शंखरापुर दुर्घटना : २७ जना डिस्चार्ज, १६ जना अझै अस्पतालमा
नगरकोटमा पिकनिक खाएर फर्किँदै गर्दा भएको थियो विद्यार्थी चढेको बस दुर्घटना


काठमाडौं । शंखरापुर नगरपालिका-५ कात्तिकेस्थित सडकमा बा २ ख ७९५८ नम्बरको विद्यार्थी बोकेको बस बुधबार अपराह्न भएको दुर्घटनामा घाइते भएका ४३ मध्ये आज २७ जना उपचारपछि घर फर्किएका छन् ।
उनीहरू उपचारपछि आज घर फर्किएका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपीलराज बोहराले बताए । उनका अनुसार नगरकोटमा ‘पिकनिक’ खाएर आउने क्रममा सत्यसाई एकेडेमीका विद्यार्थी चढेको बस दुर्घटनामा परेको थियो ।
सडकबाट २० फिट तल खसेर भएको उक्त दुर्घटनामा बुधबार बसमा सवार मोरङको उर्लाबारी नगरपालिका-७ घर भएका ११ वर्षीय क्रिस्चल पुरी, सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-७ बस्ने २३ वर्षीय सुरेश तामाङ र काठमाडौं बौद्ध बस्ने सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका-३ घर भएका १४ वर्षीय शुसाङ्क डोटेलको मृत्यु भएको थियो । उनीहरू तीनै जना विद्यार्थी हुन् ।
दुर्घटनामा गम्भीर घाइते भएका क्रिस्चलको शिक्षण अस्पताल महाराजगञ्जमा, सुरेशको नेपाल मेडिकल कलेजमा र शुसाङ्कको शङ्खरापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।
अहिले दुईको केएमसी अस्पतालमा, ९ जनाको एनएमसी अस्पतालमा, एकको मेडिसिटी अस्पतालमा, दुईजनाको को शिक्षण अस्पताल महाराजगञ्जमा, एकको हेल्पिङ हेण्ड अस्पताल चाबहिलमा र एक जनाको पिपुल्स लाइफ केयर अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।