आहा रारा पोखरा गोल्डकपः दुवै टीम उपाधिसहित इतिहास रच्ने दाउमा – Nepal Press

आहा रारा पोखरा गोल्डकपः दुवै टीम उपाधिसहित इतिहास रच्ने दाउमा

पोखरा । २४औं संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबलको उपाधिका लागि शनिबार नेपाल पुलिस क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीबीच प्रतिस्पर्धा हुँदैछ । पोखरा रंगशालामा हुने उक्त खेल दिउँसो साढे २ बजेबाट सुरू हुनेछ ।

सेमिफाइनलमा पुलिसले चर्च ब्वाइज युनाइटेड क्लब र ब्ल्याक बुल्सले थ्री स्टार क्लबलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेका हुन् । पुलिसले ६ पटक आहा रारा पोखरा गोल्डकपको उपाधि जितिसकेको छ । मनाङ मर्स्याङ्दी क्लबले पनि ६ पटक नै आहा राराको उपाधि जितेको छ । यो पटक उपाधि जित्न सके पुलिस आहा रारा गोल्डकपको सर्वाधिक उपाधि जित्ने एक्लो टोलीको इतिहास रच्नेछ ।

पुलिसले २०५८, २०५९, २०६४, २०६५, २०६६, २०७४ मा आहा रारा गोल्डकपको उपाधि जितेको थियो । मनाङले २०६०, २०६१, २०६८, २०७२, २०७३ र २०७६ मा जितेको थियो । पुलिसका प्रशिक्षक चेतन घिमिरेले फाइनलका लागि तयार रहेको बताए । उनले ट्रफी जितेर इतिहास बनाउने लक्ष्यका साथ मैदान उत्रिने उल्लेख गरे ।

पुलिसले प्रिक्वाटरफाइनलमा आयोजक सहारा क्लबलाई १-०, क्वाटरफाइनलमा ब्रिगेड ब्वाइज क्लब युकेलाई २-० र सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेड क्लबलाई १-० ले पराजित गरेको थियो । पुलिसका कप्तान राम वाजीले टीमको रणनीतिले काम गरिरहेको र सोही रणनीतिका अनुसार फाइनल खेल्ने बताए । राम्रो खेल खेलेर नतिजा आफ्नो पक्षमा पार्ने वाजीले विश्वास व्यक्त गरे ।

फाइनलमा स्थान बनाएको ब्ल्याक बुल्सले पहिलो सहभागितामै उपाधि जित्दै इतिहास बनाउन चाहन्छ । ब्ल्याक बुल्सले पहिलो पटक आहा रारा गोल्डकपमा सहभागिता जनाएको हो । बाई पाएको ब्ल्याक बुल्सले क्वाटरफाइनलमा सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेड क्लबलाई ३-० र सेमिफाइनलमा ५ पटकको विजेता थ्री स्टार क्लबलाई ४-० ले पराजित गर्दै फाइनलमा यात्रा सुनिश्चित गरेको हो ।

ब्ल्याक बुल्सका प्रशिक्षक अब्दुलाजिजले फाइनल खेल एकदमै राम्रो हुने बताए । उनले फाइनल खेल ५०-५० हुने उल्लेख गरे । उक्त टोलीमा उज्वेकिस्तानको ए र बी डिभिजन लिग खेल्ने खेलाडी समावेश गरिएका छन् । कप्तान जाखिरगिरले फाइनलका खेलका लागि उत्साहित रहेको बताए । सहारा क्लब पोखराको आयोजनामा भइराखेको प्रतियोगिताको विजेताले १२ लाख एक हजार र उपविजेताले ६ लाख एक हजार पाउनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *