सञ्चारमाध्यमसँग सहकार्य गर्ने सरोकारवाला निकायको प्रतिबद्धता


काठमाडौं । जलवायु परिवर्तनको असर कम गर्नका लागि सञ्चारमाध्यमसँगको समन्वय र सहकार्य बढाउने सरकारी तथा गैरसरकारी निकायले प्रतिबद्धता जनाएका छन् ।
उनीहरूले मौसममा आएको परिवर्तनको प्रभावबाट बच्न सूचना प्रवाह र मौसमजन्य विपद्को प्रतिकार्यमा सञ्चारमाध्यमको प्रशंसनीय रहेको बताएका हुन् । १४औँ विश्व रेडियो दिवसको अवसरमा ललितपुरमा सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालको आयोजनामा भएको कार्यक्रममा सहभागीले सरकारले बनाउने जलवायु परिवर्तनको प्रभावसम्बन्धी योजनामा सञ्चारमाध्यमलाई पनि समेट्नुपर्ने धारणा राखेका हुन् ।
वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनको असर कम गर्ने सरकारको अभियान कार्यान्वयनमा सञ्चारमाध्यमसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।
नेपालमा रहेका सामुदायिक रेडियोको क्षमता विकास महत्वपूर्ण भएको औँल्याउँदै त्यसका लागि आफ्नो मन्त्रालय सहयोगका लागि सकारात्मक भएको उनको भनाइ थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले सामाजिक रुपान्तरण, भाषिक विभिदताको संरक्षणमा रेडियोको भूमिका महत्वपूर्ण रहेको धारणा राखे ।
‘जलवायु परिवर्तनका कारण प्राकृतिक स्रोतमा निर्भर सीमान्तकृत समुदायको दैनिकी जटिल भन्दै गएको छ । रेडियोले नागरिकको व्यवहार, आनिबानी परिवर्तनका लागि सामग्री उत्पादन तथा प्रसारणमा ध्यान दिनुपर्ने देखिएको छ । ’ सचिव अर्यालले भने ।
जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले ७ सय ५३ वटै पालिकासम्म मौसम पूर्वानुमानको सूचना पु¥याउने व्यवस्था गरेको जानकारी दिँदै सूचनाको यो अभियानमा नेपालका सामुदायिक रेडियोसँग सहकार्य गर्ने प्रतिबद्धता जनाए । क्षति न्यूनीकरणका लागि सञ्चारमाध्यम र सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो ।
राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा भिष्मकुमार भुसालले विपद्को पूर्व तयारी र सामना गर्नका लागि सबै सञ्चारमाध्यमबाट विगतमा प्रभावकारी सूचना वितरण भएको बताए ।
आगामी दिनमा विपद्को पूर्व तयारीका लागि सञ्चारमाध्यमसँगको सहकार्य बढाउने प्रतिबद्धता जनाउँदै उहाँले मौसम पूर्वानुमान अझ भरपर्दो बनाउनका लागि सरोकारवाला निकायबीच अझ प्रभावकारी समन्वय आवश्यक भएको औँल्याए ।
कार्यक्रममा जलवायु तथा विपद् विज्ञ डा धरमराज उप्रेतीले कति पानी कहाँ पर्छ भन्ने पूर्वानुमान हिजोआज भरपर्दाे हुँदै गएको उल्लेख गर्दै रेडियोले आधिकारिक सूचना प्रवाहका लागि सजगता अपनाउनुपर्ने सुझाव दिए ।
स्थानीय सरकारलाई बेलाबेलामा सामुदायिक रेडियोले झकझक्याउने हो भने विपद् पूर्वको योजना बनाउन र कार्यान्वयनका लागि उनीहरूलाई दबाब पुग्ने उनको भनाइ थियो ।
संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुशुमदेवी थापाले हावापनीमा आएको परिवर्तनका कारण परेको प्रभाव कम गर्ने गरी काम थाल्न सरकारलाई निर्देशन दिँदै आएको सम्झँदै आगामी दिनमा सरकारलाई आवश्यक ऐन्, कानुन निर्माणका लागि ताकेता गर्ने प्रतिबद्धता जनाए ।
६२ प्रतिशत जनता कृषिमा अनि त्यसमा पनि प्रकृतिमा आश्रित भएको उल्लेख गर्दै सूचना समाजमा पु¥याउनका लागि समाजमा रहेका विभिन्न सकारात्मक प्रथा, अभ्यासलाई पनि उपयोग गर्नुपर्ने बताए ।
सरकारको ध्यान रासायनिक मल आयतमा मात्रै गएको देखिएको उल्लेख गर्दै उनले देशभित्रैको पातपतिङ्गरलाई व्यवस्थापन गरि प्राङ्गारिक मल बनाउने बारेमा पनि सरोकारवाला निकायले ध्यान दिनुपर्ने उल्लेख गरे ।
कार्यक्रममा सामुदायिक रेडियो प्रसारक सङ्घका अध्यक्ष अर्जुन गिरीले जलवायु परिवर्तनले पारेको असर र पूर्व तयारीका बारेमा जानकारी पाउनुपर्ने सर्वसाधारणको अधिकार रहेको बताए ।
उनले डिजिटल माध्यमको बिगबिगी बढिरहेको अवस्थामा पुरानै स्वरुपमा पनि रेडियोको भूमिका उत्तिक्कै महत्वपूर्ण रहेको बताउँदै डढेलो, बाढी, पहिरोलगायत प्राकृतिक विपदका समयमा सबैभन्दा सशक्त माध्यम सामुदायिक रेडियो रहेको बताए ।
जलवायु परिवर्तन विरुद्धको अभियानमा रेडियाको भूमिका सरकारले बुझ्नुपर्ने र भरपुर प्रयोग गर्नुपर्ने अध्यक्ष गिरीले बताए । जलवायु परिवर्तनबाट बच्न अपनाउनुपर्ने सावधानी रेडियोको प्रयोग गरि गर्नुपर्ने उनको भनाइ थियो । तीन तहको सरकार भइरहँदा नीतिगत झमेला झेलिरहेको र यसले अभियानमा निरुत्साहीत गरेको पनि उनको गुनासो थियो ।
सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष ठाकुर भण्डारीले सीमान्तकृत समुदायलाई सूचना पुर्याउन सामुदायिक रेडियोको भूमिका महत्वपूर्ण रहेको बताए ।
कार्यक्रममा गैरसरकारी संस्था महासङ्का अध्यक्ष रामप्रसाद सुवेदीले सामुदायिक रेडियोसँग एकदमै ठूलो शक्ति रहेको बताउँदै रेडियोले प्रवाह गरेको सूचनाका कारण कैयाँै नागरिकको जीवन जोगिएको बताए । जलवायुमैत्री नीति बनाउन बहस चलाउँदै सरकारको ध्यानकर्षण गराउने काम सामुदायिक रेडियोले गर्न सक्ने उनको भनाइ थियो ।
नगरपालिका सङ्घका अध्यक्ष भीम ढुङ्गानाले रेडियो ज्येष्ठ नागरिक सबैभन्दा नजिकको साथी रहेको उल्लेख गर्दै रेडियोको महत्व अझै यथावत रहेको बताए । अध्यक्ष ढुङ्गानाले सामुमदायिक रेडियोसँग आपूm सहकार्य गर्न तयार रहेकोसमेत बताए ।