यूएईको नेपाली दूतावासबाटै श्रम स्वीकृति दिइने – Nepal Press

यूएईको नेपाली दूतावासबाटै श्रम स्वीकृति दिइने

आबुधावी । यूएईको नेपाली दूतावासबाटै श्रम स्वीकृति सेवा सुरु गरिने भएको छ । नेपाली श्रमिकहरूको सुविधालाई मध्यनजर गर्दै आबुधावीमा रहेको नेपाली दूतावासले अब श्रम स्वीकृति सेवा सिधै दूतावासबाटै प्रदान गर्ने भएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीको उपस्थितिमा आज उद्घाटन गरिने भएको यूएईका लागी नेपाली राजदुत तेजबहादुर क्षेत्रीले बताए ।

दुबईमा जारी वर्ल्ड गभर्मेन्ट समिटमा सहभागी हुन यूएई आएका श्रममन्त्री भण्डारीले आज दुबईको कानपाई बाइ हिलटन होटलमा एक कार्यक्रम गरेर यो सेवाको उद्घाटन गर्ने भएका हुन ।

नयाँ व्यवस्थाले यूएईमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रम स्वीकृति प्रक्रियामा सहजता र सरलता प्रदान गर्ने अपेक्षा गरिएको छ । अब श्रमिकहरूले श्रम स्वीकृतिका लागि नेपाल फर्कनु पर्ने बाध्यता हटाउँदै समय र खर्च जोगिने छ ।

दूतावासका अनुसार, यो सेवा विशेष गरी पुनः श्रम स्वीकृति का लागि उपयोगी हुनेछ। वैदेशिक रोजगार विभागले यसअघि नै अनलाइनमा पुनः श्रम स्वीकृति सेवा प्रदान गर्दै आए पनि बिदेशमा रहेका कामदारलाई त्यो प्रकृया सहज थिएन ।

पहिलो पटक बिदेश आएका, बायोम्याट्रिक नगरेका तथा भिजिट भिसामा आएर श्रम स्विक्रिती नलीई काम गरिरहेका श्रमिकलाई बैधानिकीकरण गर्न दुतावासबाट प्रदान गर्न लागेको श्रम स्वीक्रिती सेवाले मद्दत गर्ने आम श्रमिकको बुझाई छ ।

नेपालप्रेस सँग कुरा गर्दै मन्त्री भण्डारीले भने, ‘विदेशमा कार्यरत हाम्रा श्रमिकहरूको हितलाई ध्यानमा राख्दै, उनीहरूको श्रम स्वीकृति प्रक्रियालाई सहज बनाउन यो कदम चालिएको हो । यसले श्रमिकहरूको समय र स्रोतको बचत गर्नेछ ।’

यूएईमा रहेका नेपाली श्रमिकहरूले अब दूतावासको आधिकारिक वेबसाइटमार्फत आवश्यक जानकारी प्राप्त गरी, श्रम स्वीकृतिका लागि आवेदन दिन सक्नेछन् । दूतावासले यस सेवाको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक तयारी पूरा गरेको जनाएको छ ।

यद्यपी आबुधावीमा रहेको नेपाली दुतावासमा जनशक्तीको अभावमा हालका सेवा समेत राम्रो सँग प्रदान नभई रहेको अवस्थामा श्रम स्विक्र्ती सेवा सहज तवरमा हुने भन्ने बिषयमा सरोकारवालाहरुले भने आशंका ब्यक्त गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर