लैंगिक न्याय तथा पुरुषत्व रुपान्तरणबारे अन्तर्राष्ट्रिय अनुसन्धान सम्मेलन: एक अर्थपूर्ण सुरुवात – Nepal Press

लैंगिक न्याय तथा पुरुषत्व रुपान्तरणबारे अन्तर्राष्ट्रिय अनुसन्धान सम्मेलन: एक अर्थपूर्ण सुरुवात

काठमाडौं । ‘लैंगिक न्याय तथा पुरुषत्वको रुपान्तरण स्थानीयदेखि विश्वव्यापी दृष्टिकोण अन्तर्राष्ट्रिय अनुसन्धान सम्मेलन’ सम्पन्न भएको छ ।

बागबजारस्थित कान्तिपुर सीटी कलेजमा आयोजित सम्मेलनको विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुको सहकार्यमा आयोजना भएको हो । उन्नत नेपाल, क्यानडाका फ्रेजर भ्याली तथा केलगेरी विश्वविद्यालय, पीएचडीलगायत संस्थाको सहकार्यमा आयोजित सम्मेलनमा लैंगिक न्यायका विभिन्न पक्षहरुलाई समेटेर शोधपत्रहरु प्रस्तुत गरिएको छ । दुई दिनसम्म चलेको यस सम्मेलनमा आआफ्नो क्षेत्रमा काम गरिरहेका विज्ञहरुले शोधपत्र प्रस्तुत गरेका थिए ।

सम्मेलनकी प्रमुख वक्ता शक्ति समूहकी संस्थापक अध्यक्ष चरिमाया तामाङले ‘आफूलाई बचाउनेदेखि वकालत गर्नेसम्मः पुरुषत्वको रुपान्तरण र शोषणविरुद्धको लडाईं’ शीर्षकमा प्रस्तुती दिएकी थिइन् । जहाँ उनले हरेकको जीवन नै प्रश्न भएको र उत्तर दिने बेलामा बोल्नुपर्ने बताइन् । उनले जीवनको विगतका भोगाइ, शोषण, उत्पीडन, र आफूले पुनर्जीवन पाएकोबारे उल्लेख गरिन् । जहाँ आफूले आफूलाई मार्न खोजे पनि सल चुँडिएर बचेको बताइन् । ‘त्यसपछि पनि संघर्ष रोकिएन, फरक किसिमका संघर्षमा सधैं जुधिँदै आइयो तर आफूलाई हानी गर्ने सोच भने फेरि कहिल्यै पनि आएन’, उनले भनिन् ।

आफूले बेचबिखन सहनुपर्दाको अवस्था र अहिले फरक भएको उनले बताइन् । हिजो घाँस दाउराको चलन भएको र आफू पनि त्यही क्रममा अपहरणको शैलीबाट जीवनका २२ महिना कोठीको भित्तामा जिन्दगी बिताउनुपरेको उनको कारुणिक विगत सुनाइन् । उनले आफू कसरी उठेर आएको भन्ने संघर्षको कथा र अहिलेको किशोरीहरु बेचबिखनमा पर्ने प्रकृति फरक भएको तामाङले जनाइन् । ‘मेरो बेलामा मैले जस्तो भोगेँ । अहिलेका किशोरी, हाम्रा छोरी चेलीले त्यस्तो नभएर अर्को अनलाइन, र मोबाइलको दुरुपयोगले बेचबिखन निम्त्याउने गरेको छ’, उनले भनिन् ।

त्यस्तै, उबेला आफूलाई उद्धार भइसके पछि पनि राज्यले नस्वीकारेको दयनीय अनुभव उनीसँग भएको बताइन् । राज्यले नागरिक स्वीकार्न पनि धेरै समय लागेको, आफूहरुलाई उपेक्षा गरिएको आफ्ना भोगाइहरु पस्किइन् । उतिखेर माइती नेपाल, एबीसी नेपाललगायत सात संस्था र भारतीय अभिनेता सुनिल सेट्ठीको सहयोगले सन् १९९६ फेब्रअरी ५ मा आफूसहित १२८ जनाको उद्धार भएको उनले बताइन् ।

लैंगिक समानताका लागि राज्यको नीतिगत तहबाट कार्य हुनुपर्ने, समावेशिताका लागि गम्भीर बन्नुपर्ने, पत्रकारहरुले हिजोका दिनमा बेचिएर आएकाहरु कस्ता रहेछन् भनेर फोटो खिच्ने खोज्ने गरेको तीता यथार्थ रहेपनि अहिले भने पत्रकारहरु लैंगिक समानताका लागि आफूहरुकै अभियानमा रहेको तामाङले बताइन् । हाल आफूले सञ्चालन गरेको संस्था शक्त समूहले १३१ जना सभाईभरलाई संरक्षण गरिरहेको उनले बताइन् । उनले लैंगिक समानतामा सर्वपक्षीय ढंगले काम गर्नुपर्ने बताइन् ।

त्यस्तै, अर्की प्रमुख वक्ता क्यानडाको केलगेरी विश्वविद्यालयकी सहप्राध्यापक डा. लिजा लोन्जेट्टीले हिजोको समयमा लैंगिक समानताका लागि महिलाहरुले एक्लै लड्ने प्रण गरेर अघि बढेका थिए । त्यसो गरेको वर्षौंसम्म वास्तवमा रुपान्तरण उल्लेखनीय रुपमा नभएको देखिएपछि दृष्टिकोण परिवर्तन भइ विश्वव्यापीरुपमै लैंगिक समानताका लागि पुरुषको अर्थपूर्ण सहभागिता अपरिहार्य भएको बताइन् ।

उनले सामाजिक संरचना, संस्कृतिले मानिसको सामाजिक भूमिका र लिंग निर्धारण गरेको उल्लेख गर्दै महिला र पुरुषका लैंगिक बाकसहरु परिवर्तन गर्नुपर्ने बताइन् ।

‘हामी महिला र पुरुष उनीहरुको आआफ्नै बाकस छन् । महिलाको लागि ‘महिला बाकस’ र पुरुषको लागि ‘पुरुष बाकस’ यसलाई चिर्नुपर्छ’, उनले भनिन्, ‘त्यसका लागि हामीले पुरुषहरुको सक्रिय सहभागिता, उनीहरुको सञ्जाल विस्तार, आपसी साझेदारी, अनुसन्धानका कार्यहरु आवश्यक छ । र त्यसको लागि यो महत्वपूर्ण सुरुवात हो ।’ उनले ‘विश्वव्यापी उत्तरदायित्व र रुपान्तरणकारी पुरुषत्वः कार्यका लागि आह्वान’ विषयमा आफ्नो अनुभव र अनुसन्धानका निष्कर्ष प्रस्तुत गर्दै उनले आजको युवाहरुमा विश्वव्यापीरुपमै सकारात्मक परिवर्तनहरु देखिएको बताइन् । उनले आफ्नै श्रीमानको उदाहरण दिँदै भनिन्, ‘मसँग विवाह गर्दा मेरो श्रीमान खाना बनाउन जान्नुहुन्न थियो । तर अहिले उहाँ राम्रो कुक हो । निकै मिठो पकाउनुहुन्छ । र हामी २६ वर्षदेखि जीवनको सहकार्य गरिरहेका छौं ।’

त्यस्तै, उनले आफ्नो छोरीसँग श्रीमानको व्यवहार र हुर्काउने शैली पनि अघिल्लो पुस्ताभन्दा बढी समावेशी र स्वागतयोग्य र लैंगिकरुपमा न्यायिक भएको बताइन् ।

क्यानडाको फ्रेजर भ्याली विश्वविद्यालयकी सहप्राध्यापक डा. रिता ढुंगेलले नेपालमा बाढीका कारण महिलाहरुले भोगेको समस्याबारे गरिएको अनुसन्धान प्रस्तुत गरिन् । जसमा बाढीपछिका अवस्थाहरुले निम्त्याएका घटना अनि बाढीले विपदमा पनि सहयता दिने विषयमा पनि लैंगिक समानता नभएको अनुसन्धानले देखाएको उनले बताइन् । लैंगिक समानताका लागि विश्वव्यापी रुपमा यो परियोजना नेपालसहित क्यानडा, मेक्सिकोलगायत ७ देशमा लागू भइरहेको उनको भनाइ छ ।

त्यस्तै, पहिलो सत्रमा शान्ति लामाले आफ्नो जीवनको भोगाइ र सिकाइलाई बाँडेकी थिइन् । जसले उनको भोगाइ धेरैको लागि प्रेरणा हुनसक्ने र देशका अवस्थाबारे पनि चित्रण भएको थियो ।

त्यस्तै, सत्रमा भएको समूहगत छलफलमा डेनमार्कका लागि पूर्वराजदूत एवम् द राइजिङ नेपालका प्रधान सम्पादक युवा नाथ लम्साल, मानवअधिकारकर्मी मञ्जु खतिवडा, अभियन्ता मीना कुँवर र हामी दाुजभाइका संस्थाका सञ्जोग ठकुरी सहभागी भएका थिए । जसलाई पीएचडी सेन्टरका डा. बिदुर ढुंगेलले सहजीकरण गरेका थिए । पूवराजदूत लम्सालले आफ्नो पत्रकारिता र कूटनीतिज्ञको रुपमा रहेको ३५ वर्षे आफ्नो कार्यकालमा विभिन्न किसिमका मानवअधिकार र बालअधिकारका बारेमा लेखेको आफ्नो अनुभव बताए ।

त्यस्तै, आफ्नो विगतका फरक अनुभवले धेरै विषयवस्तु सिकाएको र अहिले समाजका अगाडि आफूलाई प्रस्तुत गर्न सफल भएको अभियन्ता कुँवरले बताइन् । मानवअधिकारकर्मी खतिवडाले मानवका पक्षमा लाग्ने प्रेरणाले नै आफूलाई यस क्षेत्रमा सक्रिय रहन सहयोग गरेको अनुभव साझा गरिन् ।

त्यसैगरी, हाम्रो दाजुभाइ संस्था चलाइरहेको ठकुरीले लैंगिक समानताका विषयले महिलालाई केन्द्रमा राखेको तर पुरुषहरुमाथि हुने हिंसालाई ओझेल पारेको बताउँदै यद्यपि महिलाहरु बढी प्रभावित भएको विषय यथार्थ भएको उल्लेख गरे । बाल विवाह जहाँ १८ वर्षभन्दा मुनिका युवकहरुले विवाह गर्ने विश्वको देशमा नेपाल १० स्थानमा र दक्षिण एशियामा पहिलो स्थानमा पर्ने उल्लेख गर्दै यसमा काम गनुपर्ने बताए ।

मनोविद् डा. नागेन्द्र ठगुन्नाले कोभिड १९ को बेलामा सुदूरपश्चिममा एचआईभी संक्रमित महिलाहरुको मानसिक स्वास्थ्यको अवस्था पत्ता लगाउन गरेको अध्ययनबारे प्रस्तुती दिए । जसमा करिब ९१ प्रतिशत महिलाहरु कुनै न कुनै सामान्यदेखि जटिल मानसिक समस्यामा रहेको तथ्य उजागार भएको बताए ।

कार्यक्रममा मिस युनिभर्स नेपालकी फर्स्ट रनरअप अभिलाषा लम्सालले आफूहरुले व्यक्तिगत पहलमा किशोरीहरुलाई आत्मरक्षाका विभिन्न सीपहरु, मानसिक स्वास्थ्यका विषयहरुमा विभिन्न तालिम दिइरहेको उल्लेख गर्दै आफ्नो अनुभव बाँडेकी थिइन् ।

क्यानडाको केल्गेरी विश्वविद्यालयमा अध्ययनरत लिसा बोण्डले दुवै दिनमा भएका गतिविधिको संक्षेपीकरण गरेर सहभागीहरुलाई धन्यवाद दिएकी थिइन् भने प्रमाणपत्र प्रदान गरेकी थिइन् ।

सम्मेलनलाई सम्पूर्णरुपमा निर्देशन गरेका कान्तिपुर सीटी कलेजका इन्जिनियरिङका निर्देशका डा. दीपक थापाले आफूले संख्यात्मक अनुसन्धानमा मात्रै काम गर्ने भए पनि दुईदिने यस सम्मेलनले नयाँ किसिमको विचारको विजारोपण गरेको उल्लेख गरे । मान्छेको जीवनलाई सधैँभरी संख्याले मात्रै परिभाषित नगर्ने विषय उजागार भएको उनको बुझाइ छ ।

त्यस्तै, कार्यक्रमलाई भेन्यू उपलब्ध गराएर व्यवस्थापनका जिम्मेवारी सम्हालेका सम्मेलनका अध्यक्ष एवम् कान्तिपुर सिटी कलेजका निर्देशक डा. प्रल्हाद कार्कीले आफ्नो कलेजमा लैंगिक समानताका लागि विद्यार्थीहरुको एउटा क्लब निर्माण गर्ने घोषणा गरे । उनले कार्यक्रममा सहभागी भएर आफ्नो प्रस्तुती दिनेदेखि सहभागीहरुप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाए ।

सम्मेलनलाई कलेजका विद्यार्थीहरु किरणलगायतले सञ्चालन गरेका थिए ।

५० जनाभन्दा बढी सहभागी भएको उक्त सम्मेलनमा विभिन्न शीर्षक र क्षेत्र समेटिएका १३ वटा शोध पत्र प्रस्तुत भएको थियो । उनीहरुले यस सम्मेलन लैंगिक समानता र पुरुषत्व रुपान्तरण प्राप्तिका लागि अर्थपूर्ण पहिलाे पाइला भएकाे बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर