अन्तर्राष्ट्रिय दुई रियालिटी शोको यूके अडिसनका लागि कलाकारहरू लन्डनमा – Nepal Press

अन्तर्राष्ट्रिय दुई रियालिटी शोको यूके अडिसनका लागि कलाकारहरू लन्डनमा

लन्डन । बेलायतमा शनिबार हुन लागेको अन्तर्राष्ट्रिय दुई रियालिटी शो ‘मेरो भ्वाइस् युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ सिजन २ को स्थलगत अडिसनका लागि कलाकारहरू लन्डन आइपुगेका छन् ।

यूके अडिसनकै लागि नेपालबाट नायिका केकी अधिकारी र गायिका सुनिता दुलाल विहीबार राति लन्डन आइपुगेका हुन् । कलाकारहरूलाई बेलायत अडिसन संयोजक कलाकार मनसुदन थापामगरले स्वागत गरेका थिए ।

लन्डन उत्रिएपछि सुनिता र केकीले बेलायतवासी नेपालीलाई अडिसनमा आउन निमन्त्रणा गरे । भोलि १५ फेब्रुअरी शनिबार अल्डरसटस्थित एम्पायर हलमा हुने दुवै शोको अडिसन कार्यक्रम निशुल्क छ ।

यसअघि अभिनेता धिरेन शाक्य र मोडल/डान्सर रिना थापामगर बेलायत आइसकेका छन् ।

आयोजक ‘इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिका’ अध्यक्ष डिल्ली अधिकारीको नेतृत्वमा दश जनाको टीम बुधबार नै अमेरिकाबाट लन्डन उत्रिएको छ ।

यूके अडिसनमा अहिलेसम्म करिब दुई दर्जनले नाम दर्ता गराइसकेको संयोजक थापाले जानकारी दिए । उनले इच्छुक प्रतिभाहरूले अझै पनि फाउन्डेसनको वेबसाइटमार्फत् नाम दर्ता गर्न सक्ने बताए ।

विश्वभर छरिएर रहेका नेपालीभाषी समुदायका गायन र नृत्य क्षेत्रका उत्कृष्ट प्रतिभा पहिचान गर्ने लक्ष्यसहित घोषित यी रियालिटी शोका लागि संसारका विभिन्न देशमा अडिसन शुरु भएका छन् ।

युरोपमा बेलायतबाहेक पोर्चुगल, पूर्वी एसियामा थाइल्याण्ड, हङकङ र जापान, मध्यपूर्वमा दुबई र कतार, अष्ट्रेलियामा सिड्नी, भारतमा सिलिगुरी र मुम्बइ एवं नेपालमा बिर्तामोड, नेपालगन्ज, पोखरा र काठमाडौंमा अडिसनहरु हुनेछन् ।

‘भ्वाइस्’ र ‘डान्स’ दुवै विधामा विजेतालाई १ करोड रुपियाको पुरस्कार छ भने पहिलो रनर अपलाई २५ लाख, दोस्रो रनरअपलाई १० लाख तथा टप टेनमा पर्ने सबैलाई एक एक लाख रुपैया नगदसहितको पुरस्कार दिइनेछ ।

‘मेरो भ्वाइस् युनिभर्स’ मा वरिष्ठ गायक दीप श्रेष्ठ, संगीतकार सुरेश अधिकारी, गायक-गायिका शिव परियार, पुष्पन प्रधान, अन्जु पन्तलगायत निर्णायकको भूमिकामा छन् ।

‘मेरो डान्स युनिभर्स सिजन २’ को निर्णायकमा वरिष्ठ कलाकार मिथिला शर्मा, नायक दिलिप रायमाझी, अभिनेतृ शिल्पा मास्के तथा कोरियोग्राफरहरु शंकर विसी, कविराज गहतराज र किरण थापा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर