युवा संघ कैलालीमा विवाद- केन्द्रको सर्कुलरविरुद्ध समानान्तर कमिटी गठन – Nepal Press

युवा संघ कैलालीमा विवाद- केन्द्रको सर्कुलरविरुद्ध समानान्तर कमिटी गठन

कैलाली । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालको कैलालीमा दुईवटा कमिटी बनेको छ । केन्द्रीय कमिटीले अनन्त बोहरा अध्यक्ष तोक्दै नयाँ कमिटी गठन गरेर पठाएको थियो ।

बोहोराको अध्यक्षता दिपेश (डेबिड) खड्का उपाध्यक्ष, छत्र बुढा सचिव, दिनेश कुमाल सहसचिव र अपेक्षा रोकायालाई तोकिएको छ । उक्त पत्रमा संघको विधान बमोजिम १५ दिनभित्र सदस्यहरू मनोनीत गरी कमिटीलाई पूर्णता दिन भनिएको छ ।

तर, कमिटीलाई पूर्णता दिन नपाउँदै समानान्तर कमिटी बनाइएको छ ।

दिपेश खड्का (डेबिट) र जिल्ला इन्चार्ज उमेश तुलाचनको प्रमुख आतिथ्यतामा भेला राखेर हेमन्त साउदको नेतृत्वमा ३७ सदस्यीय समिति बनाइएको हो । साउदको नेतृत्वमा उपाध्यक्षमा हिमान्सु शाह, सचिवमा उत्तम महरा, सह-सचिवमा कृष्ण थापा र छत्र गुरुङ, कोषाध्यक्षमा सरिता जैसीसहित सदस्य चयन गरिएको छ ।

राष्ट्रिय युवा संघका तत्कालीन जिल्ला अध्यक्ष लक्ष्मण थापाले पदबाट राजीनामा दिएर पार्टीको टीकापुर नगर अध्यक्षमा चुनाव लडेका थिए । त्यसपछि डेढ वर्षमै युवा संघ कैलालीको अर्ली अधिवेशन गत असोज १३ र १४ गते टीकापुरमा आयोजना गरिएको थियो ।

युवा संघका केन्द्रीय नेता समेत सहभागी अधिवेशनमा विवाद सिर्जना भएपछि नयाँ नेतृत्व चयन हुन सकेको थिएन । अहिले केन्द्रले नै पदाधिकारी तोकेर पठाएपछि विवाद बढेको हो ।

थापा अध्यक्ष हुँदा खड्का उपाध्यक्ष र बोहरा सचिव थिए । अहिले केन्द्रले पठाएको परिपत्रमा सचिवलाई अध्यक्ष बनाएर उपाध्यक्षलाई उपाध्यक्षमै कायम गरिएको छ । उक्त सर्कुलर विधिसम्मत नभएको भन्दै पार्टी कार्यालयमै युवा संघ गठन गरिएको साउद समूहको भनाइ छ । बोहरा समूहले भने केन्द्रले गरेको परिपत्र नै कार्यान्वयन हुनुपर्ने बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर