‘मायाबी’ को ट्रेलर रिलिज गर्दै दिवाकरले सुनाए पीडादायी अनुभव, थामिएनन् दीपिकाका आँसु – Nepal Press

‘मायाबी’ को ट्रेलर रिलिज गर्दै दिवाकरले सुनाए पीडादायी अनुभव, थामिएनन् दीपिकाका आँसु

गर्भवती अवस्थामै मुस्ताङ पुगेर दीपिकाले गरेकी थिइन् ‘मायाबी’ को सुटिङ

काठमाडाैं । रोमान्टिक लभस्टोरीमा आधारित चलचित्र ‘मायाबी’ को ट्रेलर रिलिज कार्यक्रममा नायिका दीपिका प्रसाईं भावविह्वल बनेकी छन् । श्रीमान निर्देशक दिवाकार भट्टराईले सुटिङको पीडादायी अनुभवहरु शेयर गर्दा उनले आँसु थाम्न सकिनन् ।

दिवाकर र दीपिका १० महिनाको छोरालाई साथ लिएर आज मायाबीको ट्रेलर रिलिज कार्यक्रममा पुगेका थिए । ट्रेलर रिलिजपछिको प्रेसमिटमा दिवकारले भावुक अभिव्यक्तिहरु दिए ।

एउटा हातमा बच्चा च्यापेर उनले चलचित्र निर्माणका लागि गरेको संघर्ष सुनाइरहँदा सबैको अनुहारमा गाम्भीर्यता छाएको थियो । दीपिकाले श्रीमानबाट बच्चा लिन खोज्दा बच्चा आमासित जान नमानेपछि भने केहीबेर हाँसो छायो ।

दिवाकर र दीपिकाले २०७६ वैशाख २४ गते विवाह गरेका थिए । विवाहको चार वर्षपछि गत चैतमा उनीहरुलाई पहिलो सन्तानका रुपमा पुत्रलाभ भएको हो । दीपिकाले गर्भवती अवस्थामै मुस्ताङसम्म पुगेर यो चलचित्रको सुटिङ गरेकी थिइन् ।

दिवाकरका अनुसार सुटिङका लागि पोखरा गएको भोलिपल्ट उनीहरुले आफूहरु बुवाआमा बन्न लागेको थाहा पाए । त्यसबेला डाक्टरहरुले दीपिकाका लागि आगामी तीन महिना संवेदनशील हुने बताएका थिए । तर, सबै मुस्ताङ जान सबै तयारी भइसकेकाले काठमाडौं फर्किन सम्भव भएन ।

आफ्नो प्यासनका लागि श्रीमतीको स्वास्थ्य र जीवनमाथि नै जोखिम मोलेको दिवाकरले पत्रकार सम्मेलनमा बताए ।

उनले भने, ‘आफ्नो हसबेन्डको इच्छा र प्यासेनका लागि उनले आफ्नो करिअरमात्र होइन, जीवन नै दाउमा लगाइन् ।’

श्रीमानले यसो भनिरहँदा दीपिका भक्कानिएकी थिइन् । उनल सुँक्क–सुँक्क गरिरहँदा छेउमा उभिएका पल शाहले सान्त्वना दिन खोजे । तर निरन्तर रोइरहेपछि उनले दिवाकरको आडमा रहेका कलाकार समिम खानलाई आफूतिर बोलाएर दिपिकालाई दिवाकरको आडमा पठाए । दिपिकाले फेरि पनि बच्चा लिन खोजिन्, तर बच्चाले बाबु छोडेनन् ।

कार्यक्रममा दिवाकरले पत्नीको निकै प्रशंसा गरे । उनले भने, ‘धेरैले मलाई यतिका वर्ष चलचित्रमा लागेर के पाइस भनेर सोध्छन् । मैले पाएको सबैभन्दा ठूलो उपहार नै दीपिका हुन् । योभन्दा ठूलो उपहार के हुन्छ ?’

दिवाकारले मायाबी सुटिङमा भोगेको अनुभव यस्तो छः

म ‘गिल्टी’ फिल गर्छु हरेक टाइम । पोखरा गएको भोलिपल्ट थाहा भयो दीपिकाको पेटमा बच्चा छ भन्ने । डाक्टरले मलाई भनेका थिए– ३ महिना टफ टाइम हुन्छ भनेर । मैले बाहिर आएर दीपिकालाई भनेँ– या त हामी जोमसोम सुटिङ गर्न जानुपर्छ या त मैले फेवातालमा हाम्फाल्नुपर्छ । म कति पागल भएको रहेछु फिल्मका लागि ।

यो यो फिल्म बनाउँदाको पीडा नेक्स्ट लेभलको छ । तर दीपिकाले मलाई सँधै सपोर्ट गरिन् । फिल्मप्रति मेरो पागलपन थियो । उनलाई त्यत्रो सोख थिएन । तर मेरो प्यासनका लागि उनले सबै त्याग गरिन् । म बाटोभरि भगवानलाई भगवानलाई पुकारिरहन्थेँ– एट लिस्ट मलाई जोमसोमसम्म पुर्याइदेउ भनेर । ३ महिनाको बच्चा पेटमा लिएर उनी घोडा चढेकी थिइन् ।

आज मेरो हातमा बच्चा छ, तर सायद मसित केही नहुन सक्थ्यो । ममा पागलपन यति धेरै थियो कि परिवार र चलचित्रमा मैले चलचित्र रोजेँ । मैले थोरै हरेश खाएको भए पनि यो सिनेमा बन्दैन थ्यो ।

मलाई अगाडि पछाडिबाट सबैले सपोर्ट गरेका छन् । फिल्ममा यो कम्प्रोमाइज पक्कै देख्नुहुन्न । फिल्म स्ट्रङ बनाएको छु । धेरै ठाउँमा दर्शक हाँस्नु हुन्छ, धेरै ठाउँमा रुनुहुन्छ ।

सुटिङ गरेको हरेक रात मलाई आजको रात त कट्यो भोलि के हुन्छ भन्ने लाग्थ्यो । उनको शरीर फुलिरहेको थियो । करिश्मा (श्रेष्ठ), पलहरुले हरेक दिन मेरै रुममा आएर उनलाई मसाज गरिदिन्थे । हामीलाई चाहीँ बच्चा हुर्किएर पेट ठूलो देखिने चिन्ता थियो । खोइ कसरी सुटिङ गरियो, अहिले सम्झिँदा अत्याश लाग्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर