खर्च गर्न बाँकी यी ५ शीर्षकको २५ प्रतिशत बजेट रोक्का


काठमाडौं । अर्थ मन्त्रालयले खर्च गर्न बाँकी बजेटको २५ प्रतिशत रकम रोक्का गरेको छ । अनिवार्य दायित्वबाहेकको चालू तथा पुँजीगत खर्चतर्फ विनियोजित बजेटमध्ये बाँकी रकमको २५ प्रतिशत रकम रोक्का गरिएको हो ।
‘चालु खर्च (अनिवार्य दायित्व बाहेक) तथा पुँजिगत खर्चतर्फ विनियोजित नेपाल सरकार स्रोततर्फको रकममध्ये हालसम्म खर्च भई बाँकी रकमको २५ प्रतिशत रोक्का राख्ने व्यवस्था बमोजिम देहाय बमोजिमको खर्च शीर्षक अन्तर्गत विनियोजित बजेटमध्ये बाँकी रकमको २५ प्रतिशत रकम रोक्का गरिएकोले चालू आवमा विनियोजित बजेट खर्चलाई सोही अनुरूप समायोजन गर्ने’, अर्थले परिपत्रमा उल्लेख गरेको छ ।
अर्थ मन्त्रालयले केही शीर्षकअन्तर्गत विनियोजित बजेटमध्ये बाँकी रकमको २५ प्रतिशत रकम रोक्का गरिएको भन्दै चालू आवमा विनियोजित बजेट खर्चलाई सोहीअनुरूप समायोजन गर्ने जनाएको छ । रोक्का गरिएका बजेट शीर्षकमा कर्मचारी तालिम खर्च (तालिम केन्द्र र प्रतिष्ठानबाट सञ्चालन हुनेबाहेक मात्र), कार्यक्रम खर्च, मेसिनरी तथा औजार, फर्निचर तथा फिक्स्चर र पुँजीगत परामर्श छन् ।
चालू आवको बाँकी अवधिमा राजस्व प्राप्तिमा हुने सुधार तथा खर्चको आवश्यकताको आधारमा बजेट रोक्का तथा नियन्त्रणमा पुनरावलोकन गर्न सकिने समेत अर्थको परिपत्रमा उल्लेख छ ।
मन्त्रालयका अनुसार शिथिल आर्थिक गतिविधि गत आर्थिक वर्षदेखि नै ऋणात्मक रहेको संघीय सञ्चित कोषको अवस्था लगायतका कारण चालू आर्थिक वर्षको प्रथम छ महिनासम्म पनि संघीय सञ्चित कोष ऋणात्मक नै रहेको छ । गत आर्थिक वर्ष पश्चिम नेपालमा गएको भूकम्प तथा चालु आर्थिक वर्षको मनसुनजन्य विपद्का कारण आकस्मिकरुपमा सिर्जना भएको थप दायित्वले गर्दा सञ्चित कोषमा अत्यधिक दबाब परेको अवस्था छ ।
विगत आर्थिक वर्षमा सिर्जित दायित्व समेत चालु आर्थिक वर्षमा फरफारक गर्नुपर्ने कारण सञ्चित कोषमा थप दबाब सिर्जना भएको छ । राजस्व संकलनमा संकुचन आएको, अपेक्षितरुपमा अन्तर्राष्ट्रिय सहायता प्राप्त हुन नसकेको तथा नेपाली मुद्रा अमेरिकी डलरसँग कमजोर भएको कारण चालु खर्च एवम् वैदेशिक ऋणको सावाँ ब्याज भुक्तानी गर्न विनियोजित बजेट नै अपर्याप्त हुने अवस्था सिर्जना भएको अर्थ मन्त्रालयले जनाएको छ ।