बागमती सरकार अन्तर्गतका ५ सहकारी समस्याग्रस्त- ऋणधन छुट्याउन सकस हुँदा बचत फिर्ता अन्योल
५८ हजार जनाको ६८ अर्ब बढी जोखिममा

काठमाडौं । बागमती प्रदेश अन्तर्गतका पाँच सहकारी समस्याग्रस्त छन् । सिभिल सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ, दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी लिमिटेड, सोह्रखुट्टेको लालीगुराँस बचत तथा ऋण सहकारी संस्था लिमिटेड र सुमेरु बचत तथा ऋण सहकारी संस्था समस्याग्रस्त भएका हुन् ।
प्रदेश सरकारले यी सहकारीहरूलाई समस्याग्रस्त घोषणा समेत गरिसकेको छ । बागमती प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्रालयले एकै पटक तीन सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो । सुमेरु, नेशनल नमोबुद्ध र लालीगुराँस सहकारीलाई गएको पुस २८ गते समस्याग्रस्त घोषणा गरिएको हो । त्यसअघि २०८० भदौ २१ गते सिभिल र चालू आवकै कात्तिक ११ गते दर्शन सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको थियो ।
बागमती प्रदेशको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयका अध्यक्ष प्रभात अधिकारीका अनुसार समस्याग्रस्त सहकारीको सम्पत्ति र दायित्व व्यवस्थापनका लागि आफूहरूले काम गरिरहेको जानकारी दिए । यस सहकारीमा हजारौँ बचतकर्ताको अर्बौँ रूपैयाँ बचत रहेको पाइएको छ ।
उनका अनुसार समस्याग्रस्त सहकारीका ५८ हजारभन्दा बढी बचतकर्ता पीडित बनेका छन् । सुमेरु बाहेक अन्य चार सहकारीकै ५८ हजार ४७८ जना बचतकर्ताहरू रहेको पाइएको छ । यस तथ्यांकमा सिभिलको हालसम्म दाबी पेश गरेका बचतकर्ताहरूको मात्रै तथ्यांक समावेश गरिएको छ । समस्याग्रस्त पाँच सहकारीमा ६८ अर्ब ९० करोड ३८ लाख रुपैयाँ बचत जोखिमका परेको छ ।
एउटै सहकारीका २९ हजार पीडित
एउटै सहकारी संस्थाबाट २९ हजार बचतकर्ता पीडित बनेका छन् । कीर्तिपुरको दर्शन बचत तथा ऋण सहकारी संस्थामा २९ हजार ४५७ बचतकर्ता थिए । उनीहरूको २ अर्ब एक करोड ८९ लाख रुपैयाँ जोखिममा परेको छ ।
कार्यालयका सूचना अधिकारी हरिकृष्ण दाहालका अनुसार २ हजार ५ सयभन्दा बढी सदस्य रहेको सिभिल सहकारीका १ हजार ४९२ जना बचतकर्ताले माग दाबी गरेका छन् । यी बचतकर्ताहरूले ६ अर्ब ४ करोड ६ लाख रुपैयाँ बचत रकम रहेको भन्दै समितिका निवेदन दिएका छन् । यस सहकारीका अझै अन्य बचतकर्ताहरू पनि माग दाबी गर्दै आउने क्रम जारी रहेको उनले बताए ।
त्यस्तै, सुमेरु सहकारीमा ७ अर्ब २३ करोड ८८ लाख रुपैयाँ बचत रहेको पाइएको छ । यस सहकारीका बचतकर्ताहरू भने कति छन् भनेर एकिन तथ्यांक भने समितिले निकालिसकेको छैन । तर, समस्याग्रस्त घोषणा गर्दा ८४८ बचतकर्ताले २ अर्ब बढी बचत फिर्ता नपाएको भन्दै उजुरी हालेका थिए ।
गएको माघ १० गते यस सहकारीको कार्यालयमा समितिले शिल गरिसकेको छ । अहिले यस सहकारीमा पीडित बचतकर्ता र बचतको रकम फिर्ता गराउनमा केन्द्रित भएर समितिले काम गरिरहेको सूचना अधिकारी दाहाल बताए ।
नेशनल नमोबुद्ध सहकारीका ५ हजार ८०८ बचतकर्ताले १ अर्ब ३० करोड ७४ लाख माग दाबी गर्दै समितिमा निवेदन दिएका छन् । लालीगुराँस सहकारीमा २१ हजार ७२१ बचतकर्ता रहेको पाइएको छ । ती बचतकर्ताहरूको ५ अर्ब २२ करोड ९७ लाख बराबरको बचत रकम रहेको छ ।
बचत फिर्ता पाउन वर्षौँ लाग्ने !
समस्याग्रस्त सहकारीका पीडित बचतकर्ताहरूले तत्कालै बचत फिर्ता पाउने सम्भावना भने न्यून देखिन्छ । समस्याग्रस्त घोषणा हुँदा कतिपय सहकारीको सम्पत्ति फेला पार्न र ऋणीहरूबाट असुल्नु पर्ने ऋण नै उठाउन समस्या हुँदा बचत फिर्तामा कठिनाइ भइरहेको छ ।
‘एक त समस्याग्रस्त घोषणा हुँदासम्ममा सहकारी सञ्चालकहरूले धेरै सम्पत्ति, पैसाहरू लुकाइसकेका हुन्छन् । केही बाँकी रहेको पनि फेला पार्न समय लाग्छ । लगानी गरेको ऋण उठाउन पनि समस्या छ । सम्पत्ति नै नभई बचत फिर्ता कहाँबाट पैसा ल्याएर दिनु ?’, समितिका अध्यक्ष अधिकारीले भने ।
केही सहकारीहरूको जग्गा लिलामी बिक्री गर्न खोज्दा त्यो जग्गा बिक्री नहुने समस्या पनि रहेको उनले जानकारी दिए । यदि पीडित बचतकर्ताहरू मिलेर आएमा जग्गा मार्फत मिलान गरिदिन समेत समितिले खोजिरहेको उनले बताए । तर, त्यसरी बचतकर्ताहरू मिलेर नआउने गरेको उनले गुनासो गरे ।
सहकारीका पीडित बचतकर्ताहरूले बचत फिर्ता पाउन वर्षौँ कुर्नुपर्छ भन्ने प्रश्नमा समितिका अध्यक्ष अधिकारी भन्छन्, ‘हामी जतिसक्दो चाँडो न्याय दिन खोज्ने नै हो । तर, त्यति सहजै छिटो गरेर फिर्ता दिइहाल्ने अवस्था पनि छैन । बचत फिर्ता पाउन वर्षौँ त भन्न सकिन्न तर समय लाग्छ ।’
कतिपय सहकारी संस्थाको जग्गाहरू बैंकमा धितो रहेको समेत पाइएको छ । उनले भने, ‘समस्याग्रस्त सहकारीका सम्पत्ति नै फेला पर्दैनन् । केही जग्गा फेला पर्यो भने पनि त्यो बैंकमा धितो राखिएको छ । सञ्चालकहरूको नाममा रहेको बैंक खातामा पनि पैसा नै छैन । उनीहरूले घोषणा हुनु अगाडि नै लुकाएका हुनसक्ने हाम्रो अनुमान छ ।’
(तस्बिर : सुमेरु सेभिङको कार्यालय सिल गर्दै सरकारी अधिकारी)