सिन्धुलीमा सच्चाइ र जोराइ धर्म मान्ने किशोरीले एचभीपी खोप लगाउन मानेनन्


चितवन । नेपाल सरकारले अभियानको रूपमा सञ्चालन गरेको पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको खोप कार्यक्रममा सिन्धुली जिल्लाका एउटा स्थानीय तहका किशोरीहरू सहभागी नमानेपछि लक्ष्य अनुसारको खोप कार्यक्रम सञ्चालनमा समस्या परेको छ ।
सिन्धुलीका दुधौली नगरपालिकाको केही वडामा जोराइ र सच्चाइ नामको धर्म अपनाएका किशोरीका परिवारले आफ्ना छोरीहरूलाई खोप कार्यक्रममा सहभागी गराउन इन्कार गरेका हुन् ।
जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुलीका खोप सुपरभाइजर पुष्प पन्तका अनुसार लक्ष्य अनुसारको संख्यामा ४ प्रतिशत किशोरी एचपीभी खोप लगाउन छुटेका छन् । तीमध्ये अधिकांश दुधौली नगरपालिकाका केही वडाका किशोरी छन् । नियमित विद्यालय नजाने उनीहरूको संख्या एक सय जनाभन्दा बढी रहेको पन्तले नेपाल प्रेसलाई जानकारी दिए ।
उनका अनुसार सिन्धुली जिल्लामा १४ हजार ६ सय २२ जना १० देखि १४ वर्ष उमेर समूहका किशोरी रहेका तथ्याङ्क रहेको छ । देशव्यापी रूपमा माघ २२ गतेदेखि १५ दिनसम्म खोप कार्यक्रम सञ्चालन गरिएको भएतापनि सिन्धुली जिल्लाले २८ गतेसम्म खोप कार्यक्रम पुरा गर्ने लक्ष्य राखेको थियो ।
तर, २८ गतेसम्म ९६ प्रतिशत मात्रै लक्ष्य पुरा भएको पन्तले जानकारी दिए । दुधौली नगरपालिकामा ९३ प्रतिशत मात्रै खोप पूरा भएको भन्दै पन्तले भने, — केही किशोरीहरू जिल्ला बाहिर रहेका केही बिरामी, गर्भवती र लामो औषधि सेवन गरिरहेकाहरू खोप कार्यक्रममा छुटेका छन् । केही भने संख्या धर्मको कारणले पनि खोप लगाउन इन्कार गरेका छन् । यो सङ्ख्या एक सय जना भन्दा बढी रहेको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख गजेन्द्र यादवले पनि सच्चाइ नामको नयाँ धर्म अपनाएका किशोरीहरूका परिवारले स्वीकृति नदिएका कारण खोप कार्यक्रम पुरा गराउन समस्या भएको बताए ।
पाठेघरको क्यान्सर विरुद्धको रोकथामको लागि सञ्चालित खोप कार्यक्रम जिल्ला जनस्वास्थ्य कार्यालयसँगको समन्वयमा स्थानीय तहले सञ्चालन गरिरहेको हो । दुधौली नगरपालिकाको केही वडामा रहेका सच्चाइ र जोराइ नामको धर्म मानेका परिवारले खोप लगाउन इन्कार गरेपछि नगरपालिकाले जिल्ला प्रहरी, नगर प्रहरी तथा जनप्रतिनिधिसहित गएर ती परिवारलाई सम्झाउँदै आफ्ना छोरीलाई खोप कार्यक्रममा सहभागी गराउन अनुरोध पनि गरेको छ ।
खोप कार्यक्रमको महत्त्व बुझाउँदै सम्झाएपछि गरेपछि खोप लगाउन नमानेका ३२ जनालाई खोप लगाइएको खोप कार्यक्रमका सुपरभाइजर पुष्प पन्तले जानकारी दिए । अझै पनि कतिपय परिवारले एपभीपी खोप लगाउन इन्कार गरेका छन् ।
दुधौली नगरपालिकाका नगरप्रुमख दिनेश अधिकारी दुधौली नगरपालिकाका ९ र १३ वडामा सच्चाइ र जोराइ नामको धर्म मान्ने मानिसहरू बसोबास गर्ने बताउँछन् । उनका अनुसार फरक फरक नाम भए पनि दुवै क्रिश्चियन धर्म हो ।
‘हाम्रो पालिकाको दुई वटा वडा ९ नम्बरको सिरियानी खानीपारि र १३ नम्बर वडाको मनवा चौतारा क्षेत्रमा यो धर्म मान्ने मानिसहरूको बसोबास छ । उनीहरूको परिवारमा खोप लगाउनुहुँदैन भन्ने भ्रम रहेछ । हामीले सम्झाएका छौँ, अझै पनि सम्झाएर खोप कार्यक्रममा सहभागी हुन थप अनुरोध गर्छौँ ।’
सिन्धुलीमा मात्रै होइन चितवनमा पनि केही स्थानमा धार्मिक कारणले एचभीपी खोप लगाउन इन्कार लगाउने समस्या भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीका अनुसार भरतपुर महानगरपालिका भित्रको एउटा मदरसामा पढ्ने २३ जना किशोरीलाई परिवारले खोप लगाउन दिन मानेका थिएनन् ।
उक्त मदरसामा खोप कार्यक्रम नै अघि नबढेपछि जनस्वास्थ्य कार्यालय, भरतपुर महानगरपालिकाका जनप्रतिनिधिसमेत गएर बुझाएपछि १९ जना किशोरीलाई खोप लगाइएको छ । बाँकी ४ जनाको भने परिवारले नै स्वीकृति नदिएका कारण खोप कार्यक्रममा उनीहरू सहभागी नभएका रुपाखेतीले नेपाल प्रेसलाई जानकारी दिए ।
चितवनका सात स्थानीय तहमा ३२ हजार ५ सय ४४ जना १० देखि १४ वर्ष उमेर समूहका किशोरी रहेको तथ्याङ्क रहेको छ । तर, ती किशोरीमध्ये ७ हजारले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले यसअघि नै सञ्चालन गरेको खोप कार्यक्रममा सहभागिता जनाइसकेका रुपाखेतीले जानकारी दिए ।
एक पटक खोप लगाइसकेका किशोरीहरूलाई खोप लगाउनु नपर्ने भएकोले अहिले भएका कुल संख्यामा ८५ प्रतिशत किशोरी खोप कार्यक्रममा सहभागी भए पनि जिल्लामा खोपको डोज सबैसम्म पुग्ने उनले बताए ।
यो पत्रकारलाई प्रभु यशुले रोग निवारण मात्र होइन रोग लाग्न नै दिनुहुन्न भन्ने थाहा रैनछ कि क्या हो ? भजन मन्डलि का नाइके हरु भुकम्प को बेला राम राम जप्दै भागेको थाहा छैन ?