान पुन – Nepal Press

जनताले फेरि प्रचण्ड र माओवादी मन पराउन थालेका छन् : वर्षमान पुन

भोजपुर । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले राष्ट्रिय राजनीतिमा समकालीन नेताहरुमध्ये आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनेताको हैसियत बनाएको दाबी गरेका छन् ।

माओवादी केन्द्र भोजपुर नगर कमिटीको दोश्रो अधिवेशन तथा खबरदारी सभालाई शुक्रबार सम्बोधन गर्दै पुनले मुलुक परिवर्तनमा खेलेको भूमिका र नेतृत्व क्षमताका आधारमा प्रचण्ड राजनेता भएको बताए ।

१८ महिना सरकारको नेतृत्व गर्दा भ्रष्टाचार र राज्य दोहनविरुद्ध उभ्याएका कारण सरकारबाट बाहिरनु परेको भन्दै उनले प्रतिपक्षमा आएपछि प्रचण्ड र पार्टीको लोकप्रियता बढेको दाबी गरे । आफूहरुले दलाल तथा बिचौलिया वर्गसँग लड्न र राज्य दोहन तथा भ्रष्टाचारविरुद्ध उभिन थालेपछि आमजनताले फेरि प्रचण्ड र माओवादी मन पराउन थालेको दाबी पनि पुनले गरे ।

व्यवस्थामा देखिएका सीमा र विकृतिमाथि प्रहार गर्दै आफूहरुले समाजवादतर्फको यात्रा थालेको भन्दै पुनले किसान, मजदुर, देशभक्त र समाजवादी कार्यदिशा बोक्नेसँग मिलेर ०८४ को निर्वाचनमा संघ, प्रदेश र स्थानीय निर्वाचन एक्लै लड्ने दोहोर्याए ।

प्रचण्डको नेतृत्वमा ०८४ को निर्वाचनमा पार्टीलाई राष्ट्रिय शक्तिका रुमपा स्थापित गरी समाजवादको आधार तयार पार्ने दाबी पुनले गरे ।

उनले प्रचण्ड वरिपरि हजारौं नेतृत्वको पंक्ति तयार पार्ने भन्दै प्रचण्डले आफू आजीवन नेतृत्वमा रहन्छु नभनेको तर्क गरे । पार्टीको विधान अधिवेशनले कार्यकर्ताको मतबाट नेतृत्वको टिम तयार पार्ने विधि स्पष्ट गरिसकेको पुनले उल्लेख गरे ।

विगतमा राजतन्त्रको पक्षमा रहेका काँग्रेस र एमाले गणतन्त्रवादी शक्ति हाबी भएपछि आफूहरुतिर आएको तर, समय क्रममा क्रान्तिकारी आन्दोलन केही कमजोर भएपछि माओवादी आन्दोलनलाई हिंसा भन्दै संघीयता र समावेशीताको विरुद्ध उभिन थालेको आरोप उनले लगाए ।

१२ बुँदे समझदारीबाट सुरु भएको काँग्रेस एमालेसँगको राजनीतिक समझदारीको यात्रा संविधान बनाउँदासम्म रहे पनि संविधान कार्यान्वयनका क्रममा बाटो फरक परेको तर्क उनको छ ।

संविधान कार्यान्वयन गर्दै नयाँ सामाजिक र आर्थिक आधार तयार पार्ने कुरामा काँग्रेस र एमालेसँग आफूहरुको बाटो फरक भएको पुनको भनाइ थियो ।

‘हामी सुशासन र सामाजिक न्यायको पक्षमा उभियौं । राज्य व्यवस्था बिचौलिया र दलालले होइन । दलहरुले चलाउने हो भन्यौं । हामी शोषित उत्पीडिततिर फर्कन खोज्ने उहाँहरु दलाल र बिचौलियातिर फर्कने भएपछि हाम्रो बाटो फरक भयो’ पुनले भने । उत्पीडित समुदायको हितमा उभिएपछि र दलाल र पुँजीपति वर्षसँग फरक परेपछि माओवादी सरकार छाडेर बाहिर आउने परिस्थिति बनेको दाबी उनको छ ।

फरक प्रसंगमा पुनले विचारको संकटका कारण विश्व राजनीतिमा अन्धराष्ट्रवादी लोकप्रियतावाद, धार्मिक राष्ट्रवाद र जातिवादजस्ता लोकप्रियतावादीहरु हाबी हुन खोजेको बताए ।

नेपालमा पनि विचार, राजनीति, दृष्टिकोण, वर्ग, नीति, विधि र कार्यशैलीबिनाको लोकप्रियतावादी हावा चलेको पुनले उल्लेख गरे ।

 


प्रतिक्रिया

One thought on “जनताले फेरि प्रचण्ड र माओवादी मन पराउन थालेका छन् : वर्षमान पुन

  1. सरकारमा भएका बेला लुटेका पैसाले पालेकाहरूले मन पराउने हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर