थ्रीस्टार क्लब हराउँदै उज्बेकिस्तानको ब्ल्याक बुल्स आहा रारा पोखरा गोल्डकपको फाइनलमा प्रवेश – Nepal Press

थ्रीस्टार क्लब हराउँदै उज्बेकिस्तानको ब्ल्याक बुल्स आहा रारा पोखरा गोल्डकपको फाइनलमा प्रवेश

पोखरा । उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसी पोखरामा जारी २४औं आहा रारा पोखरा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा ५ पटकको विजेता थ्री स्टार क्लबलाई फराकिलो गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको हो ।

ब्ल्याक बुल्सले अब उपाधिका लागि शनिबार नेपाल पुलिस क्लबसँग भिड्नेछ । पुलिसले पहिलो सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेड क्लबलाई १–० ले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।

दोस्रो सेमिफाइनलमा उज्बेकिस्तानको ब्ल्याक बुल्सले थ्री स्टारलाई ४–० को फराकिलो गोलन्तरले पराजित गर्न सफल रह्यो । पहिलो हाफको एक गोल गरेको ब्ल्याक बुल्सले दोस्रो हाफमा थप ३ गोल गर्यो । खेलको २४औं मिनेटमा ब्ल्याक बुल्सका शाभकात्जोन सात्तोरोभले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ५८औं मिनेटमा असिलबेक ओरिफजोनोभले गोल गर्दै ब्ल्याक बुल्सलाई अग्रता दोब्बर बनाएका थिए । ६३ औं मिनेटमा सात्तोरोभले व्यक्तिगत दोस्रो र टोलीको लागि तेस्रो गोल गरे ।

८७औं मिनेटमा सइदजमोल दाभ्लातिनोभले गोल गर्दै ब्ल्याक बुल्सको अग्रता ४ गुणा पुग्यो । त्यसपछि दुवैतर्फ गोल हुन सकेन र ब्ल्याक बुल्स ४–० ले विजयी हुन सफल भयो ।

आहा रारामा पहिलो पटक सहभागी भएको ब्ल्याक बुल्स पहिलोपटकमै फाइनल यात्रा तय गरेको हो । सहारा क्लब पोखराको आयोजनामा भइराखेको प्रतियोगिताको विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर