अस्पताल अनुगमनमा मुख्यमन्त्रीसँगै स्वास्थ्य मन्त्री पनि खटे, मोडर्न हस्पिटलका सञ्चालक पक्राउ – Nepal Press

अस्पताल अनुगमनमा मुख्यमन्त्रीसँगै स्वास्थ्य मन्त्री पनि खटे, मोडर्न हस्पिटलका सञ्चालक पक्राउ

जनकपुरधाम । अवैध तथा मापदण्ड विपरीत सञ्चालनमा रहेका नीजि अस्पतालहरूको अनुगमनमा मधेसका मुख्यमन्त्री सतिश कुमार सिंहसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंह पनि खटेका छन् ।

बिहीबार मुख्यमन्त्री र स्वास्थ्य मन्त्रीले संयुक्त रूपमा जनकपुरधामका पाँच अस्पतालमा अनुगमन गरे । सो क्रममा भ्रमरपुराचोकस्थित जनकपुर मोर्डन हस्पिटलका सञ्चालक रामभरोस महतो पक्राउ परेका छन् ।

सेवा सञ्चालन अनुमति प्राप्त नगरेका मोडर्न हस्पिटल अवैध रूपमा सञ्चालनमा थियो । यसअघि अनुगमन गर्दा मुख्यमन्त्री सिंहले सेवा सञ्चालन अनुमति नलिएकाले हस्पिटल बन्द गर्न निर्देशन दिएका थिए । यद्यपि बिहीबार हस्पिटल सञ्चालनमा रहेको पाएपछि सञ्चालक महतोलाई पक्राउ गरिएको छ ।

मुख्यमन्त्री सिंहले अवैध र अनधिकृत ढङ्गले सञ्चालित थप दुई निजी अस्पताल पनि बन्द गर्न निर्देशन दिएका छन् । पिडारीचोकस्थित जनकपुर मधेश हस्पिटल र रामानन्दचोकस्थित जनकपुर गोल्डन अस्पताल बन्द गर्न निर्देशन दिएको हो । यी दुवै अस्पतालसँग सेवा सञ्चालन अनुमति सम्बन्धी कुनै कागजात छैन ।

यी दुवै अस्पतालमा भर्ना रहेका बिरामीलाई तत्कालै अन्य अस्पतालमा स्थानान्तरण गरी सेवा सञ्चालन अनुमति लिने प्रक्रियामा आउन पनि निर्देशन दिइएको छ ।

यस्तै जिरोमाइलस्थित ज्योति आँखा अस्पताल र रामानन्दचोकस्थित सुरक्षा अस्पताल पनि अवैध रूपमा सञ्चालनमा रहेको पाइएको छ ‌। मुख्यमन्त्री र स्वास्थ्य मन्त्री अनुगमनमा पुग्दा दुवै अस्पताल सञ्चालकले दर्ता सम्बन्धी कागजात देखाएनन् । उनीहरूलाई आवश्यक कागजातसहित शुक्रवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पर्क गर्न निर्देशन दिएका छन् ।

सेवा सञ्चालन अनुमति प्राप्त स्वास्थ्य संस्थाले कुल बेड संख्याको १० प्रतिशत मात्र आकस्मिक कक्षमा राख्न सक्ने प्रावधान छ । तर कतिपय अस्पताल प्रावधानभन्दा बढी आकस्मिक कक्षमा बेड राखेको पाइएको छ ।

वंशीचोकस्थित हिरा अस्पतालले पनि आकस्मिक कक्षको बेड संख्या बढी राखेको पाएकाले मुख्यमन्त्री सिंहले बेड संख्या घटाउन निर्देशन दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *