युट्यूवरसामु झ्वाँक्किएका बाबुरामः ज्ञानेन्द्र शाही म चिन्दिनँ, त्यसको नामै नलिनुस् ! – Nepal Press

युट्यूवरसामु झ्वाँक्किएका बाबुरामः ज्ञानेन्द्र शाही म चिन्दिनँ, त्यसको नामै नलिनुस् !

नयाँ शक्तिको महाधिवेशनले अन्तर्राष्ट्रियरुपमा ठूलो वैचारिक बहस छेड्ने र नेपाली राजनीतिलाई नयाँ दिशा दिने बाबुरामको गफ

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्षमा विजयी बनेपश्चात हिजो डा. बाबुराम भट्टराई पत्रकारहरुसँग कडा रवैयामा प्रस्तुत भए । पत्रकारको केही प्रश्नमा उनी नराम्रोसँग भड्किएका थिए ।

प्रतिस्पर्धी नेत्र आचार्यलाई भारी मतले हराए तापनि डा. भट्टराई त्यति उत्साहित देखिएका थिएनन् । त्यसमाथि शपथग्रहण कार्यक्रममा नै केही कार्यकर्ताले होहल्ला गरेपछि उनको मुड थप बिग्रिएको थियो । बाबुरामले माइकबाटै कार्यकर्तासँग चर्को सवालजवाफ गरेका थिए ।

शपथग्रहणपछिको प्रेसमिटमा पनि उनी सहज अवस्थामा देखिएनन् । प्राय पत्रकारसँग तार्किक र विनयशीलरुपमा अभिव्यक्ति दिने डा. भट्टराईको प्रस्तुति निकै फरक थियो । स्वभावविपरित उनी झ्वाक्किएका थिए । पत्रकार (प्राय युट्यूवर) ले सोधेका केही ‘अविवेकशील’ प्रश्नले गर्दा पनि भट्टराई उत्तेजनामा आए ।

भर्खर पार्टीको अध्यक्ष निर्वाचित भट्टराईलाई एक युट्यूवरले प्याच्च सोधे- तपाईं माओवादीमा फर्किन नखोज्नुभएको कि प्रचण्डले तपाईंलाई भित्र्याउन नचाहेका हुन् ?

प्रश्नले नै भट्टराईको आत्मसम्मान ‘ठेस’ लागेछ । उनी भावावेशमा आएर गोलमटोल जवाफ फर्काउन थाले ।

उनले भने, ‘बाबुराम कुकुर हो र, घाँस हाल्नेवित्तिकै जुठो खान जाने ? के कुरा गर्या ? लाज लाग्दैन तपाईंलाई ? बाबुराम त्यस्तो मान्छे हो ? बाबुराम भट्टराईले त्यत्रो जनयुद्धको नेतृत्व गर्यो । संघीय लोकतान्त्रिक गणतन्त्रसम्म पुर्यायो । त्यहाँभन्दा अगाडि जाँदैछ उ । अरु साथीहरु थाक्नुभयो । अहिले पनि त्यही ब्याज खाइराख्नुभएको छ । फरक त्यहाँ हो । उहाँ (प्रचण्ड) लाई शान्ति प्रक्रिया पूरा गर्न सहयोग गरेको हो । उहाँले गर्नुभएन । उहाँले गर्न सक्नुहुन्नरहेछ भनेर हामी अगाडि बढ्यौ । उहाँ पछाडि छुट्नुभयो ।’

अर्को ‘उक्साउने’ प्रश्न सोधियो, ‘ज्ञानेन्द्र शाहीले त माओवादीले गरेको जनयुद्धलाई धनयुद्धको संज्ञा दिए नि ? यसमा तपाईंको भनाइ के छ?’ जवाफमा बाबुराम कड्किए, ‘को हो ज्ञानेन्द्र शाही रु त्यो मान्छे म चिन्दिनँ । त्यसको नाम लिन आवश्यक छैन ।’

फेरि अर्को टर्रो प्रश्न सोधियो- श्रीमतीलाई वरिष्ठ नेता, छोरीलाई उपाध्यक्ष बनाएर तपाईं परिवारवादमा फँसेको आरोप लागेको छ नि ? यो प्रश्नमा बाबुराम थप चिढिए । उनले प्रश्नको जवाफ नै दिन चाहेनन् ।

‘त्यो प्रश्नै नगर्नुस् । क्लीयर छ त्यो कुरा । जवाफ दिनै आवश्यक छैन । यो प्रश्नै होइन । प्रश्न सोध्नुस’, उनले पन्छाउँदै भने ।

त्यसपछि बाबुरामलाई उनको पार्टी पुरानाभन्दा के फरक छ भनेर सोधियो । बल्ल उनले चाहेजसरी गफ लाउन पाए ।

‘पुराना पार्टीको लहरमा अर्को पार्टी होइन यो । युग परिवर्तन भइसक्यो । २१ शताब्दीसँगै नेपालमा राजनीतिक परिवर्तन भयो तर आर्थिक, सामाजिक रुपान्तरण भएन । यसको निम्ति पुरानो पार्टी, विचार र सोचबाट हुँदैन भनेर वैकल्पिक विचार, दर्शन, नीति, शैली लिएर आएका हाैं । यो महाधिवेशनले अन्तर्राष्ट्रिय रुपमा ठूलो वैचारिक बहस छेड्ने छ र नेपाली राजनीतिलाई नयाँ दिशा दिनेछ’, उनले आत्मविश्वास देखाउँदै भने ।

अर्को प्रश्न आयो– नयाँ सोच र विचार भनिरहँदा तपाईं आफैं नेतृत्वमा बस्नुपर्ने चाहिँ किन त ?

बाबुरामले जवाफ दिए, ‘हाम्रोमा सयमा २० जना मान्छे ४० वर्षमुनिका छन् । २३ वर्षको भाइ प्रत्यक्ष निर्वाचित भएर केन्द्रीय सदस्य बन्नुभयो । विचार पनि नयाँ, मान्छे पनि नयाँ हुँदा राम्रो हो । तर उहाँहरु तयार नहुँदासम्म म उहाँहरुलाई ह्यान्ड ओभर गर्न पर्खिराख्या छु । रिले रेसमा के हुन्छ रु एउटा सय मिटर दौडिन्छ, अर्को आएपछि ह्यान्ड ओभर हुन्छ । म त्यही गर्छु ।’

त्यसपछि राष्ट्रिय राजनीतिबारे उनको टिप्पणी मागियो ।

बाबुरामले जवाफ दिए, ‘सरकार घुमिराख्या पोलको गोरु घुमिराख्याजस्तो । रामबहादुरको ठाउँमा श्यामबहादुर आउँछ । यसले कहीँ पुर्याउँदैन । त्यसैले विकल्प हामी खोज्छौं ।’

जनयुद्धको विषयमा बहस भइरहेको छ, तपाईंको धारणा के हो ?

हामी जनयुद्ध दिवसभन्दा अगाडि बढ्यौं । जनयुद्ध महान थियो । संघीय लोकतान्त्रिक गणतन्त्रसम्म यसले पुर्यायो । यसमा मुख्य देन माओवादीको थियो । प्रमुख पहलकर्ता म आफैं थिएँ । पछि कांग्रेस, एमाले, मधेसी, जनजातिसँग मिलेर संघीय लोतान्त्रिक व्यवस्था ल्याइयो ।

अब त्योभन्दा अगाडिसम्म जानु छ । त्यसैले फागुन १ गनेलाई एउटा पार्टीको दिवसमा मात्र सिमित गर्नु हुँदैन । जनक्रान्ति दिवस मनाउँ । १९९७ सालदेखि ०७ साल र ४६ साल हुँदै विभिन्न आन्दोलनलाई समेट्ने गरी जनक्रान्ति दिवस भनौं भन्ने मेरो प्रस्ताव हो । कुनै दिन त्यहाँ पगिन्छ ।

तर बादलले त जनयुद्ध हिंसा थियो भन्नुभएको छ नि ?

हिंसा दुईथरी हुन्छन् । एउटा प्रतिक्रान्तिकारी हुन्छ, अर्को क्रान्तिकारी । हाम्रो क्रान्तिकारी हिंसा हो । उहाँले त्यो शब्द छुटाएको हो कि तपाईंंले गलत रिपोर्ट गरेको हो मलाई थाहा भएन । जनयुद्ध हिंसा त हो तर क्रान्तिकारी । संसारमा क्रान्तिकारी हिंसाबिना कहाँ परिवर्तन भएका छन् ?

 

 

 


प्रतिक्रिया

One thought on “युट्यूवरसामु झ्वाँक्किएका बाबुरामः ज्ञानेन्द्र शाही म चिन्दिनँ, त्यसको नामै नलिनुस् !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर