खाना नपकाएको निहुँमा पति र छोराले बन्दुक देखाउँदै लखटेपछि सुनकुमारी प्रहरीमा


धुलिखेल । एकनाले भरुवा बन्दुक तेर्स्याउँदै दुई पुरुष एक महिलालाई लखेटिरहेका थिए । महिला चाहिँ ‘बचाउ बचाउ’ भन्दै दौडिरहेकी थिइन् । जब गाउँलेले हतियारधारी पुरुषलाई घेरे, बल्ल थाहा पाए झगडा घरायसी रहेछ ।
रिस थियो, घरमा खाना नपकाएर भोकभोकै राखेको । त्यसरी घरायसी झगडामा बन्दुक नै तेर्स्याउने अरु कोही थिएनन्, एकजना ती महिलाका पति र अर्का छोरा ।
काभ्रेको पाँचखाल नगरपालिका–१ ठाटी गौरिकोटको घटना हो । बुधबार पति र छोराद्वारा हतियार देखाउँदै लखेटिएपछि ५७ वर्षीया पीडित सुनकुमारी तामाङले प्रहरी गुहार्दै पाँचखालस्थित प्रहरी चौकीमा उजुरी गरिन् ।
त्यहाँका सई मुनकुमार सापकोटाको टोलीले अनुसन्धान गरेपछि प्रमाणित भयो, हतियार सक्कली भएको कुरा ।
सुनकुमारीका ६१ वर्षीय पति मंगलबहादुर र ३२ वर्षीय छोरा सन्तबहादुर उक्त हतियारसहित पक्राउ परेका छन् । उनीहरूविरुद्ध हात हतियार तथा खरखजाना मुद्दा चलाइएको जिल्ला प्रहरीले काभ्रेकी एसपी बसुन्धरा खड्काले बताइन् ।