यी ३ काम गरेर लाइसेन्स समस्या समाधान गर्ने महानिर्देशकको योजना – Nepal Press

यी ३ काम गरेर लाइसेन्स समस्या समाधान गर्ने महानिर्देशकको योजना

काठमाडौं । लामो समयदेखि नयाँ लाइसेन्स प्रिन्ट गरेर दिन नसकेको यातायात व्यवस्था विभागले ३ वटा काम गरेर लाइसेन्स वितरणको समस्या समाधान गर्ने बताएको छ ।

आज भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले मन्त्रालयमा गरेको पत्रकार सम्मेलनमा बोल्दै विभागका महानिर्देशक राजिव पोखरेलले सो कुरा बताएका हुन् ।

उनले भने, ‘लामो समयदेखि नयाँ लाइसेन्स प्रिन्ट गरेर माग अनुसार दिन सकिएको छैन । यो समस्याको समाधान गर्ने गरी विभागले काम गरिरहेको छ । मुख्य ३ वटा काम गरेपछि लाइसेन्सको समस्या समाधान हुन्छ । प्रत्येक प्रदेशलाई क्युआरसहितको लाइसेन्स प्रिन्ट गर्न व्यवस्था मिलाउने, नागरिक एपको प्रयोग लाइसेन्स देखाउने र अति आवश्यक परेकाहरुलाई तत्काल नै नयाँ स्मार्ट लाइसेन्स प्रिन्ट गरेर दिने गरेपछि समस्या समाधान हुने छ । अति आवश्यक लाइसेन्स अहिले विभागले प्रिन्ट गरेर दिइरहेको छ । अन्य बाँकी २ वटा काम गर्नसाथ लाइसेन्स वितरणको समस्या समाधान हुन्छ ।’

लाइसेन्स छपाईको काम विभागको नभए पनि विभागले गर्दै आएकाले पोखरेलले बताए । अहिलेसम्म छाप्न बाँकी रहेको लाइसेन्स विभागले छाप्ने र नयाँ लाइसेन्स प्रदेशबाट छाप्ने गरियो भने पनि लाइसेन्स वितरण सहज हुने छ । त्यसका लागि विभागले काम गरिरहेको उनले बताए ।

विभागले हालसम्म साढे ३८ लाख लाइसेन्स छपाइ गरेर वितरण गरेको छ । अझै ३० लाख सवारी चालक स्मार्ट लाइसेन्सको छाप्न बाँकी रहेको छ । देशभरबाट दिनमा करिब ५ हजारले नयाँ लाइसेन्सको लिखित र मौखिक परिक्षा पास गर्ने गरेका छन् । भने विभागले दैनिक ५ सयदेखि १ हजार मात्रै नयाँ लाइसेन्स प्रिन्ट गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर