उज्ज्वलले गरे केन्द्रीय क्याम्पसको स्ववियूमा स्वतन्त्र उम्मेदवारीको घोषणा – Nepal Press

उज्ज्वलले गरे केन्द्रीय क्याम्पसको स्ववियूमा स्वतन्त्र उम्मेदवारीको घोषणा

कैलाली । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियू सभापतिका लागि बझाङका उज्ज्वल खड्काले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । उनी राजनीतिशास्त्रका विद्यार्थी हुन् ।

आउने चैत ५ गते हुने स्ववियू चुनावका लागि त्रिभुवन विश्वविद्यालयको दलीयकरण अन्त्य गर्न, राजनीतिक पूर्वाग्रहभन्दा बाहिर रहेर विद्यार्थीका मुद्दामा काम गर्न उम्मेदवारी दिन लागेको खड्काले बताएका छन् ।

बझाङ खप्तड छान्ना-६ का खड्का २०७३ सालदेखि काठमाडौंमा बसेर पढिरहेका छन् । एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुमा निर्वाचन जितेर केन्द्रीय सदस्य भएका खड्का अहिले विद्यार्थी सङ्गठन मूल मर्मभन्दा बाहिर रहेको भन्दै आफू स्वतन्त्र रहेको र स्वतन्त्रबाटै उम्मेदवारी दिने बताउँछन् ।

तर अनेरास्ववियुले भने उनलाई अनुशासनको कारवाही गरेर गत असोजमै संगठनबाट निष्कासन गरिएको जनाएको छ ।

दलीयकरणको चपेटामा परेको हाम्रो विश्वविद्यालयलाई ‘एकेडेमिक एक्सिलेन्स’ को मार्गमा हिँडाउन तपाईँ-हाम्रो सकारात्मक पहलले सकारात्मक परिणाम निस्किनेमा विश्वस्त रहेको छु’ सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘अबको केही दिनमा योजना र कार्यक्रमसहित प्रस्तुत हुने जानकारी गराउँदछु ।’

उनले दलीय राजनीतिले शिक्षा क्षेत्रमा पारेको नकारात्मक प्रभावबारे स्पष्ट रूपमा धारणा राख्दै स्वतन्त्र उम्मेदवारी घोषणा गरेको बताएका छन् ।

‘त्रिभुवन विश्वविद्यालयमा लोकतन्त्रको गलत प्रयोग भइरहेको छ । शिक्षण संस्थामा दलीय भागबन्डाले शिक्षाको गुणस्तर मात्रै बिगारेको छैन । विद्यार्थीको भविष्य नै अन्योलमा परेको छु’ उनले भने, ‘म त्यो अन्त्यका लागि उम्मेदवारी दिने तयारीमा छु ।’

राजनीतिको विकल्प राजनीति भएको भन्दै उनी शैक्षिक संस्थामा भने गलत राजनीति मौलाउन नहुने बताउँछन् । त्रिविको सुधार विना उच्च शिक्षाको सुधार हुन नसक्ने उनको बुझाइ छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर