कांग्रेसका दुईजनाले टिकट लिएर हिँडेपछि वैदेशिक रोजगार व्यवसायीको साधारणसभा स्थगित – Nepal Press

कांग्रेसका दुईजनाले टिकट लिएर हिँडेपछि वैदेशिक रोजगार व्यवसायीको साधारणसभा स्थगित

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नयाँ नेतृत्वको लागि हुने भनेको साधारणसभा अनिश्चित भएको छ । संघको नयाँ नेतृत्व चयनका लागि भोलि (शुक्रबार) फागुन २ गते ३० औँ र ३१ औँ साधारणसभा बोलाइएको थियो ।

संघका अध्यक्ष राजेन्द्र भण्डारीले भोलिको साधारणसभा स्थगित गरिएको बताए ।

उनले भने, ‘व्यवसायीहरू फुटेरभन्दा जुटेर जानुपर्ने समय छ । हामीले सहमतिबाट नै नयाँ नेतृत्व चयनका लागि पहल गर्नेछौं । १ सय जनाभन्दा कम विदेशी रोजगारीमा पठाउने मेनपावरको नवीकरण नगर्नेदेखि अन्य विभिन्न समस्याको समाधान गरेर अगाडि बढ्नु पर्ने बेला आएको छ । त्यसका लागि हामी छलफल गरिरहेका छौं । भोलि हुने साधारण सभा तत्कालका लागि स्थगित भएको हो । व्यवसायी बिच छलफल भएपछि छिट्टै नै साधारण सभा हुन्छ ।’

स्रोतका अनुसार नेपाली कांग्रेसबाट संघको अध्यक्षमा दुईजना उम्मेदवार बन्ने निश्चित भएपछि उनीहरू मिलाउन लोकतान्त्रिक रोजगार व्यवसायी संघका नेताहरूले पार्टीका शीर्ष नेता गुहारेका थिए । शेरबहादुर देउवा र केपी शर्मा ओलीकै तहमा कुरा भएपछि गृहमन्त्री रमेश लेखकले संघको साधारणसभा कम्तीमा डेढ महिना पर सार्न निर्देशन दिएको बताइएको छ । अब असारअघि साधारणसभा नहुने भएको छ ।

कांग्रेसका दुई उम्मेदवार हुँदा एमालेले फेरि जित्ने भएकाले मिलाउने समय चाहिएर कांग्रेसले साधारणसभा धकेल्न खोजेको थियो । एमालेबाट नरेश गेलाल अध्यक्षको उम्मेदवार घोषित भइसकेका थिए । तर, कांग्रेसबाट भने भुवनसिंह गुरुङ र मेघनाथ भुर्तेल दुवैले उम्मेदवारी दिनेभएपछि माथिल्लो निर्देशनबाटै चुनाव स्थगित भएको हो । उच्चस्तरीय संयन्त्रमा समेत छलफलपछि दुवै दलको सहमतिमा चुनाव स्थगित भएको हो । उता राजेन्द्र भण्डारी नेतृत्वको कार्य समितिले आफ्नै कार्यालय भवन खरिद गरेको छ ।

७५० भन्दा बढी मतदाता रहेको संघमा कांग्रेस पक्षको बाहुल्य रहेको छ । यसअघि कांग्रेसनिकटका २ उम्मेदवार बन्दा एमालेनिकटका राजेन्द्र भण्डारी अध्यक्षमा निर्वाचित भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर