बर्दघाटको डान्सबारमा कुटपिट हुँदा एक जनाको मृत्यु, तीन जना पक्राउ


रुपन्देही । पश्चिमनवलपरासीको बर्दघाटमा रहेको एक डान्स बारमा भएको कुटपिटबाट एक जनाको मृत्यु भएको छ । युवाहरुबीच एक आपसमा विवाद हुँदा घटना घटेको प्रहरीले जनाएको छ ।
बर्दघाट नगरपालिका वडानम्बर १३ जमुनाबारीमा रहेको नशा रेष्टुरेन्ट एण्ड डान्स बारमा दुई पक्षबीच भएको कुटाकुटबाट एक जनाको मृत्यु भएको हो । घटना गत माघ २८ गते मध्यराती भएको भएपनि घटनामा घाइते भएका प्रतापुर गाउँपालिका वडानम्बर ९ खैरेनीका वर्ष ४५ का सन्तबहादुर चौधरीको उपचारको क्रममा हिजो साँझ बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले डान्स बारका संञ्चालक राकेश हरिजनसहित प्रतापपुर १ बस्ने अमित चौधरी र सोही स्थानका सरोज चौधरीलाई नियन्त्रणमा लिएको छ । डान्सबारभित्र भिडियो खिचेको निहुँमा झगडा भएको बताइएको छ ।
घटनामा मिन्टु र सरोजकुमार चौधरी पनि घाइते भएका थिए । पक्राउ परेका प्रतिवादीहरुविरुद्ध जिल्ला अदालत नवलपरासीमा ज्यान मार्ने उद्योगमा मुद्दा दायर भै थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयले बिहीवार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।
sano kurama bibaad jhagada ani manxe ko hatya samma vairaxa…janchetana failau…