अमेरिकाको आप्रवासी निष्काशन र मध्यपूर्वमा देखिएको तनावले हजारौं नेपाली फर्किने अवस्था बन्दैछ : प्रचण्ड


गुल्मी । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध र जनआन्दोलनको बलमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएपछि मुलुकमा एक चरणको राजनीतिक क्रान्ति संस्थागत भएको बताएका छन् ।
गुल्मीको धुर्कोट गाउँपालिका बर्बोटटमा निर्मित सहिद शमशेर स्मृति पार्क समुद्घाटन तथा सहिदहरुको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै अब जनतालाई समृद्ध र देशलाई आत्मनिर्भर बनाउने अभियानको थालनी गर्नुपर्ने बताए ।
हजारौं युवाहरु विदेश जाने र रेमिट्यान्सबाट देश चलाउने अवस्था रहेको उल्लेख गर्दै उहाँले देशभित्रै रोजगारी सृष्टि गरेर बिदेश जान बाध्य युवाहरुलाई पुनः स्वदेशकै फर्काउने गरी सबै तहका सरकारले योजना बनाउनुपर्ने र त्यसमा पनि मूलतः कृषि उत्पादन वृद्धिका लागि स्थानीय सरकारहरुले योजनाबद्ध पहल थाल्नुपर्ने बताए ।
अमेरिकाले थालेको आप्रवासी निष्काशन कार्यक्रम, मध्यपूर्वमा देखिएका तनाव आदिका कारण कुनै बेला हजारौं नेपालीहरु वैदेशिक रोजगारी छाडेर नेपाल फर्कने अवस्था आउनसक्ने आँकलन गर्दै अध्यक्ष प्रचण्डले त्यसका लागि समेत तयारी अवस्थामा बस्न आवश्यक रहेको बताए ।
आफू प्रधानमन्त्री भएको बेलामा मध्यपहाडी लोकमार्ग, मदन भण्डारी मार्ग र उत्तरदक्षिण कोरिडोरको अवधारणा अघि सारेको उल्लेख गर्दै यी परियोजनाबाट गुल्मीलगायतका जिल्ला लाभान्वित हुन थालेको बताए ।