निजामती सेवामा तहमा जाने निर्णयबाट समिति पछि हट्यो, सरकारको अडानपछि श्रेणी र तह दुवै – Nepal Press

निजामती सेवामा तहमा जाने निर्णयबाट समिति पछि हट्यो, सरकारको अडानपछि श्रेणी र तह दुवै

प्रतिपक्षको प्रश्न- शक्तिशाली सरकारले तहगत राख्ने गरी संविधान संशोधन गरे भो

काठमाडौं । निजामती सेवाका कर्मचारीलाई तहगत प्रणालीमा जाने निर्णयबाट संसदीय समिति पछि हटेको छ । प्रतिनिधि सभाको बिहीबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा तहगत प्रणालीमा जाने निर्णय भएकोमा सरकारले श्रेणी र तह दुवै प्रणालीमा जानुपर्ने संवैधानिक बाध्यता रहेको भन्दै अडान लिएपछि समिति तहगत प्रणालीमा जान समितिको निर्णयबाट पछि हटेको हो ।

बिहीबारको बैठकमा तहगत प्रणालीमा जाने निष्कर्षमा पुगिएको भए पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव फणीन्द्र गौतमले संविधानको धारा नै उल्लेख गरेर संविधानमै श्रेणीगत व्यवस्था राखिएको भन्दै श्रेणी हटाउन नमिल्ने दाबी गरे ।

त्यसपछि समितिका सदस्यबीच एक छिन छलफल गरेर तहगत प्रणालीमा मात्रै जान संवैधानिक व्यवस्थाले नमिल्ने भएपछि श्रेणीगत र तहगत गरेर दुवै प्रणाली विधेयकमा राख्ने सहमतिमा पुगेका समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए ।

नेपाली काँग्रेसका सांसद एवं समितिका सदस्य दिलेन्द्रप्रसाद बडुले अहिलेसम्म श्रेणीमा जाने निष्कर्षमा पुगेको भए पनि फेरी श्रेणी र तह दुवै राख्न खोजेको किन देखियो भन्दै प्रश्न गरेका थिए ।उनले संविधानमा श्रेणीगत व्यवस्था रहेको भए दुबैमा जान उपयुक्त हुनुपर्नेमा समर्थन जनाए ।

नेकपा ९एमाले०का सांसद एवं समितिका सदस्य रघुजी पन्तले भने श्रेणी र तहगत दुबैमा जाने गरी निष्कर्षमा पुगिएको आफ्‌नो बुझाई रहेको बताए । उनले निश्चित समयसम्म श्रेणी र तह दुबैमा जाने र अन्तिममा तहगत जाने भन्नेमा आफू स्पष्ट भएको बताए ।

नेकपा ९एकीकृत समाजवादी०का सांसद एवं समिति सदस्य राजेन्द्र पाण्डेले भने संविधान नै संशोधन गर्ने दुई तिहाइको गठबन्धन सरकारले विधेयमा पनि तहगत राख्न सकिँदैन भन्दै प्रश्न गरेका थिए ।

उनले भने, ‘देशका सबैभन्दा ठुला दल एमाले र काँग्रेस मिलेर बनेको गठबन्धनको सरकारले संविधान संशोधन गर्छु भनेर बनेको छ । संविधान नै संशोधन गर्ने भए ऐनमा पनि तहगत मात्रै बनाउन सकिहालिन्छ नि ।’

नेकपा ९माओवादी केन्द्र०का सांसद हितराज पाण्डेले अघिल्लो दिन तहगत प्रणालीमा जाने र फेरी श्रेणी र तह दुबैमा जाने भन्नु भन्दा सरकारका प्रतिनिधिले संविधान पढेर आउन सुझाव दिए ।

‘हिजो श्रेणी त तहका विषयमा यति धेरै छलफल गरियो र तहमा जाने निर्णयमा पुगियो । तर आज आएर फेरी श्रेणी र तह दुबैमा जाने भनियो । पहिले त संविधान पढेर आउनुपर्‍यो नि । के गरेको यस्तो ? संविधान संशोधन गरे भैगो नि त ।’

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सांसद एवं समिति सदस्य डा।चन्दा कार्कीले सहमति भइसकेको विषयमा फेरी पछि हट्ने कुरा राम्रो नभएको बताइन् । उनले भनिन्, ‘तहमा सहमति भइसकेपछि किन फेरी श्रेणीमा गइरहनुपर्‍यो र ? संविधानमा छ भन्दैमा के भयो र त्यो पनि त संशोधन गर्न मिलिहाल्छ नि ?’


प्रतिक्रिया

2 thoughts on “निजामती सेवामा तहमा जाने निर्णयबाट समिति पछि हट्यो, सरकारको अडानपछि श्रेणी र तह दुवै

  1. तहमा लैजाने भए १७ बर्ष एउटै पदमा काम गरेका कर्मचारीको तह मिलान कसरी गर्ने हो त्यो स्पष्ट हुनु पर्छ ।

  2. विना अध्ययन बहकिएर जे पनि राख्न खोज्दा निजामती विधेयक उँटजस्तो होला नि । लम्बेतान छलफल आवश्यक नै छैन ।जे प्रस्ताव गरिएको छ त्यसलाई खुरूक्क पास गर ।नमिलेको कुरा संशोधनको समयमा मिलाउँदै जादा हुन्छ । संविधानमा श्रेणी उल्लेख गरिएको छ, त्यसलाई हटाउन सकिँदैन भन्ने न्यूनतम ज्ञान नभएकाहरूले गरेको छलफलले केही नतिजा आउँछ ? यो केवल समयको बर्वादी मात्र हो ।छिटो टुङ्गाएर प्रतिनिधि सभामा पठाईहाल र भटाभट पास गर । संघीयता कार्यान्वयनमा महत्वपूर्य विधेयक हो यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर